तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
स्थानीय तह निर्वाचन: कुन दलले कसरी टिकट दिन्छ? उम्मेदवार छनौटका आधार के छन्?
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय आउनै लाग्दा प्रमुख राजनीतिक दलले विभिन्न पदमा उम्मेदवारका लागि मापदण्ड तय गरेका छन्।
प्रमुख दलहरूमा अधिकांश स्थानीय तहमा एउटै पदका लागि धेरै आकाङ्क्षी देखिएका छन्। आकाङ्क्षी व्यवस्थापन र योग्य उम्मेदवार छनौटका लागि मापदण्ड तय गरेरै उम्मेदवार छनौट प्रक्रिया सुरु गरिएको दलका नेताहरूको दाबी छ।
सबै दलहरूले तय गरेका मापदण्डमा निर्वाचनमा विजय हासिल गर्ने सम्भावना भएको व्यक्तिलाई केन्द्रमा राखिएको छ।
केही दलहरूले उम्मेदवारको नैतिक तथा चारित्रिक पृष्ठभूमि पनि असल हुनुपर्ने पक्षलाई जोड दिएका छन्।
स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्नका कस्तो मापदण्ड तय गरिएको छ भनेर बीबीसी न्यूज नेपालीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूलाई सोधेको छ।
एमालेमा लोकप्रियको खोजी
अघिल्लो स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजय हासिल गरेको नेकपा एमालेले आगामी निर्वाचनमा उम्मेदवार हुन चाहने नेता जनताको बीचमा लोकप्रिय हुनुपर्ने मापदण्ड तय गरेको छ।
"एमालेले असल राजनीतिक पृष्ठभूमि भएको, योग्य, सक्षम, क्षमतावान् सहित भिजन र इमानदारिता भएको व्यक्तिलाई प्राथमिकता दिने मापदण्ड तय गरेको छ," एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भनिन्।
एमालेले स्थानीय तह र जिल्ला तहबाट उम्मेदवार सिफारिस गर्दा हरेक पदमा एक महिलासहित सिफारिस गर्न सर्कुलर जारी गरेको शाक्यले जानकारी दिइन्।
यसअघि निर्वाचित जनप्रतिनिधि दोहोरिन चाहेमा उनीहरूको काम र पारदर्शीताको मूल्याङ्कन गरिने एमालेले जनाएको छ।
नेकपा एमालेको पछिल्लो पटक संशोधित विधान अनुसार पार्टी अनुशासनको कारबाहीमा परेको व्यक्ति कारबाही फुकुवा भएको छ महिनासम्म कुनै पनि निकायमा पार्टीबाट उम्मेदवार हुन पाउँदैन।
एमालेले आफ्नो दलको उम्मेदवारलाई असहयोग गर्ने, नैतिक पतन देखिने फौजदारी कसुर वा भ्रष्टाचारमा संलग्न तथा छुवाछूत, जातीय भेदभाव वा लैङ्गिक हिंसाजन्य क्रियाकलापमा संलग्न तथा सार्वजनिक नैतिकता तथा सदाचारको उल्लङ्घन गरेको व्यक्तिलाई अनुशासनको कारबाही गर्ने उल्लेख छ।
कांग्रेसले लोकप्रिय र सक्रिय छान्ने
नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफ्नो दलले लोकप्रियता र सक्रियतालाई उम्मेदवार छनौटको आधार बनाउने बताए।
अघिल्लो निर्वाचनबाट स्थानीय तहमा निर्वाचित भएका पदाधिकारीलाई उनीहरूको काम र कार्यकालको मूल्याङ्कन गरेर मात्रै दोहोर्याउने बताए।
"उम्मेदवार हुने मान्छे स्थानीय तहमा लोकप्रिय र सक्रिय हुनुपर्यो। अघिल्लो पटक निर्वाचित भएकाहरूलाई उनीहरूको कामको मूल्याङ्कन गरेर मात्रै दोहोर्याउने निर्णय हुन्छ," उनले भने।
पार्टी विधानले तय गरेका मापदण्डका आधारमा कांग्रेसले उम्मेदवार छनौट गर्ने महतले जानकारी दिए।
नेपाली कांग्रेसको विधानले स्थानीय तह निर्वाचनमा पार्टीले छनौट गर्ने उम्मेदवारको मापदण्डबारे उल्लेख गरेको छ।
कांग्रेस विधानमा उल्लेखित छ वटा मापदण्डमा उम्मेदवार हुने व्यक्ति क्रियाशील सदस्य भएको हुनुपर्ने उल्लेख छ। तर अन्य दलबाट कांग्रेसमा प्रवेश गरेको व्यक्तिका हकमा पार्टीले यो बन्देजमा छुट दिन सक्ने उल्लेख छ।
