युक्रेन युद्ध: भारतीय डाक्टर जो युक्रेनमा ज्यागुआर र प्यान्थरसँग फसेका छन्

आफ्ना बिरालोहरूसँग पाटिल।

एक साताभन्दा बढी समयदेखि युद्धग्रस्त युक्रेनस्थित आफ्नै घरको भूमिगत कोठामा एक भारतीय डाक्टर ठूला जङ्गली बिराला प्रजातिका आफ्ना पाल्तु जनावरहरू- ब्ल्याक प्यान्थर र ज्यागुआरसँगै फसेका छन्।

गिरीकुमार पाटिलले आफूले किएभ चिडियाखानाबाट किनेको ती दुई जनावरबिना त्यहाँबाट निस्केर अन्यत्र नजाने बताएका छन्।

उनी पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रहेको सानो सहर सेभेरोडोनेत्स्कमा छ वर्षभन्दा बढी समयदेखि बस्दै आएका छन्।

युद्ध सुरु भएदेखि गिरीकुमार आफ्नो साँघुरो कोठाबाट हरेक दिन सबेरै एक पटक कर्फ्यु हट्दा बाहिर निस्कन्छन्, त्यो पनि आफ्ना जनावरहरू- २० महिने भाले ज्यागुआर र छ महिने पोथी प्यान्थरको लागि खाना किन्न।

आफूसँग भएको ज्यागुआर भाले चितुवा र पोथी ज्यागुआर बीचको दुर्लभ ठिमाहा भएको उनको भनाइ छ।

हाल आफूले छिमेकी गाउँहरूबाट २३ किलो भेडा, टर्की र कुखुराको मासु सामान्य अवस्थामा भन्दा चार गुना बढी मूल्य तिरेर किनेको गिरीकुमार बताउँछन्।

"मेरा ठूला जनावरहरू मसँगै बेसमेन्ट कोठामा रात बिताइरहेका छन्। हाम्रो वरपर थुप्रै बम विस्फोट भइरहेका छन्। विस्फोटको आवाजबाट यी जनावरहरू डराउँछन्। तिनीहरूले आहारा पनि कम खाइरहेका छन्। म तिनीहरूलाई छोड्न सक्दिनँ," ४० वर्षीय पाटिलले बीबीसीसँग भने।

"यो मैले भोगेको दोस्रो युद्ध हो। तर यो निकै डरलाग्दो छ।"

यसअघि आफू लुहान्स्कमा बस्दै आएको उनले बताए। त्यहाँ रुसले समर्थन गरेको विद्रोहीहरूले युद्धविराम सम्झौताका बावजुद सन् २०१४ देखि युक्रेनी सेनासँग लडिरहेका छन्।

त्यस क्षेत्रमा भएको लडाइँका क्रममा आफ्नो घर र आफूले खोलेको भारतीय रेष्टुराँ ध्वस्त भएको उनले बताए।

सेनाहरू।

तस्बिर स्रोत, Getty Images

त्यसपछि उनी लगभग एक सय किलोमिटर टाढा सेभेरोडोनेत्स्क बसाइँ सरेका हुन्। त्यहाँ उनले नयाँ घर किने। चिकित्सा अभ्यास गर्न थाले र घरमा पाल्नलाई यी नयाँ जनावरहरू किने।

"अहिले म युद्ध क्षेत्रमा फसेको छु। यस पटक म साँच्चै चिन्तित छु। मेरा आमाबाबुले मलाई फोन गरेर घर बोलाइ रहनुभएको छ, तर म मेरा जनावरहरूलाई छोड्न सक्दिनँ," पाटिलले भने।

दक्षिण भारतीय राज्य आन्ध्र प्रदेशका पाटिलले करिब २० महिनाअघि किएभ चिडियाखानाबाट प्यान्थर र ज्यागुआर किन्न ३५,००० डलर खर्च गरेको बताए।

