कम्प्युटर चलाउन केम्ब्रिज यूनिभर्सिटीका अनुसन्धानकर्ताले निकाले एककोषीय सूक्ष्मजीवबाट ऊर्जा

तस्बिर स्रोत, University of Cambridge
वैज्ञानिकहरूले एक प्रकारको सूक्ष्मजीवबाट प्राप्त ऊर्जा प्रयोग गरेर एक वर्षसम्म कम्प्युटर चलाउन सकिएको बताएका छन्।
केम्ब्रिज यूनिभर्सिटीमा अनुसन्धानकर्ताहरूले त्यस्तो प्रयोग गरेका हुन्।
त्यसका लागि उनीहरूले डबल ए ब्याटरीको आकृतिजत्रो एउटा साधन प्रयोग गरेका थिए।
उक्त विश्वविद्यालयका अनुसार उक्त प्रणालीमा "सिन्इकोसिस्टिस" नामक अविषाक्त ब्लू-ग्रीन एल्गी प्रयोग गरिएको थियो।
उक्त एककोषीय ब्लू-ग्रीन एल्गीले सूर्यबाट प्रकाश-संश्लेषण प्रक्रियामार्फत् ऊर्जा सङ्कलन गर्ने वैज्ञानिकहरू बताउँछन्।
उक्त प्रणाली साना उपकरण चलाउन ऊर्जा उपलब्ध गराउने "विश्वसनीय र नवीकरणीय उपाय" हुनसक्ने विश्वास अनुसन्धानकर्ताहरूको छ।
साधारण, सस्ता र प्रायः पुनर्प्रयोग गरिएका सामग्री प्रयोग गरेर उक्त प्रणाली बनाइएको उनीहरूले बताएका छन्।
"यसको अर्थ 'इन्टरनेट अफ थिङ्स'अन्तर्गत धेरैवटा साना उपकरणलाई ऊर्जा दिन हजारौँ पटक सजिलै यसका प्रतिकृतिहरू बनाउन सकिन्छ," उक्त समूहले भनेको छ।
'निरन्तर काम गर्यो'
इन्टरनेट अफ थिङ्स विद्युतीय उपकरणहरूको एउटा बृहत् र बढ्दो सञ्जाल हो।
स्मार्टवाचजस्ता ती उपकरणहरूले इन्टरनेटमार्फत् रीअल-टाइम तथ्याङ्क सङ्कलन र प्रसार गर्न थोरै ऊर्जा खपत गर्छन्।
प्रकाश-संश्लेषण प्रक्रियाबाट उत्पन्न विद्युतीय तरङ्गले एल्युमिनीअम इलेक्ट्रोडसँग अन्तर्क्रिया गर्छ। उक्त इलेक्ट्रोडले माइक्रोप्रोसेसरलाई ऊर्जा प्रदान गर्छ।
केम्ब्रिज यूनिभर्सिटीको बायोकेमिस्ट्री विभागमा कार्यरत प्राध्यापक क्रिस्टोफर हाऊ भन्छन्, "हाम्रो फोटोसिन्थेटिक साधन अरू ब्याटरीजस्तो सकिँदैन किनभने यसले निरन्तर प्रकाशलाई ऊर्जाको स्रोतका रूपमा प्रयोग गर्छ।"
यो वैज्ञानिक परीक्षणमा इन्टरनेट अफ थिङ्सका उपकरणहरूमा व्यापक रूपमा प्रयोग हुने "आर्म कोर्टेक्स एमजीरो+" माइक्रोप्रोसेसरलाई ऊर्जा दिन उक्त साधन प्रयोग गरिएको थियो।
केम्ब्रिजस्थित माइक्रोप्रोसेसर डिजाइन गर्ने कम्पनी आर्मले यो परियोजनामा केम्ब्रिजका अनुसन्धानकर्मीहरूसँग सहयकार्य गरेको थियो।
बायोकेमिस्ट्री विभागका डा. पाओलो बोम्बेली भन्छन् , "लामो समयसम्म जसरी यो प्रणालीले काम गर्यो त्यसबाट हामी प्रभावित भएका छौँ। हामीले केही सातापछि यो बन्द होला भन्ने लागेको थियो, तर यो त निरन्तर चलिरह्यो।"

यो पनि हेर्नुहोस्















