बोरिस जोनसन: ब्रिटिश प्रधानमन्त्रीमाथि सोमवार पार्टीका सांसदहरूबीच विश्वासको मत परीक्षण

बोरिस जोनसन

तस्बिर स्रोत, Reuters

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनमाथि सोमवार विश्वासको मत परीक्षण हुने भएको छ।

उनलाई बहुमतको विश्वास रहे नरहेकोबारे ब्रिटिश समय अनुसार सोमवार साँझ ६ बजेपछि मतदान हुँदैछ।

उनले आफ्नो दलका सांसदहरूको विश्वास गुमाए प्रधानमन्त्री पद गुमाउनेछन्।

जोनसनको कन्जरभेटिभ पार्टीका ५४ सांसदले माग गरेपछि उनले विश्वासको मत परीक्षण गर्न लागेका हुन्।

कन्जरभेटिभ पार्टीका सांसद ग्राहम ब्राडीले विश्वासको मत परीक्षणका लागि माग गर्ने सांसदहरूको न्यूनतम सङ्ख्या पुगेको बारेमा आफूले प्रधानमन्त्रीलाई जानकारी गराएको बताएका छन्।

उनलाई प्रधानमन्त्रीबाट हटाउन कन्जरभेटिभ पार्टीका १८० सांसदहरू मध्ये बहुमतले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्नुपर्ने हुन्छ।

उनको मन्त्रिपरिषद्का २२ जना सदस्यमध्ये १६ जनाले जोनसनको पक्षमा मतदान गर्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन्।

मतदान अघि जोनसनको टोलीले पार्टीका सांसदहरूलाई उनलाई समर्थन गर्नुपर्ने कारणबारे एउटा सन्देश पठाएको छ।

प्रधानमन्त्री कार्यालयले आफ्नो बारे दलका सांसदहरूलाई स्पष्ट गर्ने र महिनौँ देखिको अनुमान अन्त्य गर्ने अवसरको रूपमा जोनसनले यसलाई स्वागत गर्ने जनाएको छ।

कोरोनाभाइस लकडाउनको समयमा आफ्नो जन्मदिन मनाउन प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिटमा पार्टी गरेको भन्ने विवरण सार्वजनिक हुँदा उत्पन्न आक्रोशपछि जोनसनबारे उनको संसदीय दलभित्र मतदान हुन लागेको हो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, महारानी एलिजाबेथको पहिला नदेखिएको रूप

मे मा भएको स्थानीय निर्वाचनमा कन्जरभेटिभ पार्टीको कमजोर नतिजा पछि जोनसनको आलोचना बढेको थियो।

कोरोनाभाइरस महामारीबीच प्रधानमन्त्री कार्यालयमा मात्र नभई अन्य सरकारी विभागमा समेत मनोरञ्जनका लागि जमघट भएको पाइएपछि जोनसनलाई ५० पाउण्ड जरिवाना गरिएको थियो।

ती भोज तथा जमघट हुँदा यूकेमा विभिन्न चरणको लकडाउन जारी थियो। त्यति बेला कोठाभित्र दुईभन्दा बढी व्यक्तिको भेला र खुला स्थानमा हुने कार्यक्रमहरू प्रतिबन्धित थिए।

सन् २०२० को मे महिनामा डाउनिङ स्ट्रीट परिसरमा सामाजिक दूरी कायम राख्दै मदिरा पिउने कार्यक्रम आयोजना गरिएको थियो जहाँ करिब १०० जनालाई 'आफ्नो लागि आफैँ मदीरा लिएर आउनुस्' भन्ने आग्रहसहित निमन्त्रणा गरिएको थियो।

प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार जोनसन र उनकी तात्कालीन हुनेवाला श्रीमती क्यारी साइमन्ड्स त्यस कार्यक्रममा उपस्थित ३० जनामध्ये थिए।

प्रधानमन्त्रीले आफू त्यहाँ २५ मिनेटका लागि रहेको पुष्टि गरे। तर त्यो कार्यक्रम कामसँग सम्बन्धित रहेको उनको दाबी छ।