श्रीलङ्का तनावः राष्ट्रपति राजपक्षको भवन बाहिर हिंसात्मक प्रदर्शन

श्रीलङ्का

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, अश्रु ग्यास प्रहारपछि प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरेका थिए

श्रीलङ्कामा चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावका विरुद्ध राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि त्यस क्षेत्रमा लागु गरिएको कर्फ्यू आदेश शुक्रवार बिहान हटाइएको छ।

बिहीवार आक्रोशित प्रदर्शनकारीहरूले त्यहाँ राखिएका छेकबारहरू भत्काउँदै अघि बढेका थिए। तिनीहरूमाथि राति एउटा बसमा आगो लगाएको आरोप समेत लगाइएको छ।

राष्ट्रपति गोटबय राजपक्षले ती हिंसात्मक घटनाहरूका लागि "उग्रपन्थी तत्त्व"हरूलाई दोष दिएका छन्।

श्रीलङ्का चरम विदेशी मुद्रा अभाव भएर सङ्कटपूर्ण अवस्थाको मध्यमा छ जुन सङ्कटले देशको अर्थतन्त्रलाई पङ्गु बनाइदिएको छ।

श्रीलङ्का

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, प्रदर्शनकारीहरूले बिहीवारको प्रदर्शनमा नाराबाजी गर्नुका साथै सडक छेउका सङ्केतहरू जलाइदिएका थिए

देशमा दैनिक १३ घण्टा लामो समयसम्म विद्युत कटौती हुने गरेको छ, इन्धनको अभाव छ, अत्यावश्यक खानेकुरा र औषधिको अभावका माझ जनताको आक्रोश नयाँ चरम विन्दुमा पुगेको छ।

राष्ट्रपति भवन अगाडि भएको विरोध प्रदर्शनको घटना शान्तिपूर्ण रूपमा आरम्भ भएको बताइएको छ।

तर प्रदर्शनकारीहरू भन्छन् प्रहरीले तिनीहरूमाथि अश्रु ग्यास, पानीको फोहोरा प्रहार गर्नुका साथै कुटपिट समेत गर्न थालेपछि अवस्था बिग्रिएको हो।

प्रदर्शनकारीहरूले बदलामा प्रहरीमाथि ढुङ्गामुढा गरेका बताइएको छ।

शुक्रवार बिहान प्रहरीले ४५ जनालाई गिरफ्तार गरेको तर कसैविरुद्ध कुनै अभियोग दर्ता नगरिएको जनाइएको छ।

कारण

यी विरोध प्रदर्शनहरू सन् २०१९मा स्थायित्व र "कडा व्यवहार" को प्रतिबद्धताका कारण अत्यधिक बहुमतका साथ सत्तामा पुगेका राष्ट्रपति राजपक्षको लोकप्रीयता एकाएक उल्टो दिशामा पुगेको संकेत हुन्।

आलोचकहरूले सरकारमा बढ्दो नातावाद र भ्रष्टाचारका घटनातर्फ ‌औंला उठाइरहेका थिए।

राष्ट्रपतिका दाजुभाइ र भतिजाहरूले देशको महत्त्वपूर्ण मन्त्रालयहरू ओगटेका छन्।

राष्ट्रपति र उनका मन्त्रीहरूले विद्युत कटौतीको सामना गर्नु नपर्ने भन्ने समाचार र तिनका पारिवारिक सदस्यहरूले धनको मनपरी प्रदर्शन गर्ने गरेको घटनाले जनतामाझ आक्रोश बढाइरहेको थियो।

सरकारले देशको हालको खराब अवस्थाका लागि कोरोनाभाइरस महामारीले पर्यटन उद्योगमा पारेको नराम्रो प्रभाव र सन् २०१९ मा इस्टर आइतबारका दिन देशका गिर्जाघरहरूमा श्रृङ्खलाबद्ध हमला भएपछि पर्यटक आगमनमा भएको उल्लेख्य कमी जस्ता कारण जिम्मेवार रहेको भन्ने गरेको छ।