काठमाण्डू भजन: उपत्यकाको नेवारी बोलीमा सदियौँदेखि दैनिक गुञ्जिरहेछन् मैथिली कवि विद्यापति

- Author, विष्णु पोखरेल
- Role, बीबीसी न्यूज नेपाली
गत साताको एक साँझ पाटनस्थित कृष्ण मन्दिर पुग्दा ८३ वर्षका केशवकृष्ण श्रेष्ठसहित केही प्रौढ महिला र पुरुषहरू विभिन्न बाजाहरू सहित भजनमा मग्न थिए।
सन्ध्या आरतीपछि उनीहरूले गणेशको स्तुति गरे, 'गीत गोविन्द' गाए र पाटनका प्रसिद्ध राजा सिद्धिनरसिंह मल्लद्वारा रचित भजन गुञ्जाए।
अनि पालो आयो मैथिली साहित्यका कवि विद्यापतिले रचना गरेको भजनको:
शिव हालघने घुंघुरु बाजये मानमाने हसि बोले।
रंगद हेमाता वो कैसे नाचत काखय् भष्मकी झोरी।।
…. शिवभनय् विद्यापति सुनहो पार्वती स्वामीके नाम भजोहो।
तोहर स्वामी जगत ईश्वर भुक्ति मुक्तिदाता।।
कृष्ण मन्दिरमा राखिएका भजनका पुस्तकहरूमा जयदेवका 'गीत गोविन्द'देखि सिद्धिनरसिंह र विद्यापतिसम्मका भजनहरू सङ्ग्रहित छन्।
"विद्यापतिका भजनहरू मल्लकालदेखि नै गाइँदै आएको हो भन्ने हामीले सुनेका हौँ," बाह्र वर्षको हुँदा आफ्ना पिताबाट वाद्यवादन सिकेको बताउने केशवकृष्ण भन्छन्।

"उनका भजन हामी दिनैपिच्छे नै गाउँछौँ।"
पाटनको कात्तिक नाचमा पनि विद्यापतिका भजनहरू गाइने तथा त्यसक्रममा हुने संवादमा समेत मैथिली शब्दहरू सुनिने जानकारहरूको भनाइ छ।
विगत १७ वर्षदेखि कात्तिक नाचमा भजन गाउँदै आएका भुवनबहादुर चित्रकार भन्छन्, "कात्तिक नाचमा हामीले विद्यापतिको भजन गाउनै पर्छ। मच्छिन्द्रनाथको जात्राका बेलामा पनि गाउनुपर्छ।"
"भजनहरू फेरिन्छन् तर विद्यापतिका पनि हामीले गाइरहेकै हुन्छौँ।"
भलै नियमित भजन तथा वाद्यवादनमा संलग्न हुनेहरूलाई उनीहरूले गाइरहेका कैयौँ भजनहरू विद्यापतिका हुन् भन्ने जानकारी होस्, तर उपत्यकाकै कैयौँलाई त्यसबारे जानकारी भएको पाइदैँन।
कतिपयका अनुसार पाटनका नेवार समुदायका व्यक्तिहरूले मन्दिरहरूमा नियमित रूपमा तथा जात्राहरूमा गाउने त्यस्ता कैयौँ भजनहरू सुरुमा पूर्ण रूपमा मैथिली भाषामा लेखिएका हुनुपर्छ।
तर शताब्दी वितेसँगै ति भजनहरूको स्वरूपमा पनि परिवर्तन देखिएको अनुमान गरिएको छ।
"पछि कति स्थानमा उच्चारण र शब्दहरू अपभ्रंश भए होलान्। कति शब्दहरू मिलेनन् होला," कृष्ण मन्दिरका पूजारी प्रतापधर शर्मा भन्छन्।
"सुरुमा मैथिलीमा नै लेखिएको तर अपभ्रंश हुँदै जाँदा नेपाली, नेवारी र मैथिली भाषा मिसिएको जस्तो देखिन्छ।"
यद्यपि काठमाण्डू, पाटन र भक्तपुर सबै स्थानमा गाइने भजनहरूमा मिथिलका प्रसिद्ध र सम्मानित कवि विद्यापतिको उपस्थिति देखिएको उनीबारे अध्ययन गरेका अध्येताहरूको भनाइ छ।
हालै विद्यापतिबारे हिन्दी भाषामा प्रकाशित 'महाकवि विद्यापति और नेपाल' पुस्तककी लेखिका तथा त्रिभुवन विश्वविद्यालयमा हिन्दीभाषाकी एक अध्यापक मञ्चला झा भन्छिन्, "मैले अध्ययनका क्रममा काठमाण्डू उपत्यकाको संस्कृतिमा विद्यापतिको छाप गहिरो रहेको पाएँ।"
