नेपालको पूर्वी सीमामा भारतबाट ल्याइएको विस्फोटक पदार्थ बरामद, कसले र किन ल्याएको हुनसक्छ

तस्बिर स्रोत, COURTESY : APF
- Author, उमाकान्त खनाल
- Role, झापा
नेपालको पूर्वी सीमाबाट दुई पटक बरामद भएका विस्फोटक पदार्थ निकै घातक रहेको सुरक्षाकर्मीहरूले बताएका छन्।
विस्फोटन गर्न मिल्ने उपकरण वा बम बनाउन प्रयोग हुने डेटोनेटरसहित अन्य सामग्रीबाट ठूलो मानवीय क्षति हुनसक्ने सुरक्षानिकायको आकलन छ।
तर त्यस्ता पदार्थ बरामद हुँदा पनि नेपालमा गहिरो अनुसन्धान हुने नगरेको सुरक्षाविज्ञहरू बताउँछन्।
चुनावको मिति घोषणा हुन लाग्दा यस्ता घटना हुनुलाई सामान्य रूपमा लिन नसकिने सेवानिवृत्त एक प्रहरी अधिकारीको भनाइ छ।
विस्फोटक पदार्थ कति भेटिए?
गत माघ १८ गते नेपाल-भारत सीमानजिक बालुवा खोस्रेर गाडेको अवस्थामा सशस्त्र प्रहरीले ८० वटा डेटोनेटर र ९१ वटा नेपोलाइटजस्तो देखिने विस्फोटक पदार्थ बरामद गर्यो।
भारतबाट आएका एक व्यक्तिले एक विद्युतीय रिक्साका चालकलाई 'ई-रिक्साको ब्याट्री' भन्दै १,००० रुपैयाँ दिएर उक्त सामग्री नेपाल पठाएको बताइएको छ।
शङ्का लागेपछि ती चालकले सशस्त्र प्रहरीलाई खबर गरे र प्रहरीले उक्त परिमाणको वस्तु फेला पारेर सार्वजनिक गर्यो।
शुक्रवार पनि सशस्त्र प्रहरीले नै झापाको सीमावर्ती मेचीनगर नगरपालिका वार्ड नं २ बाहुनडाँगीमा एउटा अटोरिक्साबाट भरुवा बन्दुक बनाउन प्रयोग हुने सातवटा फलामको पाइप, ३.५ केजी बारुद बनाउन प्रयोग हुने गन्धक र ६० किलो बारुद बनाउन प्रयोग हुने सोडा बरामद गर्यो।
डेटोनेटर र नेपोलाइटजस्तो देखिने वस्तु भित्र्याउनेलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।
शुक्रवार अटोरिक्सामा घातक विस्फोटक पदार्थ भित्र्याउने तेह्रथुम बस्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
सशस्त्र प्रहरीको २ नं गण भद्रपुरका प्रमुख प्रहरी उपरीक्षक प्रदीप कार्कीका अनुसार अहिले सबै घटनाबारे नेपाल प्रहरीले अनुसन्धान गरिरहेको छ।
कतिको घातक हुन् ती पदार्थ ?
गत माघ १८ गते बरामद भएका सामग्रीहरूको प्रयोगशाला परीक्षणका काठमाण्डू पठाइएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक कार्कीले बताए।
उनका अनुसार ती सामान हेर्दा निकै घातक छन्।
कार्कीले भने, "ती विस्फोटक पदार्थको परिमाण र प्रकृति हेर्दा करिब ८० वटा बम बन्ने देखिन्छन्।"
सुरक्षाको दृष्टिले ती सामान निकै संवेदनशील रहेको सुरक्षाकर्मीको भनाइ छ।

तस्बिर स्रोत, COURTESY: APF
शुक्रवार बरामद भएका सामान पहाडी जिल्लाका "जनजाति समुदायका मानिसले" निजी प्रयोजनका लागि प्रयोग गर्ने गरेको जस्तो पनि देखिने सुरक्षा अधिकारी बताउँछन्।
"शुक्रवार बाहुनडाँगीबाट बरामद गरिएका सामान पहाडमा सिकार खेल्नका लागि प्रयोग गर्न भनेर ल्याएको देखिन्छ," जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षकले भने।
तर ती सामान "मानवसंहार" का लागि पनि प्रयोग हुनसक्ने भएकाले घातक रहेको उनको विश्लेषण छ।
माघ १८ गते बरामद भएका पदार्थ गण्डकी प्रदेशतिर र शुक्रवार भेटिएका वस्तु प्रदेश १ का पहाडी जिल्लामा लैजानका लागि ल्याइएको अहिलेसम्मको अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ।
