बालेन शाह: दौरा सुरुवालमा उपस्थित काठमाण्डूका मेयरले नेपाल भाषामा पनि शपथ लिए

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नेपाली भाषासँगै नेपाल भाषामा पनि शपथ लिएका छन्।
सोमवार राष्ट्रिय सभागृहमा भएको शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर शाह दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएर उपस्थित भए।
यसअघि आफ्नो चुनावी अभियानमा ऊनी टीसर्ट र कोटपाइन्टमा देखिने गरेका थिए।
नेपाली भाषामा शपथ ग्रहण गरेलगत्तै उनले शपथको ब्यहोरा नेवारी भाषामा पनि वाचन गरे।
"संविधानप्रति पूर्ण वफादार रहँदै काठमाण्डू महानगरपालिकाको नगर कार्यपालिकाको प्रमुख पदमा…..इमानदारीका साथ गर्नेछु," उनको शपथमा भनिएको छ।
आफ्नो शपथपछि बालेनले उपमेयर सुनिता डङ्गोललाई शपथ ग्रहण गराए।
नेकपा एमालेबाट निर्वाचित डङ्गोलले पनि नेवारी भाषामा शपथ लिइन्।

शपथपछि बागदरबारस्थित महानगरपालिकाको कार्यकक्षमा पुगेर उनले पदभार ग्रहण गरे।
शाहले पदभार ग्रहणपछि पत्रकारहरूसँग काठमाण्डूको फोहोर व्यवस्थापन नभएसम्म आफूले अरू कामलाई प्राथमिकता नदिने बताएका छन्।
"हामीले यो पाप कहिलेसम्म बोक्ने? हाम्रो फोहोरले सिसडोलबासीहरू क्यान्सर पीडित हुनुभएको छ। छालाको रोग भएको छ," उनले भने।
"उहाँहरू बाँच्न पाउने अधिकार पूर्ण नभएसम्म अरू कुराकानी हामीले नगर्ने।"
कति समयमा व्यवस्थापन गर्ने योजना छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले प्रतिप्रश्न गरे: "पत्रकारहरूले हाम्रो कुरा बुझ्न समय कति लाग्ला?"
पदभार ग्रहणपछि उपमेयर सुनिता डङ्गोलले आगामी पाँच वर्ष काठमाण्डूका बासिन्दाको हकहितका लागि काम गर्ने बताइन्।
"पार्टीबाट होस् या स्वतन्त्र अब हामी सबै जनाले टिम स्पिरिटमा विश्वास गर्नुपर्छ," उनले भनिन्।
"अब व्यक्ति सफल भयो भएन भन्ने कुरासँग पछाडि लाग्ने होइन। अबको प्राथमिकता भनेको व्यक्तिको होइन, संस्थाको सफलता हेर्नुपर्छ।"
डङ्गोलले चुनावी प्रतिबद्धताहरू महानगरको आगामी बजेटमार्फत कार्यान्वयनका लागि आफूले पहल गर्ने जानकारी दिइन्।
शाहको योजना
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ३२ वर्षीय स्वतन्त्र उम्मेदवार शाह काठमाण्डू महानगरको मेयरमा निर्वाचित भएका थिए।
सङ्घीय राजधानी काठमाण्डूको मेयरमा ठूला राजनीतिक दलहरूका उम्मेदवारहरूलाई पराजित गरेका शाह पेसाले स्ट्रकचरल इन्जिनियर हुन्।
त्यसअघि उनी सङ्गीत रुचाउने ठूलो जमातबीच र्यापरका रूपमा चिनिएका थिए।

तस्बिर स्रोत, ANUP MAGAR
इन्जिनियरका रूपमा उनले सडक र पुलदेखि, औद्योगिक क्षेत्र, भ्यूटावर, खेलकुद मैदान र साइन्स पार्कहरूको खाका कोर्ने वा निर्माण गर्ने कार्यमा संलग्न रहेर काम गरेको बताउने गरेका छन्।
आफ्नो चुनावी प्रतिबद्धतामा बालेनले महानगरमा शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने उल्लेख गरेका थिए।
उनले बहुतले पार्किङ र सार्वजनिक यातायातमा अग्रिम भुक्तानी कार्डको सुरुवात गर्ने योजना पनि उनले अघि सारेका थिए।