"उपत्यकाका धेरै स्थानमा अद्यापि विद्यापतिका भजनहरू गाइने रहेछन्। उनी त यहाँ जीवन्त रहेछन्।"

तस्बिर स्रोत, RSS
काठमाण्डूको मन्दिरमा विद्यापतिको भजन
झाले चावहिल गणेस्थानमा पनि विद्यापतिको भजन अद्यापि गाइने उक्त पुस्तकमा उल्लेख गरेकी छन्।
तर हरेक मङ्गलवार र शनिवार नियमित रूपमा भजन हुने गणेशस्थानमा अचेल विद्यापतिको भजन नियमित रूपमा गाउन छाडिएको छ।
गत शनिवार बिहान उक्त मन्दिर पुग्दा त्यहाँ चन्द्रविनायक तथा भैरवनाथ भजन मण्डल समूहका सदस्यहरू हारमोनियम तथा तबलाको तालमा भजन प्रस्तुतिमा व्यस्त थिए।
झाले उक्त मन्दिरमा गाइने गरेको भनेर उल्लेख गरेको भजन देखाएपछि त्यहाँ उपस्थित केही पुराना वाद्यवादक र भजन मण्डलीका सदस्यहरूले "त्यो भजन पहिले आफूहरूले गाउने गरेको" बताए।
चावहिल निवासी ७६ वर्षीया भजन गायक जमुना प्रजापतीले भनिन्, "यो भजन त पहिलेपहिले बूढाबूढीले गाउनुहुन्थ्यो। त्यसबेला म तन्नेरी नै थिएँ, यो २०/२५ वर्षअघिको कुरा हो।"
त्यसपछिउनले लय हालेर उक्त भजन गाउन थालिन्:
बुधवा रंगिया भंगिया भोलारे।
चन्दन चिलक शोभे भाथेहि ज्वालाय।।
… भष्म पत्रिया शिव गलेरुद्र माला।
भनय विद्यापति शिवजीके लीला।।
उनकै कुरामा सहमति जनाउँदै केही दशकअघिसम्म उक्त भजन गणेशस्थानमा नियमित गाइने गरेको सुनाउँछन् सोही भजन मण्डलीका ७३ वर्षीय हरिभक्त राजवंशी।
उनले भने, "१८/२० वर्षअघिसम्म यो भजन यहाँ गाइन्थ्यो, विद्यापतिको हो कि कसको हो चाहिँ मलाई थाहा भएन तर त्यसबेला म तबला बजाउँथे।"
"यो अहिलेको पाटी बनाउँनका लागि पुरानो पाटी भत्काउँदा यहाँ राखिएको भजनको किताब हरायो त्यसपछि यो भजन गाउन छाडिएको हो।"
भक्तपुरमा विद्यापतिको भजन
पाटन र काठमाण्डूका तुलनामा भक्तपुरमा विद्यापतिको प्रभाव अझ बढी देखिने त्यहाँका भजनबारे अध्ययन गरेकाहरूको भनाइ छ।
भक्तपुरमा भजन संस्कृति अझ बढी गहिरो रहेको र अहिलेसम्म पनि धेरै स्थानमा नियमित भजनहरू हुने गरेकाले त्यो प्रभाव महसुस गर्न सकिने उनीहरू बताउँछन्।

'भक्तपुरमा प्रचलिन भजनहरू' पुस्तिका प्रकाशन समेत गरेका इन्दुल केसीका अनुसार त्यहाँ संस्कृत, नेवारी (नेपाल भाषा), मैथिली र अवधि भाषाका भजनहरू प्रचलनमा रहेका छन्।
त्यसमा जयदेव, विद्यापति र मल्ल राजाहरूले रचना गरेका भजनको बाहुल्यता रहेको छ।
उनी भन्छन्, "विद्यापतिको भजनहरूमा अन्तिममा 'भनय विद्यापति' भन्ने आइरहेको हुन्छ, ती भजनहरू त्यहाँ नियमित रूपमा गाइन्छन् तर बिडम्बना नै मान्नुपर्छ- अहिले भजन गाउनेलाई विद्यापतिको भजन हो भन्ने थाहा छैन।"
उनी भक्तपुरमा विद्यापतिको प्रभाव मल्लकालदेखि नै रहेको जस्तो भजनहरूको अध्ययन गर्दा आफूले अनुभूत गरेको बताउँछन्।
को हुन् विद्यापति?
