तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
नेपाल: रुपन्देहीको बस दुर्घटनामा नौ जनाको मृत्यु
चालक निदाउँदा भैरहवा नजिकै आइतवार बिहान यात्रुवाहक बस दुर्घटना भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।
प्रहरीका अनुसार दुर्घटनामा कम्तीमा नौ जनाको ज्यान गएको छ भने १६ जना गम्भीर घाइते छन्।
जनकपुरबाट भैरहवाका लागि छुटेको उक्त बसमा ३३ जना यात्रीहरू सवार थिए।
"बाटो राम्रो थियो यस कारणले बसको गति पनि तीव्र भएको हुनु पर्छ," लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी योगेन्द्र सिंह थापाले भने।
"बिहानपख चालक निद्रामा झुल्दा बसले नियन्त्रण गुमाएको हुनु पर्छ।"
भैरहवा पुग्न करिब १० मिनेट बाँकी रहँदा पुलबाट बस रोहिणी खोलामा खसेको थियो।
घाइते सबैको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ।
दुर्घटनामा ज्यान गुमाएकामध्ये पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ।
लामो दुरीमा चल्ने यात्रुवाहक बसहरूमा दुई जना चालक राख्ने नियम बनाइए पनि आइतवार दुर्घटना भएको बसमा दुई जना चालक भए नभएको जानकारी नभएको एसपी थापाले बताए।
नेपालमा सडक दुर्घटना
- बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या: साढे १३ लाख
- विश्वभरि सडक दुर्घटना ५-२९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
- दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको सङ्ख्या: ३७००
- अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
- न्यून आय भएका देशमा सन् २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
- सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
- नेपालमा प्रति १ लाखमा लगभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
- सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति