तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारतः म्याक्डोनल्ड्स, केएफसी र डोमिनोले किन र कसरी फेरि आफ्ना परिकारको स्वाद
दशकौँसम्म अग्रणी अन्तर्राष्ट्रिय फास्ट फूड कम्पनीहरूले स्थानीय खाजाघर जान मन पराउने भारतीयहरूलाई आफूतर्फ आकर्षित गर्ने प्रयास गरे। हालैका वर्षमा भने उनीहरूले क्षेत्रीय स्वाद पस्किन थालेका छन्। बीबीसीकी जोया माटिन र मेरिल सेबास्टिअनको रिपोर्ट।
सन् १९९६ मा नयाँदिल्लीको एउटा प्रतिष्ठित क्षेत्रमा म्याक्डोनल्ड्सले आफ्नो पहिलो शाखा खोल्दा पश्चिमा खाजाघरको स्वाद भारतका लागि नौलो थियो।
तर उक्त खाजाघरको चेन सञ्चालन भइरह्यो र त्यसका लागि उसले आफ्नो मेन्यूमा स्थानीय स्वादहरूलाई पनि समाविष्ट गर्न थाल्यो।
त्यही भएर उसले अण्डाबिनाको मेअनेज, सुँगुर र गाईको मासुबिनाको प्याटी ल्यायो।
उसले शाकाहारलाई अनुकूल हुनेगरी भारतीय स्वाद पस्कियो जसमा म्याक्आलु टिक्की (आलु र मटरसहितको बर्गरजस्तो परिकार), पिज्जा म्याक्पफ (पिज्जामा प्रयोग गरिने टपिङ र चीजयुक्त स्यान्डविचजस्तो परिकार) र चीज समेत प्रयोग गरिएको मसलासहितको र्याप बजारमा ल्यायो।
थोरै समयमै उक्त बर्गर देशभरि फैलियो।
सो कम्पनीको पहेँलो लोगो भारतका सहरहरूमा यत्रतत्र देखा पर्न थाल्यो र त्यसको 'मलाई मन पर्छ' भन्ने जिङ्गलले धेरै जनालाई राम्रो समयको सम्झना गरायो।
म्याक्डोनल्ड्स सफलताको उदाहरण
म्याक्डोनल्ड्स भारतीय बजारमा प्रभुत्व कायम गर्न निरन्तर प्रयास गरिरहेका अमेरिकी फास्ट फूड चेनहरूका लागि एउटा बजार विस्तारको नमुना बनेको छ।
त्यसको परिणामस्वरूप मूल पश्चिमा स्वादसँग एकदमै कम मेल खाने भारतीय स्वाद पस्किने कैयौँ परिकारहरू बजारमा उपलब्ध भएका छन्।
भारतस्थित एउटा कन्सल्टेन्सी फर्म टेक्नोपाकका अध्यक्ष अरविन्द सिङ्घल भन्छन्, "आफ्ना उत्पादनहरूलाई भारतीय शैलीमा ढाल्ने उदाहरण म्याक्डोनल्ड्स, केएफसी र डोमिनोले क्षेत्रीय रूपमा नै सफलतापूर्वक प्रस्तुत गरेका छन्।"
खानेकुरामा त्यस्तो परिष्कृत शैली अँगाल्ने विषयमा भारत नौलो होइन।
दक्षिण राज्य केरलामा पापडलाई मिचेर एक खीरजस्तो गुलियो परिकार "पायसम" मा मिलाइन्छ भने मुम्बईमा चर्चित अप्सरा आइसक्रीमले उत्पादन गर्ने अम्बाको आइसक्रीममा खुर्सानीको धुलो छर्किने गरिन्छ।
अन्तर्राष्ट्रिय ब्रान्डहरूले भारतमा रहेको ठूलो बजारसम्म आफ्नो उत्पादनलाई पुर्याउन तिनलाई परिमार्जन गर्ने गर्छन्।
सिङ्घलका अनुसार युरोपका ग्राहकहरूले रोज्नेभन्दा सम्भवतः फरक किसिमले उनीहरूले नुनिला परिकारमा थप मसलाहरू प्रयोग गर्छन् वा मिठाइहरूलाई थप गुलियो बनाउँछन्।
उनले भने, "सन् १९८० मा म्यागी ब्रान्डको केचप नेस्लेले ल्याउँदा 'हट एन्ड स्पाइसी' भनेर चिनायो र तुरुन्तै सफल भयो। म्यागीका चाउचाउहरू पनि विविध स्वादको प्याकेटमा ल्याइए जसले एकदमै विविधतायुक्त भारतीय ग्राहकहरूलाई आकर्षित गर्न सक्यो।"
तर हालैका वर्षहरूमा ब्रान्डहरूले विभिन्न अस्वाभाविक खालका खानेकुराका मिश्रणहरू गर्न थालेका छन्।
उदाहरणका लागि स्निकरले केशरपिस्ताको चकलेट बार ल्याएको छ। डन्किनले ठन्डाई नामक दुग्धजन्य चिसो पेयपदार्थ हो जसमा ड्राईफ्रूट (मसला), गुलाबका पत्ता र केशर मिसाइएको हुन्छ।