मञ्चला झाले विभिन्न इतिहासकारहरूलाई उदृत गर्दै 'महाकवि विद्यापति और नेपाल' पुस्तकमा लेखे अनुसार विद्यापति ठाकुरको जन्म आधुनिक भारत तथा प्राचीन मिथिलाको दरभङ्गास्थित बिसपी नामक गाउँमा भएको थियो।
उनको जन्म कुन मितिमा भएको थियो भन्ने लिखित प्रमाणको अभाव रहेको झाले उक्त पुस्तकमा उल्लेख गरेकी छन्।
तर विभिन्न विद्वानहरूले उनको जन्म सन् १३५० देखि १४६० बीचमा भएको उल्लेख गरेको त्यसमा लेखिएको छ।
उनी पछि विद्वान कविका रूपमा प्रख्यात भएको र मिथिलाका महाराज शिवसिंहको दरबारीया कवि बनेको कतिपयले लेखेको उक्त पुस्तकमा उल्लेख गरिएको छ।
विद्यापतिले संस्कृत, प्राकृत र मैथिली भाषामा कैयौँ ग्रन्थहरू लेखेको इतिहास पाइन्छ।

उनले त्यसबेलाको मिथिलाको जनभाषा मैथिलीमा कैयौँ काव्यहरू रचना गरेकाले उनलाई मैथिली समुदायमा "कवि कोकिल" र "महाकवि" पनि भन्ने गरिन्छ।
उनले लेखेका भूपरिक्रमा, पुरुषपरीक्षा, लिखनावली, कीर्तिलता, कीर्तिपताका: लगायतका कैयौँ रचनाहरूलाई निकै महत्त्वपूर्ण मानिन्छ।
उनको जन्म हालको भारतमा भएको भए पनि मुस्लिम आक्रमणलगायतका कारणले पछि हालको नेपालतर्फ आएर बसेको इतिहासकारहरूको मत छ।
मिथिला क्षेत्रको हाल नेपालमा पर्ने भूभागमा उनले धेरै वर्ष बिताएको र यहीँ कैयौँ रचनाहरू गरेको उनीबारेका अध्येताहरूले लेखेका पाइन्छ।
त्यसक्रममा विद्यापति काठमाण्डू उपत्यका पनि आएको हुनसक्ने कतिपयको अनुमान छ।
झाले लेखे अनुसार उनको मृत्युबारे पनि विद्वानहरूबीच एक मत रहेको छैन।
तर धेरैले उनको मृत्यु सन् १४४०-१४५० तिर भएको अनुमान गरेका छन्।
उपत्यकामा मैथिली भाषा-साहित्यको प्रभाव
इतिहास तथा संस्कृतिका अध्ययनकर्ताहरूका भनाइमा विशेषगरी काठमाण्डू उपत्यकामा लिच्छविकालपछि मल्लकालमा मैथिली भाषा-साहित्यको निकै ठूलो प्रभाव रहेको देखिन्छ।
त्यसबेला उपत्यकाभित्रै आएर पनि कैयौँ मैथिली विद्वानहरूले पुस्तकहरू लेखेको तथा यहाँका मन्दिरहरूमा पूजारीका रूपमा मिथिलाका ब्राह्मणहरूलाई नियुक्ति गरिएका प्रमाणहरू रहेको उनीहरू बताउँछन्।
उपत्यकाका कतिपय महत्त्वपूर्ण मन्दिरहरूमा मिथिलाका ब्राह्मणहरूले पूजारीका रूपमा गर्दै आएका काम हालसम्म पनि निरन्तर रहेको देखिन्छ।