आसन्न निर्वाचनअगाडि कस्तो व्यवस्था
नेपालमा स्थानीय तहको चुनावको मिति तोक्न लागिएको अवस्थामा सीमा क्षेत्रबाट विस्फोटक पदार्थ बरामद हुनुले सुरक्षा संवेदनशीलता बढाएको सुरक्षाकर्मीहरूको विश्लेषण छ।
नेपाल-भारतबीच खुल्ला सिमाना रहेका कारण कुनै न कुनै बेला त्यस्ता सामान नेपाल भित्रिन सक्ने भन्दै सीमा क्षेत्रका सशस्त्र प्रहरीका बीओपीमा तैनाथ सशस्त्र प्रहरीलाई गस्ती जारी राख्न मुख्यालयले आदेश दिएको सशस्त्र प्रहरीका अधिकारीहरूको भनाइ छ।
सशस्त्र प्रहरी उपरीक्षक कार्कीका अनुसार सीमामा सुरक्षा संवेदनशीलता रहेकै कारण अब अझ सुरक्षा तैनाथी बढाउनुपर्ने अवस्था छ।
"खुल्ला सीमा भएकाले जसले पनि जुनसुकै बेला त्यस्ता सामान ल्याउँदा सुरक्षा संवेदनशीलता बढ्छ नै," उनले भने।
निर्वाचनको मिति सार्वजनिक गर्ने तयारी चलिरहँदा त्यस्ता विस्फोटक पदार्थ भेटिनु कतै "चुनाव बिथोल्न खोज्नेहरूको काम हो कि" भन्ने कोणबाट पनि विश्लेषण गरिएको सुरक्षा अधिकारीहरू बताउँछन्।
तर प्रारम्भिक अनुसन्धानमा त्यस्तो नदेखिएको झापाका प्रहरी प्रवक्ता वसन्त पाठकले बताए।
उनले भने, "पक्राउ पर्नेहरूले 'सेफ ल्यान्डिङ'का लागि बयान दिएको जस्तो पनि लाग्छ। तर हामी सूक्ष्म अनुसन्धान गरिरहेका छौँ।"
अरू कसको संलग्नता हुनसक्छ
गत माघ ९ गते झापाको बिर्तामोडमा एकाबिहानै एउटा प्रेसर कुकर बमजस्तो वस्तु भेटियो। स्थानीयवासीले त्यसबारे प्रहरीलाई खबर गरे।
सेनाले निष्क्रिय पारेको उक्त वस्तुमा बम बनाउन प्रयोग हुने पदार्थ भेटिएको नेपाली सेनाका एक अधिकारीले बताए।
सोही वस्तु भेटिएको स्थानमा हिमाल सुरक्षा परिषद्को नामको पर्चा पनि प्रहरीले फेला पारेको थियो।
उक्त पर्चामा नेपाललाई हिन्दूराज्य कायम गरिनुपर्ने, सङ्घीयता खारेज गरिनु पर्नेलगायतका कुरा उल्लेख थियो।
त्यसको केही दिनपछि दमकमा पनि बमजस्तो देखिने वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको थियो। नेपाली सेनाका अनुसार तर त्यो नक्कली बम थियो।
तर अहिलेसम्म अनुसन्धानले ती विस्फोटक पदार्थ नेपाल भित्र्याउनमा हिन्दूवादी सङ्गठनहरूको हात नरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापाका प्रहरी प्रवक्ता पाठकले भने, "अहिलेसम्म त्यस्तो साँठगाँठ देखिएको छैन। तर हामी अझै बुझ्दैछौँ।"
के भन्छन् सुरक्षाविज्ञ
नेपाल-भारत सीमा क्षेत्रबाट बरामद हुने विस्फोटक पदार्थ किन र कसरी नेपाल आउँछ भन्ने विषयको गहन अध्ययन हुने नगरेको सुरक्षाविज्ञ तथा भूतपूर्व प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारी बताउँछन्।
उनका अनुसार चुनावनजिक यस्ता गतिविधि "चुनाव बिथोल्न चाहने समूहले गरेको हुनसक्ने" सम्भावना रहन्छ।
"नेपाल-भारत सीमा क्षेत्रबाट बरामद हुने गरेका त्यस्ता विस्फोटक पदार्थ भित्र्याउने को हो र किन भित्र्याएको हो भन्ने अध्ययन गहिरो गरी नेपालमा हुने गरेकै छैन," उनले भने।
पूर्वी सीमाबाट अहिले बरामद भएका विस्फोटक पदार्थ धेरै हानि पुर्याउने खालको रहेका उनको तर्क छ।
उनी भन्छन्, "यी सरल तरिकाले हेरिने घटना हुँदै होइनन्।"