कांग्रेसले पार्टीका अभियान, आन्दोलन र यसअघिका उम्मेदवारको प्रचार प्रसारमा सक्रिय तथा विकास निर्माण, रचनात्मक र सामाजिक काममा सक्रिय रहेको उच्च नैतिक चरित्र भएको व्यक्ति स्थानीय तहमा उम्मेदवार बन्न सक्ने पार्टी विधानमा उल्लेख गरेको छ।
कांग्रेस विधानले पार्टीबाट विद्रोही उम्मेदवार बनेका तथा पार्टी अनुशासनको कारबाहीबाट निष्कासित भएका व्यक्तिलाई उम्मेदवार नबनाउने विधानमै व्यवस्था गरेको छ।
कांग्रेस विधानले नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर भएको र पार्टीबाट निलम्बनमा रहेको व्यक्ति पनि उम्मेदवार हुन रोक लगाएको छ।
अनुशासित खोज्दै माओवादी
माओवादी नेता देव गुरुङका अनुसार नेकपा माओवादी केन्द्रको उम्मेदवार बन्न पार्टीको विचारलाई प्रवाह गर्न सक्ने, अनुशासित र आर्थिक आचरणमा दाग नलागेको स्वच्छ छविको व्यक्ति हुनुपर्ने मापदण्ड तय गरिएको छ।
"पहिलो कुरा अनुशासित र आर्थिक आचरणमा दाग नलागेको स्वच्छ छविको व्यक्ति हुनुपर्यो। स्थानीय पार्टी कमिटीहरूबाट पनि सिफारिस भएर आउनुपर्यो," गुरुङले भने।
"हाम्रो पार्टीले समानुपातिक र समावेशितालाई पनि उम्मेदवार छनौटको मापदण्डमा समेटेको छ।"
पार्टीमा लामो समयदेखि सक्रिय र आवश्यक पर्दा त्याग गरेका नेताहरूलाई स्थानीय निर्वाचनमा प्राथमिकता दिइने गुरुङ बताउँछन्।
एकीकृत समाजवालीको रोजाइमा समुदायमा प्रभाव भएको
नेकपा एमाले विभाजनबाट बनेको एकीकृत समाजवादी पहिलो पटक स्थानीय निर्वाचनमा सहभागी हुने तयारीमा छ।
पार्टी उपाध्यक्ष जयन्ती राईका अनुसार एकीकृत समाजवादीले स्थानीय तहमा उम्मेदवार छनौटका लागि एक दर्जन मापदण्डका सर्तहरू तय गरेको छ।
"इमानदार नैतिक आचरण भएको हुनुपर्यो, राजनीतिक बफादारिता र अनुभवसँगै समुदायमा प्रभाव भएको व्यक्तिलाई उम्मेदवार बनाउने हाम्रो पार्टीको निर्णय छ," राईले भनिन्।
निर्वाचनमा जित हासिल गर्न सक्ने सम्भावना पनि मूल्याङ्कन गरिने एकीकृत समाजवादीले जनाएको छ।
जसपालाई चाहियो सामाजिक काममा समर्पित
जनता समाजवादी पार्टीले पार्टीको सिद्धान्त र नीतिलाई आत्मसात् गर्ने, पार्टीमा सङ्गठित र सक्रिय तथा सामाजिक काममा समर्पित भएको हुनुपर्ने मापदण्ड बनाएको छ।
यो दलले स्वच्छ सामाजिक छवि भएको तथा निर्वाचनमा जीत हासिल गर्न सक्ने हुनुपर्ने सर्त राखेको छ।
सात बुँदे मापदण्डमा गाउँ, नगर र वडाको वस्तुस्थिति बुझेको र सुशासन प्रत्याभूति गर्न सक्ने सर्त समेत उल्लेख छ।
बैसाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख १२ गते मनोनयनको समय तोकेको छ।
टिकट दिने विधि के हो?
गठबन्धनमा सहभागी दलहरू र प्रतिपक्षी नेकपा एमालेको टिकट वितरणको प्रक्रिया समान देखिएको छ।
नेताहरूका अनुसार गठबन्धनले वडा तहका उम्मेदवारहरू स्थानीय तहकै पार्टी कमिटीहरूबाट गरिएको सिफारिसका आधारमा जिल्ला संयन्त्रबाट टुङ्गो लगाउने तय भएको छ।
एमालेले पनि स्थानीय सिफारिसका आधारमा जिल्ला कमिटीबाट वडाका उम्मेदवार गर्ने शाक्यले जानकारी दिइन्।
गठबन्धन र एमाले दुवै पक्षले गाउँपालिका र नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार प्रदेशबाट र महानगर र उपमहानगरका प्रमुख तथा उपप्रमुखका उम्मेदवार केन्द्रीय संयन्त्र वा पार्टी कमिटीबाट तय गर्ने नेताहरूले बताएका छन्।