२०० कप कफी बनाउन पुग्ने क्याफीन सेवन गर्दा मृत्यु

कफी

तस्बिर स्रोत, Getty Images

दुई सय कप कफी बनाउन पुग्ने क्याफीन पाउडर सेवन गरेपछि एक व्यक्तिको ज्यान गएको मृत्युपछि गरिएको कानुनी अनुसन्धानमा खुलेको छ। उनी शारीरिक व्यायामका प्रशिक्षक थिए।

घरको भान्सामा प्रयोग गर्नका लागि राखिएको पाउडरको हिसाब गर्दा टम म्यान्स्फील्डले गल्ती गरेका थिए। उनका दुई सन्तान छन्।

सन् २०२१ को ज्यानुअरी ५ तारिखमा अत्यधिक मात्रामा क्याफीन सेवन गरेलगत्तै वेल्सको उत्तरी तट कोल्वीन बेमा बसोबास गर्ने २९ वर्षीय म्यान्स्फील्ड गम्भीर बिरामी परेको अनुसन्धानबाट देखिएको हो।

अनुसन्धानकर्ता जोन गिटिन्सले दुर्घटना भएको निष्कर्ष निकाल्दै क्याफीनको विषाक्तताका कारण ती व्यक्तिको ज्यान गएको बताए।

सिफारिस

व्यायामशाला जाने जाने कतिपय मानिसहरू क्याफीन सेवन गर्छन्। निश्चित मात्रा क्याफीन सेवन गर्दा खेलकुदमा राम्रो प्रदर्शन गर्न सकिने सिफारिस शारीरिक तन्दुरुस्तीसम्बन्धी वेबसाइटले गर्ने गरेका छन्।

यद्यपि विज्ञहरू सिफारिस गरिएकोभन्दा बढी सेवन गर्ने जोखिम हुने गरेको भन्दै चेतावनी दिन्छन्।

मङ्गलवार सुनुवाइका क्रममा बताइएअनुसार क्याफीन पाउडर सेवन गरेपछि म्यान्स्फील्डले आफ्नो छाती थिच्न थालेको र उनको मुटुको ढुकढुकी बढ्न थालेको बताएका थिए।

त्यसका केही मिनेटपछि उनी पल्टे र मुखबाट फिँज निकाल्न थाले।

त्यसपछि उनकी श्रीमती सुजेनले छिमेकी र परिवारलाई भनिन् अनि एम्बुलेन्स बोलाइन्।

क्याफीन पाउडर

तस्बिर स्रोत, Getty Images

पारामेडिकहरूले ४५ मिनेटसम्म उनलाई बचाउने प्रयत्न गरे। तर पछि ग्लान कुलिड अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो।

म्यान्स्फील्डले प्रयोग गर्ने उपकरणले दुई ग्रामदेखि ५,००० ग्रामसम्म तौल गर्न सक्थ्यो जबकि उनले ६० देखि ३०० मिलिग्राम जोख्न खोजिरहेका थिए।

गलत गणनाका कारण उनले अत्यधिक मात्रामा क्याफीन पाउडर सेवन गर्न पुगे।

म्यान्स्फील्डले ब्ल्याकबर्न डिस्ट्रीब्यूशन्सबाट १०० ग्राम बराबरको क्याफीन पाउडरको ब्याग खरिद गरेको सुनुवाइमा खुलेको थियो।

शवपरीक्षण गर्दा म्यान्स्फील्डको रगतमा क्याफीनको तह ३२९ मिलिग्राम प्रतिलिटर थियो।

कसैले एक कप फिल्टर कफी सेवन गरेको छ भने रगतमा क्याफिनको मात्रा प्रायः दुईदेखि चार मिलिग्राम प्रतिलिटर मात्र हुन्छ।

यो पनि हेर्नुहोस्

भिडिओ क्याप्शन सुरु हुँदैछ, खेर जाने कफीको धुलोबाट चस्मा