कफी: 'बेफाइदा भन्दा फाइदा धेरै'

कफी

तस्बिर स्रोत, Getty Images

एउटा नयाँ अध्ययनले ठिक्क मात्रामा कफी पिउँदा त्यसले गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने देखाएको छ।

ब्रिटिश मेडिकल जर्नलमा छापिएको उक्त अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ।

तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्।

कफी नपिउनेको तुलनामा कफी पिउनेमा हृदयघात र मस्तिष्कघात जस्ता स्वास्थ्य समस्या हुने सम्भावना कम रहेको उल्लेख गरिएको छ।

गर्भवती अवस्थामा कफी पिउनु भने जोखिमपूर्ण हुनसक्ने निचोड उक्त समीक्षाको छ।

अनुसन्धानकर्ताहरुले मानिसहरुलाई रोगबाट बच्न कफी सेवन नगर्न सुझाव दिएका छन् र आफूले पिउने कफीमा क्रिम र केक नमिसाउन भनेका छन्।

के कफी नै कारण हो?

कफी नपिउने मानिसका तुलनामा दिनको लगभग तीन कप कफी पिउने मानिसहरुमा मुटुसम्बन्धी समस्याहरु कम देखिने वा त्यससम्बन्धी रोगका कारण कम मृत्यु हुने गरेको जस्तो देखिन्छ।

कफी पिउनुको सबैभन्दा ठूलो फाइदा चाहिँ कलेजोसम्बन्धी रोग अनि क्यान्सरको कम जोखिम देखिएको छ।

तर उक्त अध्ययनका सह-लेखक तथा युनिभर्सिटी अफ साउद ह्याम्पटनका प्राध्यापक पउल रोड्रिक भन्छन् कफी सेवन गरेकै कारण त्यस्तो भएको हो भनेर पुष्टि गर्न नसकिएको बताए।

कफी

तस्बिर स्रोत, Getty Images

उनी भन्छन्, "उमेर, धूमपानको सेवन, व्यायाम जस्ता अरु कुराहरुले पनि प्रभाव पारेको हुनसक्छ।"

उनका अनुसार ठिक्क मात्रामा कफी सेवन गर्नुको फाइदा बेफाइदा भन्दा धेरै छन्।

ब्रिटेनको स्वास्थ्यसम्बन्धी निकाय एनएचएसले गर्भवती महिलाले दिनको २०० मिलिग्रामभन्दा बढी क्याफीन पिउन नहुने बताएको छ।

बढी कफी सेवन गर्दा महिलाहरुमा गर्भपातको जोखिम हुने उसको भनाइ छ।

अनुसन्धान

त्यसबाहेक हड्डी कमजोर भएका महिलाहरुलाई पनि कफीको मात्रा कम गर्न उक्त अध्ययनले सुझाव दिएको छ।

अनुसन्धानकर्ताहरुले कफी पिउनेहरुलाई स्वस्थ्य रुपमा कफी खान सुझाव दिंखै बढी चिनी नहाल्न, दूध वा क्रिम अनि चिल्लो पदार्थको मिश्रण सकेसम्म कम गर्न सुझाव दिएका छन्।

कफी

तस्बिर स्रोत, Getty Images

उनीहरुले कफीका सम्भावित स्वास्थ्य फाइदाबारे थप अनुसन्धान गरिनुपर्ने बताएका छन्।

उक्त समीक्षाबारे प्रतिक्रिया दिंदै जन होपकिन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थका इलिसियो ग्वालरले बढी कफी सेवनका प्रभावबारे अझै अनिश्चितता रहेको बताएका छन्।

उनी भन्छन्, "ठिक्क मात्रामा कफी पिउनु सुरक्षित नै देखिन्छ र यसलाई वयस्क मानिसहरुले आफ्नो सुरक्षित आहराको अंगका रुपम लिनसक्छन्।"