साइबर अपराध गरेर करोडपति बनेको आरोप लागेका १६ वर्षीय किशोर

अक्सफर्ड

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, अक्सफर्ड

यूकेको प्रहरीले अक्सफर्डनिवासी एक १६ वर्षीय किशोरलाई साइबर अपराध समूहको एक नाइके भएको आरोप लगाएको छ।

प्रतिस्पर्धी ह्याकर तथा अध्ययनकर्ताहरूले पहिचान खुलाएका ती किशोरले ह्याकिङ गरेर एक करोड ४० लाख अमेरिकी डलर जम्मा गरेको बताइएको छ।

लन्डन प्रहरीले सात किशोरलाई ल्याप्सस$ (Lapsus$) नामक समूहको सदस्य भएको आशङ्कामा गिरफ्तार गरेको बताएको छ। तर उसले उनी तीमध्ये भए नभएको पुष्टि गर्न अस्वीकार गरेको छ।

ती किशोरका बुबाले बीबीसीलाई उनको कम्प्युटर प्रयोगले आफ्नो परिवार चिन्तित भएको र कम्प्युटरबाट टाढा राख्न प्रयास गरेको बताएका छन्।

इन्टरनेटमा आफ्नो नाम "ह्वाइट" वा "ब्रीचबेस" नाम राखेका ती किशोरलाई अटिजम छ। उनी दक्षिण अमेरिकामा आधारित भएको मानिएको चर्चित ल्याप्सस$ ह्याकिङ समूहमा संलग्न भएको मानिएको छ।

नयाँ भए पनि सो समूहले माइक्रोसफ्टजस्ता प्रमुख संस्थाको कम्प्युटर प्रणालीमा ह्याक गरेर त्यसबारे इन्टरनेटमा लेखेपछि चर्चित बनेको थियो।

ल्यापसस$ले माइक्रोसफ्टको प्रणालीलाई पनि ह्याक गरेको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, ल्याप्सस$ले माइक्रोसफ्टको प्रणालीलाई पनि ह्याक गरेको थियो

बीबीसीले कानुनी कारणले नाम उल्लेख गर्न नसक्ने ती बालक अक्सफर्डस्थित विशेष क्षमताका विद्यार्थीका विद्यालयमा अध्ययनरत छन्।

सिटी अफ लन्डन प्रहरीले भनेको छ: “१६ देखि २१ वर्षका सात जनालाई एउटा ह्याकिङ समूहको अनुसन्धानको सिलसिलामा गिरफ्तार गरिएको छ। तिनीहरू सबैलाई अनुसन्धानका क्रममा रिहाइ गरिएको छ। हाम्रो अनुसन्धान जारी छ।”

'खेलेको होला भन्ठानेँ'

ती किशोरका बुबाले भने: “मैले केही अघिसम्म यसबारेमा केही सुनेको थिइनँ। उसले कहिल्यै ह्याकिङबारे कुरा गरेन, तर उ कम्प्युटरमा राम्रो थियो र निकै समय बिताउँथ्यो। मैले सधैँ खेलेको होला भन्ठानेँ।”

“हामी अब उसलाई कम्प्युटरमा बस्नबाट रोक्ने प्रयास गर्छौँ।”

बीबीसीले ती किशोरको आमासँग पनि कुरा गरेको छ, तर उनले प्रतिक्रिया दिन अस्वीकार गरिन्।

आफ्ना ह्याकर साथीहरूसँग सम्बन्ध बिग्रिएपछि उनको परिचय खुलेको थियो। अन्य ह्याकरले उनको नाम, ठेगाना र सामाजिक सञ्जालका तस्बिरहरू सार्वजनिक गरेका थिए।

उनको गतिविधिका बारेमा पनि उनीहरूले लेखेका छन्। त्यसमा “केही वर्षमै उनले एक करोड ४० लाख अमेरिकी डलर बराबर जम्मा गरेको… र अहिले थुप्रै संस्था ह्याक गरेको ल्याप्सस$ नामक समूहमा आबद्ध छन्।”

साइबर सुरक्षा अध्ययनकर्ताहरूले पनि ह्वाइटलाई एक वर्षदेखि निगरानी गरिरहेको र उनलाई ल्याप्सस$ एवम् अन्य ह्याकिङ गतिविधिमा संलग्न भएको मानेका छन्।

सन् २०२१ मै साइबर सुरक्षा अध्ययनकर्ताहरूले उनको नाम पत्ता लगाएको र प्रहरीलाई जानकारी गराएको बताइएको छ।

साइबर सुरक्षा कम्पनी ओक्टा पनि ल्यापसस$को ह्याकिङमा परेको थियो

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, साइबर सुरक्षा कम्पनी ओक्टा पनि ल्याप्सस$को ह्याकिङमा परेको थियो

चर्चित ह्याकर समूह

ठूला संस्थाको प्रणालीमा ह्याक गरेको र टेलिग्राम एपमा समूह रहेका कारण छोटो समयमै ल्याप्सस$ समूह चर्चामा आएको थियो।

गत साता बुधवार टेलिग्राममा राखिएको सन्देशमा भनिएको छ: “हाम्रा केही सदस्यहरू सन् २०२२ मार्च ३० सम्म बिदामा छन्। हामी केही समयका लागि निष्क्रिय हुन सक्छौँ। हामीलाई बुझिदिएकोमा धन्यवाद – हामी छिटै नयाँ कुरा ल्याउन प्रयास गर्नेछौँ।”

साइबर सुरक्षा संस्था डिजिटल स्याडोका क्रिस मोर्गनका अनुसार ल्याप्सस$ले हालैका महिनामा केही प्रविधि कम्पनीहरूलाई लक्ष्य गरेर थुप्रै डेटा ह्याक गरेर इन्टरनेटमा राखेका कारण चर्चित भएको हो।

“समूहको उत्पत्तिका विषयमा कमै थाहा भए पनि सुरुका गतिविधि ब्रजिलमा संस्थाहरूप्रति लक्षित भएका कारण यो दक्षिण अमेरिकामा भएको मानिएको थियो,” उनले भने।

बुधवार माइक्रोसफ्टले सो समूहले आफ्नो प्रणालीमा थोरै पहुँच बनाएको बताएको छ।

सुरक्षा कम्पनी ओक्टाले पनि सो समूहले आफ्नो प्रणालीमा ह्याक गरेको र सयौँ ग्राहक प्रभावित भएको बताएको छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, साइबर अपराध: र्‍यान्समवेअर भनेको के हो?