नेपालको हुलाकले किन दुई वर्षदेखि विदेशमा चिठीपत्र पठाउन सकेन

हुलाक कार्यालय

तस्बिर स्रोत, Bijay Gajmer/BBC

अत्यावश्यक सेवामा पर्ने नेपालको हुलाकले विदेशका अधिकांश देशमा चिठी पुर्‍याउन छोडेको करिब दुई वर्ष भएको छ।

चिठी पत्र र पार्सल आदानप्रदानका लागि स्थापित एक मात्र सरकारी निकाय हुलाक सेवा विभागले अहिले मलेशिया र कतारबाहेक अरू देशमा चिठीपत्र र पार्सल पुर्‍याउन सकेको छैन।

सस्तोमा चिठीपत्र विदेश पठाउँदै आएको सरकारी निकायबाट सेवा ठप्पप्रायः हुँदा मानिसहरू महँगो शुल्क तिरेर निजी क्षेत्रबाट काम लिन बाध्य छन्।

कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा दुई वर्षअघिबाट अवरुद्ध भएको चिठीपत्र विदेश पुर्‍याउने कार्य फेरि सुरु गर्ने पहल भइरहेको अधिकारीहरूले बताएका छन्।

सूचना तथा सञ्चार मन्त्रालयका प्रवक्ता विनोद सिंहले वायुसेवा कम्पनीहरूसँग नयाँ सम्झौताका लागि गृहकार्य भइरहेको जानकारी दिए।

विदेशबाट नेपालमा चिठीपत्र र पार्सल आउने प्रक्रिया भने रोकिएको छैन। कोभिड सङ्क्रमण उच्च भएको समयमा प्रभावित भए पनि अहिले देशभित्र भने चिठीपत्र आदानप्रदानको काम रोकिएको छैन।

थाई वायुसेवाको उडान बन्द हुँदा समस्या

सञ्चार मन्त्रालय र हुलाक सेवा विभागका अनुसार कोभिड महामारी फैलिनुअघि चिठीपत्र लैजाँदै आएको थाई वायुसेवा कम्पनीले नेपालमा उठान बन्द गर्दा विदेशमा चिठी पठाउने प्रक्रिया प्रभावित भएको हो।

"कोभिडभन्दा अगाडि थाई एअरलाइन्सले हाम्रो सबै डाँक बोक्ने गरेको थियो। कोभिडको समयमा अन्तर्राष्ट्रिय हवाई उडानहरू बन्द भए। थाई एअरलाइन्सले कोभिडपछि पनि नेपालमा उडान सुरु गरेको छैन," हुलाक सेवा विभागका प्रवक्ता यज्ञराज भट्टले भने।

हुलाक सेवा

तस्बिर स्रोत, General Post Office

तस्बिरको क्याप्शन, फाइल तस्बिर

"थाईले उडान नगरेपछि विभागले नेपाल एअरलाइन्ससँग डाँक पठाउन प्रस्ताव गरेको थियो तर उसले पनि केही स्थानमा मात्र लैजाने कुरा आयो।"

थाई एअरलाइन्सभन्दा अघि चाहिँ नेपाल आउने सबै वायुसेवाले नेपालबाट चिठीपत्र लैजाने गरेका थिए।

अहिले नेपालको राष्ट्रिय ध्वजावाहक विमानले मलेशिया र कतारमा चिठीपत्र बोक्दै आएको छ।

यूएई र जापानमा पनि नेपाल वायुसेवामार्फत् चिठीपत्र पठाउने सहमति भएको छ। तर प्राविधिक कारणले ती देशमा हुलाक सेवा विभागले चिठीपत्र पुर्‍याउन नसकेको विभागका प्रवक्ता भट्टले जानकारी दिए।

पार्सलबाट उठ्ने राजस्व घटेर तीन करोडबाट एक लाख रुपैयाँ

हुलाकले द्रुत डाँक, पार्सल र चिठीपत्र गरेर तीन प्रकारका सेवाहरू दिँदै आएको छ।

विदेशमा पार्सल पुर्‍याएर वर्षमा तीन करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको हुलाकले यो आर्थिक वर्षको सात महिनामा जम्मा एक लाख राजस्व सङ्कलन गरेको छ।

कोभिड महामारीका कारण हुलाकले प्रदान गर्ने सेवा पनि प्रभावित भयो

तस्बिर स्रोत, General Post Office

तस्बिरको क्याप्शन, कोभिड महामारीका कारण हुलाकले प्रदान गर्ने सेवा पनि प्रभावित भयो

गोश्वारा हुलाक कार्यालय डिल्लीबजारको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा विदेशमा पठाइएका पार्सलबाट तीन करोड १५ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा पनि विदेशमा पार्सल पठाएर हुलाकले तीन करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो।

तर कोभिड महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय उडान बन्द हुँदा आर्थिक वर्ष २०७६/७७ मा विगत वर्षहरूको तुलनामा कम राजस्व सङ्कलन भयो। यो आर्थिक वर्ष हुलाकले विदेश पार्सल पठाएर दुई करोड २७ लाख रुपैयाँ सङ्कलन गरेको तथ्याङ्कमा उल्लेख छ।

विसं २०७७ को चैत्रबाट विदेशमा पार्सल पठाउने कार्य ठप्पप्रायः हुँदा यो आर्थिक वर्ष हुलाकले विदेशमा पार्सल पठाएर रु ३,१७८ मात्र सङ्कलन गरेको थियो।

