बोतलमा चिठी हालेर हिन्द महासागरमा छोड्ने व्यक्ति ५० वर्षपछि फेला

पोल गिल्मोर

तस्बिर स्रोत, Paul Gilmore

तस्बिरको क्याप्शन, आफ्ना छोरा र साथीसँग पोल गिल्मोर (बीच)

पाँच दशकअघि एउटा बोतलमा लिखित सन्देश हालेर हिन्द महासागरमा छोड्ने व्यक्ति फेला परेका छन्।

सुरक्षित रूपमा भेटिएको सो पत्र लेख्दा पोल गिल्मोर १३ वर्षका थिए। सपरिवार यूकेबाट मेल्बर्न जाँदा पानीजहाजबाट उनले त्यो सन्देश समुद्रमा छोडेका थिए।

यही हप्ता मङ्गलवार सो सन्देश दक्षिण अस्ट्रेलियामा एक १३ वर्षीय बालकले भेटेका थिए। सन्देश भएको बोतल भेट्दा ज्या एलिअट आफ्ना बुवासँग माछा मार्न गएका थिए।

पत्र छोड्दा त्यसको उत्तर पाउने अपेक्षा आफूले सधैँ राखेको गिल्मोरले बीबीसीलाई बताए।

सन् १९६९ नोभेम्बर १७ मा पत्रमा उनले आफू फेअरस्टार जहाजबाट अस्ट्रेलिया जाँदै गरेको र फ्रिमेन्टलबाट एक हजार माइल टाढा भएको उल्लेख गरेका छन्।

पत्रमा त्यो जसले भेटे पनि जबाफ पठाउन उनले आग्रह गरेका थिए।

पत्र लेख्दा गिल्मोर १३ वर्षका थिए

तस्बिर स्रोत, Carla Elliott via ABC

तस्बिरको क्याप्शन, पत्र लेख्दा गिल्मोर १३ वर्षका थिए

गिल्मोर भन्छन्, "ती पत्रहरू मैले कसरी पठाएको थिएँ भन्ने म अहिले पनि सम्झन्छु। मेरा लागि ती महत्त्वपूर्ण थिए - विश्वको अर्को भागको यात्राको अङ्गका रूपमा।"

"यात्रासम्बन्धी कथा, रबिन्सन क्रुसो र अरू पनि पढ्न मलाई मन पर्थ्यो। कुनै सुन्दर केटीले कुनै रमणीय टापुमा यो भेट्लिन् भन्ने मलाई लाग्थ्यो," उनी भन्छन्।

गिल्मोर सन् १९७३ मा यूके फर्किए र आफ्नो अध्ययन पूरा गरे। त्यसपछि उनले युरोप र मध्यपूर्वमा अङ्ग्रेजी पढाए।

उनी भन्छन्, "मलाई यात्रा गर्न मन पर्छ। म त्यतिबेलादेखि नै सधैँ कुन न कुनै रूपमा यात्रा गरिरहेको छु।"

ज्याले माछा मार्न लाग्दा गिल्मोरले लेखेको पत्र भेटेका हुन्

तस्बिर स्रोत, Carla Elliott via ABC

तस्बिरको क्याप्शन, ज्या एलिअटले माछा मार्न लाग्दा गिल्मोरले लेखेको पत्र भेटेका हुन्
Presentational grey line

ज्या एलिअटले एहर प्राय:द्वीपमा त्यो सन्देश भएको बोतल भेटेका हुन्।

"पहिला ज्याले त्यो लिएर आउँदा मैले फाल्तु कुरा होला भन्ठानेको थिएँ," उनका बुवा पोल एलिअटले एबीसी टीभीलाई भने।

त्यो लिखित सन्देशको संरक्षण गर्न उनीहरूले बोतल फुटाए।

ज्याले गिल्मोरलाई पत्र लेख्ने विचार गरेका छन्। गिल्मोर भने यतिबेला बिदा मनाउन समुद्री यात्रामा गएका छन्।

बिदाबाट घर फर्किएपछि गिल्मोरले एलिअटलाई सम्पर्क गर्ने सम्भावना भएको उनको परिवारले एबीसीलाई बतायो।

गर वर्ष पर्थमा १३१ वर्षअघि समुद्रमा छोडिएको लिखित सन्देश भेटिएको थियो।

विज्ञहरूले पछि त्यो पत्र जर्मन पानीजहाजबाट छोडिएको पुष्टि गरेका थिए।