भारत: हजारौँ चिठी वितरण नगरी थुपार्ने हुलाकी

तस्बिर स्रोत, Getty Images
भारतमा एक हुलाक कर्मचारीलाई १० वर्षभन्दा पनि बढी समयसम्म हजारौँ चिठीपत्र वितरण नगरेको पाइएपछि निलम्बन गरिएको छ।
पूर्वी भारतको उडिसा राज्यस्थति ओढङ्गा गाउँका ती हुलाकीले चिठीपत्रहरू नबाँडी त्यत्तिकै थुपारेर राखेका थिए।
भरखरै विद्यार्थीहरूको एउटा समूहले पुरानो हुलाक कार्यालयमा खेल्दै गर्दा संयोगवश पुराना चिठी र पुलिन्दाहरू भेटेपछि त्यसबारे हुलाक सेवाले पत्तो पाएको हो।
हुलाक नयाँ ठाउँमा सरेपछि पुरानो कार्यालयमा खेल्न गएका केटाकेटीहरूले ठूला पोकाबाट पत्रहरू निस्किराखेको देखेपछि खोलेर हेर्दा तिनमा एटीएम कार्ड, ब्याङ्कका कागजपत्र आदि भेटिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
उनीहरूले त्यसबारे आफ्ना अभिभावकलाई बताए र अन्तत: सम्बन्धित निकायसम्म जानकारी पुग्यो।
हिन्दूस्तान टाइम्सका अनुसार त्यहाँ सन् २००४ देखि पठाइएका छ हजार पत्र र पुलिन्दा थिए।
अधिकांश चिठीपत्रहरू बिग्रिएका वा धमिराले खाएका भएपनि १५ सय जतिलाई छानेर निकालिएको छ।
अल्छी कि चतुर?
ती हुलाकीले चिठीपत्र पुर्याउन अल्छी गरेको देखिएको छ। तर उनले चतुर्याइँपूर्वक काम गरेका थिए।

तस्बिर स्रोत, Getty Images
अधिकारीहरूका अनुसार प्रेषकले सोधखोज गर्ने हुँदा रजिस्ट्री गरिएका वा द्रूत डाँकबाट पठाइएका सामग्री भने ती हुलाकीले समयमै वितरण गरिदिने गरेका थिए।
त्यसो हुँदा सामान्य चिठीपत्र भने भण्डारमा थन्किने र प्रापकको हातमा नपुग्ने सम्भावना बढी हुन्थ्यो।
ती हुलाकीले किन त्यसो गरे भन्ने चाहिँ स्पष्ट भइसकेको छैन।
तर उनले केही वर्षदेखि आफू राम्ररी हिँड्न नसक्ने भएकाले चिठीपत्र वितरण नगरेको भनेर स्पष्टोक्ति दिएको हिन्दूस्तान टाइम्सले जनाएको छ।
छानबिन गर्न खटिएका अधिकारीहरूले स्थानीय बासिन्दाले उजुर नगरेकोमा आफूहरू छक्क परेको बताएका छन्।
राम्रो स्थितिमा हरेका पत्रहरूलाई ढिलै भए पनि वितरण गरिने भएको छ।
"सन् २०११ मा भारतीय नौसेनाले आवेदन दिएका एक स्थानीय युवालाई पठाएको पत्र म आफैले देखेँ," इन्डिएन एक्स्प्रेस समाचारपत्रले अनुसन्धानमा खटिएका हुलाकका एक कर्मचारीलाई उद्धृत गरेको छ।