चालु आर्थिक वर्षमा हुलाकले विदेशमा पार्सल पठाएर एक लाख सात हजार राजस्व सङ्कलन गरेको गोश्वारा हुलाक कार्यालयले जनाएको छ।

यस्तै एक्सप्रेस मेल सिस्टम (ईएमएस) भनिने द्रुत चिठीपत्र विदेश पुर्‍याएर हुलाकले आर्थिक वर्ष २०७५/७६ मा चार करोड ३० लाख रुपैयाँ सङ्कलन गरेकोमा यो आर्थिक वर्षको सात महिनामा मात्र चार लाख ४३ हजार सङ्कलन गरेको छ।

वैदेशिक ईमएस

तस्बिर स्रोत, General Post Office

गोश्वारा हुलाक कार्यालयका अनुसार नेपाल भित्रिने चिठीपत्र र पार्सलको सङ्ख्या पनि विगतको तुलनामा कोभिड महामारीपछि कम भएको छ। अन्तर्राष्ट्रिय उडानहरू प्रभावित हुँदा पछिल्ला दुई वर्ष आधाभन्दा कम चिठीपत्र र पार्सल नेपाल भित्रिएको तथ्याङ्क छ।

सन् २०१९ मा ६६ हजारवटा चिठीपत्र, ३९ हजारवटा ईएमएस र १४ हजारवटा पार्सल भित्रिएकोमा सन् २०२१ मा २० हजारवटा चिठीपत्र, १३ हजार ईएमएस र सात हजार पार्सल भित्रिएका छन्।

हुलाक कार्यालय

तस्बिर स्रोत, General Post Office

तस्बिरको क्याप्शन, फाइल तस्बिर

कहिलेबाट हुलाकले चिठीपत्र विदेश लैजान्छ

सञ्चार मन्त्रालयका प्रवक्ता विनोद सिंहले थाई एअरलाइन्ससँग सम्झौताको म्याद सकिएपछि अन्य विमानसेवा कम्पनीहरूसँग डाँक सेवा पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

"विश्वभरि सबैभन्दा धेरै गन्तव्यमा उडान गर्ने विमान कम्पनीहरूसँग पहल भइरहेको छ। विभागबाट पनि अनुरोध भएर आएको छ र हामीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग र सम्बन्धित विमानसेवासँग समन्वय गरिरहेका छौँ। अब केही दिनभित्रै हामी पूर्ववत् रूपमा डाँकहरू विश्वभरि पठाउनेगरी सम्झौता गर्छौँ," सिंहले भने।

इन्डियन एअरलाइन्समार्फत् भारतका केही गन्तव्यमा पठाउने पहल भए पनि नियमित हुन नसकेको अधिकारीहरू बताउँछन्।

नेपालको आफ्नै ध्वजावाहकमार्फत् पनि हुलाक सेवा विभाग र सञ्चार मन्त्रालयले चिठीपत्र विदेश पुर्‍याउन पहल गरेको दाबी गरे पनि निश्चित देशहरूमा मात्रै उडान भएका कारण नेपाल एअरलाइन्सले सबै देशमा डाँक पुर्‍याउन नसक्ने जानकारी दिएको प्रवक्ता सिंहले बताए।

"उहाँहरूको यहाँबाट जाने गन्तव्य पछि कनेक्टिङ फ्लाइट, लैजान सक्ने क्षमता, जनशक्ति र सञ्जाल नहुने भएकाले नेपाल वायुसेवा निगमबाट यो सम्भव भएन," सिंहले भने।

केही वर्षअघि गोश्वारा हुलाक कार्यालयले घुम्ती हुलाक सेवा पनि सुरु गरेको थियो

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, केही वर्षअघि गोश्वारा हुलाक कार्यालयले घुम्ती हुलाक सेवा पनि सुरु गरेको थियो

"अहिले नेपाल वायुसेवाको जहाज जहाँसम्म पुग्छ त्यहाँसम्म मात्र लैजाने कुरा आएकोले हामीले त्यस बाहेकका युरोप र अमेरिका लगायतका देशहरूमा पुर्‍याउनुपर्ने त्यत्तिकै आवश्यक छ त्यस कारण सम्भव भएन।"

अहिले विश्वका सबैभन्दा धेरै देशमा पहुँच भएका वायुसेवा कम्पनीहरूसँग सम्झौताका लागि छलफल भइरहेको अधिकारीहरू बताउँछन्।

हुलाक सेवा विभागका निर्देशक समेत रहेका भट्टले नयाँ वायुसेवा कम्पनीसँग सम्झौताको पहल भइरहेको र त्यसका लागि सूचना तथा सञ्चार मन्त्रालयमा विभागले प्रस्ताव पेस गरेको जानकारी दिए।

हुलाक कार्यालय

तस्बिर स्रोत, General Post Office

"हामीले यहाँ भएका अन्य विमान कम्पनीहरूसँग कुरा गरेर डाँक खोल्न लागेका छौँ। मन्त्रालयमा फाइल पनि पेस भइसकेको छ।"

"कतारसँग जीटूजी हुन्छ कि भन्ने छ अरू एअरलाइन्ससँग पनि हामी सम्पर्कमा छौँ," उनले भने।

"हुलाकको मुख्य काम नै डाँक ढुवानी भएकाले हामीलाई पनि एकदमै अप्ठेरो भएको छ। सेवा दिन सकेका छैनौँ। अब निकट भविष्यमा छिटै नै डाँक खोल्छौँ।"