इतिहासकारहरूले मल्लकालमा मिथिला र नेपालका राजाहरूको वैवाहिक सम्बन्ध रहेको उल्लेख गरेका छन्।
वैवाहिक सम्बन्ध स्थापित भएर नेपालका रानी बनेका मिथिला क्षेत्रका राजकुमारीहरूसँगै कैयौँ ब्राह्मणहरू पनि नेपाल आएको कतिपयको तर्क छ।
त्यस्तै भारतहुँदै सिम्रौनगढसम्म पनि मुस्लिम आक्रमण हुन पुगेपछि त्यहाँका राजासहित मिथिलावासीहरू नेपालतर्फ आएको इतिहास छ।
यस्तैखाले सम्पर्क र सम्बन्धका कारण नेपाल खाल्डोमा मैथिली भाषा-साहित्यको गहिरो प्रभाव परेको ठान्नेमध्ये एक हुन् इतिहासकार महेशराज पन्त।
उनी भन्छन्, "काठमाण्डू खाल्डोमा हामीले पुनर्जागरण (रेनेसा) शब्दको प्रयोग गर्ने हो भने रेनेसा गर्ने चाहिँ मैथिलहरू नै हुन्। मिथिलामा मुस्लिम आक्रमण भएपछि उनीहरू किताब बोकेर काठमाण्डू खाल्डोमा छिरे र उनीहरूले कतिसम्म गरे भने नेवारी पनि पढेर नेवारी भाषामा समेत उनीहरूले किताब लेख्न थाले।"
मिथिला क्षेत्रबाट काठमाण्डू उपत्यकाभित्रै आएर स्थायी बसोबास गरेका र नगरेकाहरूले समेत यहाँको भाषा-साहित्यमा निकै योगदान गरेको इतिहासकारहरूको मत छ।
त्यसै क्रममा विद्यापतिको प्रभाव पनि काठमाण्डू उपत्यकाभित्र परेको उनीहरूको बुझाइ देखिन्छ।

र, त्यसलाई मल्ल राजाहरूले पनि प्रोत्साहन गरेको कतिपयको मत रहेको छ।
मैथिली भाषाका एकजना प्राध्यापक रामदेव झाले २०४६ सालमा प्रकाशित सिंहावलोकन नेपालीय मैथिली पाक्षिकको विशेषाङ्कमा उपत्यकामा विद्यापतिको प्रभावबारे प्रकाश पारेका छन्।
उनी लेख्छन्, "नेपाल उपत्यकाका तीनै राज्य भक्तपुर (भादगाउँ), कान्तिपुर (काठमाण्डू) तथा ललितपुर (पाटन) का राजाहरू कलाप्रेमी, गुणग्राही, सहृदयी एवम् साहित्यिक अभिरुचिबाट सम्पन्न थिए।"
"यी राजाहरू मैथिली साहित्यलाई पूर्ण संरक्षण दिनुका साथै स्वयम् साहित्य रचना गर्दथे, कवि-नाटककारलाई आफ्नो आश्रय प्रदान गर्दथे र मिथिलामा रचित गीत तथा नाटकलाई सप्रयत्न मगाइ, प्रतिलिपि गराइ, तिनका गीत गाउन लगाइ तथा अभिनय-मञ्चन गराइ नेपाली जनताहरूलाई आनन्द लिने मौका दिन्थे।"
"… यही कारण हो नेपालमा मैथिली प्राचीन साहित्य मूल रूपमै सुरक्षित रहन सक्यो जो संप्रति मिथिलाको सम्पत्तिको रूपमा विद्यमान छ।"