अनि म्याक्डोनल्ड्सले बटर चिकेनलाई आफ्नो बर्गर मेन्यूमा समावेश गरेको छ।
भारतको स्वदेशी ब्रान्डको परिकार परिमार्जन
स्वदेशी ब्रान्डहरूले जस्तै बिराले पनि त्यस्तो परिकार परिमार्जन गरिरहेका छन् र उनीहरूले आँपको स्वादको लस्सी र मिल्कशेक बीअरजस्ता उत्पादन ल्याएका छन्।
कतिपय त्यस्ता परिमार्जित परिकार बजारको मागलाई सन्तुष्ट बनाउन ल्याइएका छन्।
दिल से फूडी नामक लोकप्रिय यूट्यूब च्यानलका सञ्चालक करन दुवा भन्छन्, "अस्वाभाविक किसिमको खानेकुराको मिश्रण खानेकुरासम्बन्धी ब्लगहरूले प्रचार गर्दा भाइरल हुने गरेको छ र त्यसले ती ब्रान्डलाई चिनिने बनाइदिएको छ।"
तर खानेकुरामा गरिएका त्यस्ता नयाँ प्रयोग स्थानीय रूपमा नै लगभग हरेक कुराको विकल्प भएको भारतका लागि अप्ठेरो विषय पनि बन्न सक्ने देखिन्छ। विशेषतः खानेकुरा भारतको बृहत् संस्कृतिको एउटा हिस्साका रूपमा रहेको छ।
बर्गरबारे सोचिरहनुभएको छ? डुनोटजस्तो आकार भएको पीरो र मसालेदार वडा विकल्पमा छ जुन खान सक्नु नै कतिपयका लागि ठूलो जित हुन सक्छ।
पपकोर्न मन पर्छ? त्यसको विकल्पमा भेलपुरी छ जुन चामलले बन्छ र बलीवुडका चर्चित अभिनेताहरू पनि त्यसबाट स्वास्थ्यलाई फाइदा पुग्ने दाबी गर्छन्।
त्यसबाहेक विशेष परिचय बनाएको मःमः छँदै छ जुन स्थानीय फास्ट फुडको बजारका लागि एउटा नमुना बनिरहेको छ।
दुवा भन्छन् क्षेत्रीय स्तरमा परिस्थिति अझ जटिल बनिरहेको छ किनभने त्यहाँ प्रत्येक दोबाटोहरूमा स्वाद र खाने बानी परिवर्तन हुन सक्ने अवस्था छ।
अघिल्लो वर्ष पश्चिम भारतको सुरत सहरमा उनले फलफूल चिया पिएका थिए। त्यसमा फलफूल र दूध मिसाएर चिया बनाइएको थियो। अर्को राज्यमा आइसक्रीम स्यान्डबिचमा चीज र नौनी राखेर विक्री गरेको देखेको उनको भनाइ छ।
"गुजरातमा गुलियो र नुनिलो खानामा मिसाउने चलन छ र त्यो त्यहाँ लोकप्रिय छ। तर दिल्लीजस्तो सहरमा त्यो विक्री गर्न कठिन हुन्छ।"
स्थानीय प्रयास कस्ता छन्
तर परिकार परिमार्जनको विविधता फास्टफूडमा मात्रै सीमित छैन।
पूजा ढिङ्ग्राले फ्रेन्च पेस्ट्रीको व्यवसाय दक्षिण मुम्बईमा सुरु गर्दा उनको उद्देश्य फ्रान्सेली विधि प्रयोग गरी भारतीय स्वाद पस्किनु थियो।
तर यसले धेरैवटा रमाइला परिकारका मिश्रण बनाउने बाटो खोल्यो। पान माकारुन, चिया कपकेप र हरियो खुर्सानी ट्रफल्स केही उदाहरण हुन्। उनले आफ्ना मेन्यूबारे सकारात्मक प्रतिक्रियाहरू आउन थालेपछि थप परीक्षण गरेको र आफ्ना आमाबुवालाई नयाँ स्वाद चाख्न लगाएको बताइन्।
उनी भन्छिन्, "मैले परिकारको सूची तयार पार्दा मेरो संस्कृति र जीवनको अनुभवलाई उपयोगी पाएको छु। कतिपय अवस्थामा ज्यादै नराम्रो परिणाम पनि आउँछ तर कतिपय अवस्थामा त्यो ज्यादै उत्साहजनक पनि हुन सक्छ।"
खानेकुरामा शेफको व्यक्तित्व र अनुभव झल्किएपछि बजार जुटाउन ज्यादै सजिलो हुने उनको अनुभव छ।
"मेरो सबैभन्दा मन पर्ने काम दीपावलीको मेन्यू तयार गर्नु हो जसमा फ्रान्सेली र भारतीय क्षेत्रका उत्कृष्ट परिकारहरू हुन्छन्," उनले भनिन्। "हाम्रो काजुकतली माकारुन ज्यादै सफल छ र यो वर्ष म बेसनको लड्डुलाई फ्रान्सेली स्वादसहित मेन्यूमा समावेश गर्ने विषयलाई लिएर ज्यादै उत्साहित छु।"