अमेरिका: कारभित्र शारीरिक सम्पर्क गर्दा यौन रोग सरेकी महिलालाई ५२ लाख डलर क्षतिपूर्ति दिन आदेश

मस्कट

तस्बिर स्रोत, G FIUME

कारमा शारीरिक सम्पर्क गर्दा आफूलाई यौन सङ्क्रमण सरेको आरोप लगाएकी एक महिलाले अमेरिकामा झन्डै ५२ लाख डलर क्षतिपूर्ति पाउन सक्ने देखिएको छ।

अदालती कागजपत्रमा "एमओ" उपनामले चिनाइएकी ती महिलाले आफ्ना तात्कालिक प्रेमीको कारमा यौन सम्पर्क गरेकै कारण आफूलाई ह्यूमन पापिलोमा भाइरस (एचपीभी) सरेको दाबी गरेकी छन्।

मिजुरीस्थित पुनरावेदन अदालतले पनि एमओलाई ठूलो क्षतिपूर्ति दिनुपर्ने फैसला सदर गरेको छ।

उक्त क्षतिपूर्ति कारको बीमा गरेको कम्पनी गाइकोले तिर्नुपर्ने आदेश दिइएको छ। तर गाइकोले यो निर्णयको प्रतिवाद गरेको छ।

कसरी सर्‍यो‍ रोग

अदालतमा पेस गरिएका कागजपत्रका अनुसार एमओले आफूलाई सन् २०१८ मा एचपीभी सङ्क्रमण सरेको थाहा भएको बताएकी छन्।

उनले आफ्ना पूर्वप्रेमीलाई एचपीभी रोग भए पनि उनले आफूलाई त्यसबारे जानकारी नदिएको दाबी गरेकी छन्।

रोग सरेपछि आफूलाई पहिला उपचार गर्न खर्च चाहिएको र भविष्यमा पनि चाहिने अनि रोग सरेकाले "मानसिक तथा शारीरिक पीडा र कष्ट" भएको उनको दाबी छ।

उनी ज्याक्सन काउन्टीकी निवासी हुन्।

Presentational grey line

तपाईँलाई यो पनि मन पर्न सक्छ

Presentational grey line

दाबी

उनले सन् २०२१ को फेब्रुअरीमा गाइको कम्पनीसँग १० लाख अमेरिकी डलर क्षतिपूर्ति माग गरेकी थिइन्।

आफ्ना त्यतिबेलाका प्रेमीको ह्युन्डाई जेनसिस कारमा शारीरिक सम्बन्ध राख्दा आफूलाई रोग सरेको र बीमा कम्पनीको नीतिले क्षति बेहोर्नुपर्ने उनको दाबी थियो।

तर बीमा कम्पनीले त्यस्तो क्षति बेहोर्ने नीति नरहेको भन्दै उनलाई क्षतिपूर्ति दिन अस्वीकार गरेको अदालतमा पेस गरिएका कागजपत्रमा देखिन्छ।

त्यसपछि एमओ र उनका पूर्वप्रेमी मध्यस्थताको प्रक्रियामा गए।

तर मध्यस्थकर्ता एमओकै पक्षमा देखिए।

मध्यस्थकर्ताले "[बीमित] सवारीसाधनमा यौनिक गतिविधि भएको" र उक्त क्रियाकलाप महिलालाई एचपीभी सङ्क्रमण हुनुमा "प्रत्यक्ष कारक रहेको वा त्यसले कारणमा प्रत्यक्ष योगदान गरेको" ठहर गरेका थिए।

भिडिओ क्याप्शन सुरु हुँदैछ, पानीका लागि शरीर बेच्न बाध्य केन्याका महिलाहरू
Presentational grey line

के हो यो रोग

एचपीभी भाइरसको सङ्क्रमण प्रायः लक्षण नदेखिने किसिमको हुन्छ।

तर केही मानिसहरूलाई भने हात, खुट्टा, यौनाङ्ग वा मुखभित्र मुसा देखा पर्छ।

उच्च जोखिमयुक्त एचपीभीले कतिपयको शरीरमा अस्वाभाविक तन्तुको देखिन्छ र कतिपयलाई क्यान्सर समेत हुन सक्छ।

यो भाइरस सङ्क्रमितसँग यौन सम्पर्क गर्दा सर्न सक्छ। त्यसबाहेक यौनाङ्ग र मुखको छालामा प्रत्यक्ष सम्पर्क हुँदा पनि सर्न सक्छ।

Presentational grey line

पुनरावेदन र फैसला

सन् २०२१ को मे महिनामा मध्यस्थकर्ताले एमओलाई भएको क्षतिका लागि गाइकोबाट ५२ लाख अमेरिकी डलर क्षतिपूर्ति दिलाइनुपर्ने ठहर गरेका थिए।

त्यसपछि ज्याक्सन काउन्टी सर्किट कोर्टले यसलाई सदर गरेको थियो।

तर गाइकोले उक्त फैसलाविरुद्ध पुनरावेदन गर्‍यो। बिहीवार तीन न्यायाधीशहरूको इजलासले बीमा कम्पनीले आफ्नो हितको प्रतिरक्षा गर्न नसकेको भन्दै तल्लो अदालतको फैसला सदर गर्‍यो।

"गाइको उसलाई दिइएको अवसरको फाइदा लिन असफल भयो। उसले आफ्नो बीमाले (क्षति) नबेहोर्ने कुरा मात्रै गर्‍यो र बीमितको रक्षा गर्न असफल देखियो," अदालतको फैसलामा भनिएको छ।

सीबीएसको मनीवाच कार्यक्रमलाई दिइएको वक्तव्यमा अमेरिकी सवारीसाधन बीमा कम्पनीले "सङ्घीय अदालतमा दायर गरिएको मुद्दाले यस्तो कुराको लागि बीमाले समेट्ने वा नसमेट्नेबारे तय गर्ने" बताएको छ।

Presentational grey line

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, यौनबारे धेरै सोच्दा मानिसले किन झुटो बोल्छन्