तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिरिया द्वन्द्व: 'योजनाबद्ध' अमेरिकी कारबाहीमा इस्लामिक स्टेटका वरिष्ठ नेता मारिए
उत्तरी सिरियामा अमेरिकाले गरेको एउटा कारबाहीमा इस्लामिक स्टेट (आईएस) समूहका एकजना वरिष्ठ उपप्रमुख मारिएको अमेरिकी अधिकारीहरूले बताएका छन्।
अमेरिकी कारबाहीमा आफू बच्न नसक्ने अवस्थामा पुगेपछि आईएस समूहका नेता अबु इब्राहिम अल-हाशिमी अल-कुरेशीले एउटा आत्मघाती विस्फोटन गराएर आफू र आफ्नो परिवारको ज्यान लिएको बताइएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त कारबाहीका क्रममा सर्वसाधारणलाई सकेसम्म जोगाउने कोसिस गरिएको बताएका छन्।
गोलाबारीपछि अमेरिकी विशेष दलका सैनिकहरूले अबु इब्राहिमलाई उनी लुकेको स्थानमा घेरा हालेका थिए।
त्यसपछि उनले आफैँले विस्फोटन गराएर आफू र परिवारको ज्यान लिएको बताइएको छ।
बाइडनले कारबाहीबारे के भने?
अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबार मध्यरातको उक्त छापामार शैलीको कारबाहीबारे जानकारी दिएका छन्।
इब्राहिमको अन्त्यले "विश्वका लागि ठूलो आतङ्कवादी खतरा हटाएको" बाइडनले बताएका छन्।
अमेरिकी अधिकारीहरूले मारिएका आईएस नेताको नाम उल्लेख नगरी महिनौँको योजनामा भएको उक्त कारबाहीको नाटकीय विवरण दिएका छन्।
आईएसले हालसम्म उक्त घटनाबारे सार्वजनिक टिप्पणी गरेको छैन।
टर्कीसँग सीमा जोडिएको इड्लिब प्रान्तको अत्मा सहरको बाहिरी इलाकास्थित एउटा तीन तले घरलाई लक्षित गरेर अमेरिकाले उक्त कारबाही गरेको बताइएको छ।
पकड क्षेत्र
त्यो जिहादी समूहहरूको पकड क्षेत्र हो।
त्यहाँ आईएसविरोधी समूहहरू पनि लडिरहेका छन् भने टर्कीको समर्थन पाएका विद्रोहीहरू सिरियाली सरकारसँग लडिरहेका छन्।
सिरियास्थित घटनास्थलमा पुग्ने सहायताकर्मीहरूले उक्त कारबाही गरिएको टोलमा ६ जना बालबालिकासहित १३ जनाको हत्या भएको बताएका छन्।
उक्त क्षेत्रमा कैयौँ अमेरिकी हेलिकप्टरहरू उत्रेका थिए र आधा रातमा उक्त कारबाही भएको थियो।
स्थानीय स्रोतहरूले अमेरिकी सेनाले त्यहाँ कडा प्रतिरोधको सामना गर्नु परेको बताएका छन्।
त्यहाँ घण्टौँसम्म गोलाबारीको आवाज सुनिएको थियो।
इस्लामिक स्टेट समूहका नेता अबु बकर अल-बग्दादी मारिनेगरी भएको कारबाहीपछिको अमेरिकी सेनाको पश्चिमोत्तर सिरियामा भएको यो हालसम्मको सबैभन्दा ठूलो सैन्य कारबाही बताइएको छ।
घटनामा निहत्था सर्वसाधारणको ज्यान गएको विवरण आएपछि अमेरिकी राष्ट्रपति बाइडनले कारबाहीमा सर्वसाधारणको मृत्युलाई न्यूनीकरण गर्न सक्दो प्रयास गरेको बताएका छन्।
उनले आईएस समूहका ती नेता सधैँ सर्वसाधारणकको घेरामा रहने भएकाले आफूले अमेरिकी सेनालाई हवाई हमलाको साटो विशेष बलहरूद्वारा छापा मार्ने अधिकार दिएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसका प्रवक्ताले निहत्था नागरिकहरूको हताहतिको विवरणबारे छानबिन हुनु महत्त्वपूर्ण भएको बताएका छन्।
अमेरिकी अधिकारीहरूले ती नेता मारिने क्रममा ज्यान जाने सर्वधारणबारे यकिन जानकारी दिएका छैनन्।