क्यानडा प्रदर्शन: ट्रक चालकहरूको अवरोधमाझ राजधानी ओटावामा सङ्कटकाल घोषणा

तस्बिर स्रोत, Getty Images
क्यानडाको राजधानी सहरका मेयरले एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकहरूले गरेको प्रदर्शन जारी रहँदा त्यहाँ आपत्काल घोषणा गरेका छन्।
ओटावाका मेयर जीम वाट्सनले 'सहर पूर्णरूपमा नियन्त्रणबाहिर गएको' बताए।
'फ्रिडम कन्भोई' भनिएको प्रदर्शन ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य पार्ने सरकारी नियमसँगै सुरु भएको थियो।
ओटावाका मेयरले के भने?
क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीहरूले बढ्दो रूपमा 'असंवेदनशील व्यवहार' गरेको बताए।
प्रदर्शनकारीहरूले तारम्तार हर्न र साइरन बजाउने र पटाका पड्काउने काम गरेर त्यसलाई 'पार्टीजस्तो गरेको' आरोप लगाए।
उनले आफूहरू प्रदर्शनकारीभन्दा कम भइरहँदा 'लडाई हारिरहेको' बताए।

तस्बिर स्रोत, Getty Images
वाट्सनले भने, "यो समाधान हुनुपर्छ। हामीले हाम्रो शहर पुरानै स्वरूपमा ल्याउनुपर्छ।"
एउटा विज्ञप्तिमा उनले ती प्रदर्शनहरूले शहरका बासिन्दाको सुरक्षामा असर पुर्याएको बताएका छन्।
अवरोध
ट्रक ड्राइभरहरूले सडकमा टेन्ट र गाडीहरू राखेर अवरोध सिर्जना गरेका छन्।
मेयरले अब सहरमा के गरिनेछ भन्ने स्पष्ट विवरण दिएका छैनन्।
तर प्रहरीले उनीहरूले कानुन कार्यान्वयनका उपाय बढाउने क्रममा प्रदर्शनकारीहरूलाई सघाइरहेकालाई गिरफ्तार गर्न सक्ने जनाएको छ।

तस्बिर स्रोत, Getty Images
आपत्कालीन अवस्थाले अग्रमोर्चा र आपत्कालीन सेवाका कर्मचारीहरूलाई आवश्यक सामान आपूर्तिका लागि सहरलाई थप शक्तिहरू प्रदान गर्नेछ।
चिन्ता
प्राप्त उजुरीमा ट्राफिक व्यवस्था अस्तव्यस्त पार्नेदेखि हिंसा र दुर्व्यवहारका चिन्तासम्म छन्।
प्रहरीले उक्त प्रदर्शनले अतिवादी मतलाई आकर्षित गरिराखेकोमा आफूहरू चिन्तित बनेको बताएको छ।
क्यानडाका एक लाख २० हजार सीमा वारपार गर्ने ट्रक चालकमध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्।
सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको प्रदर्शनमा अन्य मागहरू पनि थपिएका छन्।