उनका अनुसार खरिदकर्तासँग "जनावरलाई राख्न पर्याप्त ठाउँ भएको अवस्थामा चिडियाखानाले व्यक्तिलाई निजीस्तरमा जनावरहरू खरिद गर्न दिन्छ" पाटिलले चिडियाखानाले प्रदान गरेको ती ठूला बिराला प्रजातिका जनावरहरूको जन्मदर्ता प्रमाणपत्र देखाउँदै भने।

जगुआरसँग पाटिल।

तस्बिर स्रोत, Girikumar Patil

उन आफू सन् २००७ मा चिकित्सा शास्त्र पढ्न युक्रेन आएको बताए। उनी सन् २०१४ देखि हाडजोर्नीसम्बन्धी उपचार गर्ने अर्थोपेडिक चिकित्सकका रूपमा अभ्यास गरिरहेका छन् र हाल एक सरकारी अस्पतालमा कार्यरत छन्।

सेभेरोडोनेत्स्कस्थित उक्त अस्पताल युद्ध सुरु भएपछि बन्द छ। आफूले निजीस्तरमा पनि बिरामी हेर्ने काम गर्ने गरेको उनले बताए।

सेभेरोडोनेत्स्कमा पाटिल जनावरहरूका लागि बनाइएको सानो खोरसहित छ कोठा भएको दुई तले घरमा बस्छन्। उनीसँग थप तीन वटा कुकुर पनि छ।

उनी आफ्नो कमाइको अधिकांश रकम आफ्ना जनावरहरूका लागि खर्चने बताउँछन्। थप रकम ८५,००० सब्सक्राइबर भएको आफ्नो यूट्यूब च्यानलमार्फत् जुटाउने प्रयास गर्ने उनी बताउँछन्। च्यानलमा उनी जनावरहरूकै भिडिओहरू राख्ने गर्छन्।

"मलाई मन पर्ने दक्षिण भारतीय अभिनेता चिरञ्जीवीलाई फिल्ममा चितुवाहरूसँग देखेदेखि म ठूला बिराला प्रजातिका जनावरहरूप्रति आकर्षित भएको हुँ," उनले भने।

पाटिल र प्यान्थर।

ब्याङ्कमा व्यवस्थापकको काम गर्ने बुबा र शिक्षिका आमाको छोरा पाटिल, आफू सधैँ "जनावरप्रेमी" भएको र घरमा कुकुर, बिरालासँगै चरा पाल्दै आएको बताउँछन्।

उच्च माध्यमिक तह र स्नातक तहको अध्ययनपछि पाटिलले तेलुगु भाषाका केही टेलिचलचित्रहरूमा अभिनय पनि गरेका थिए।

युक्रेनमा पनि आफूले आधा दर्जन स्थानीय चलचित्र र टेलिशृङ्खलामा 'विदेशी' पात्रको भूमिका निर्वाह गरेको उनले बताए।

उनको घरबाट रुससँगको सिमाना ८० किलोमिटर पर मात्रै छ, तर रुसी सेनाका कारण त्यहाँ पुग्न कठिन भएको उनले सुनाए।

उनको टोलमा बेलाबेलामा बिजुली र इन्टरनेट बन्द हुन्छ, तर पनि उनी नियमित रूपमा सामाजिक सञ्जालमार्फत् भिडिओहरू साझा गरिरहेका छन्।

"म यहाँ एक मात्र भारतीय हुँ। रातमा त म एक्लै हुन्छु। मेरा धेरैजसो छिमेकीहरू नजिकैका गाउँहरूमा गइसकेका छन्। म यतै बस्नेवाला छु," उनले भने।

भिडिओ क्याप्शन सुरु हुँदैछ, युद्धको अग्रमोर्चामा युक्रेनी सैनिक जोडीको बिहे
Presentational grey line

युक्रेनमाथि रुसको आक्रमणः थप सामग्री

Presentational grey line