नेपाल मोरिसस फुटबल: दुई मैत्रीपूर्ण फुटबलमा ९ नयाँ खेलाडी, कतिले पाउलान् मौका

तस्बिर स्रोत, Bibek Subedi
- Author, निरञ्जन राजवंशी
- Role, काठमाण्डू
नेपाल र मोरिससबीच हुने मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धाका केही खास खास विशेषताहरू छन्।
पहिलो महत्त्वपूर्ण पक्ष भनेको कोभिड महामारीको यो 'अफसिजन' मा नेपाली फुटबल तात्दैछ।
नेपालले पहिलो पटक अफ्रिकी राष्ट्रसँग आधिकारिक फुटबल खेल्नु अर्को खास कुरा भइहाल्यो।
मुख्य विशेषता भनेको चाहिँ राष्ट्रिय टीममा पुराना खेलाडीहरूलाई 'दबाव' र नयाँ खेलाडीहरूलाई राष्ट्रिय टोलीको ढोका ढकढकाउने 'अवसर' मानिएको छ।
नेपालका कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुटाइरीले दुई मैत्रीपूर्ण खेलका लागि दुई फरक टीम तयार पारेका छन्।
यो निर्णयले बन्द प्रशिक्षणमा रहेका सबै ३५ खेलाडीहरू राष्ट्रिय टोलीमा परेका छन् र त्यसमा ९ जना नयाँ अनुहारले राष्ट्रिय टोलीमा सहभागी हुने मौका पाएका छन्।
राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय भन्छन्, "अहिले २० वर्षका खेलाडीले राष्ट्रिय टोलीबाट अवसर पाउँदा त्यस्ता खेलाडीले कम्तीमा ८/९ वर्ष खेल्न सक्छन्। त्यसैले प्रशिक्षकको नजर युवा खेलाडीहरूमा छ।"
प्रशिक्षक अल्मुटाइरीले मैत्रीपूर्ण खेलमा नतिजाभन्दा पनि खेलाडीहरूको प्रयोग प्राथमिकता हुने बताइसकेका छन्।
यसैले थुप्रै युवा खेलाडीहरूले राष्ट्रिय जर्सी लगाउने पक्का पक्की जस्तै देखिन्छ।
नौ युवा
प्रशिक्षक अल्मुटाइरीले शहिद स्मारक ए डिभिजन लीगमा प्रभावशाली प्रदर्शन गरेका युवाहरूलाई राष्ट्रिय टोलीमा बोलाएका हुन्।
जसमा गोलकीपरमा दुई खेलाडी टिकेन्द्र थापा र शत्रुघ्न चौधरी छन्।
जावलाखेल यूथ क्लबको पोस्ट सम्हाल्ने थापा र नेपाल प्रहरीका चौधरी दुवै पहिलो पटक बन्द प्रशिक्षणमा बोलाइएका थिए।

तस्बिर स्रोत, Bibek Subedi
यस्तै रक्षा पङ्क्तिमा न्युरोड टिमका नवीन गुरुङ छन् भने मध्य क्रममा सातदोबाटोका सुदिप गुरुङ, न्युरोडका कृतिशरत्न छुन्जु, च्यासलका आशिष राई र सात दोबाटोका आकाश बुढामगर छन्।
अग्र पङ्क्तिमा सात दोबाटोकै सुशील राई र प्रशान्त अवस्थी छन्।
यस्तै 'भेट्रन' खेलाडी जगजित श्रेष्ठको पुनरागमन भएको छ भने चोटले सताइएका स्ट्राइकर विमल घर्तिमगर पनि वर्ष दिन पछि टोलीमा फर्किएका छन्।
ती बाहेक राष्ट्रिय टीमको स्वाद चाखिसकेका रक्षा पङ्क्तिका देवेन्द्र तामाङ, मिडफिल्डर सुभाष गुरुङ, एरिक विष्ट, दर्शन गुरुङलाई पनि प्रशिक्षक अल्मुटाइरीले टोलीमा फिर्ता बोलाएका छन्।
कप्तान किरण चेम्जोङ सहित अञ्जन विष्टलगायत १२ स्थायी खेलाडी त दुवै मैत्रीपूर्ण खेलमा छन् नै।
यस्तोमा कति नयाँ खेलाडीहरूले मौका पाउन सक्लान् ?
त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, "२ वटा मैत्रीपूर्ण खेल र पाँच पाँच खेलाडी परिवर्तन गर्न पाइने भएकोले मलाई लाग्छ प्रशिक्षकले सबै नयाँ खेलाडीहरूलाई जाँच्न सक्छन्।"
आलोचना
पछिल्लो समय नेपाली राष्ट्रिय फुटबल टोलीको संरचना हेर्ने हो भने चाँडै चाँडै नै नयाँ अनुहारहरू फेरिएका छन्।
१० महिना अगाडि नेपाली टोली सम्हाल्न आएका अल्मुटाइरीले विश्वकप छनोट र साफ च्याम्पियनशिप खेलाउँदा आधा दर्जन बढी नयाँ खेलाडीहरूलाई मौका दिइसकेका छन्।
जसमा 'ए' डिभिजन नखेलिकनै मनिष डाँगी र आयुष घलान जस्ता युवा खेलाडी राष्ट्रिय टोलीमा स्थापित भइसकेको देखिन्छ।

तस्बिर स्रोत, Bibek Subedi
तर राष्ट्रिय टोलीमा यति छिटो खेलाडीहरू परिवर्तन गरिनुलाई राम्रो नमान्नेहरू पनि छन्।
राष्ट्रिय टोलीका पूर्व स्ट्राइकर नरेन्द्र श्रेष्ठ भन्छन्, "कम्तीमा ८/१० खेलमा राम्रो खेलेपछि पो राष्ट्रिय टोलीमा मौका दिनुपर्ने हो। यहाँ त एक खेलमा राम्रो गोल गर्यो वा एउटा राम्रो पास दियो वा एउटा राम्रो बचाउ गर्यो भन्ने आधारमा खेलाडी राष्ट्रिय टोलीमा परेका छन्। यसले त राष्ट्रिय खेलाडीहरूलाई नै सस्तो बनाएको जस्तो भएन र?"
त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षक नवीन न्यौपाने मैत्रीपूर्ण खेलमा गरिएको प्रयोगलाई ठिक मान्छन्।
उनी भन्छन्, " यू १६ देखि यू २३ सम्मको यात्रा तय गरेका खेलाडी राष्ट्रिय टोलीमा पुग्नु भनेको चाहिँ राम्रो देखिन्छ। त्यसले खेलाडीलाई कम्तीमा कडा सङ्घर्ष गर्न प्रेरित गर्नेछ।"
'फिफा डे' को सदुपयोग
राष्ट्रिय टोलीले मालदिभ्समा साफ च्याम्पियनशिपको फाइनल खेलेको तीन महिनापछि मैत्रीपूर्ण खेल खेल्न लागेको हो।
विश्व फुटबल महासङ्घ फिफाले आफ्ना सदस्य राष्ट्रहरूलाई आधिकारिक वा मैत्रीपूर्ण फुटबल खेल्न छुटाएको समय ' फिफा डे' को सदुपयोग गर्दै मैत्री खेल तय गरिएको हो।
अखिल नेपाल फुटबल सङ्घ एन्फाले पछिल्ला वर्षहरूमा 'फिफा डे' को सदुपयोग गर्दै आएको देखिन्छ।

तस्बिर स्रोत, Bibek Subedi
यसपालि शहिद स्मारक ए डिभिजन लीगलाई विश्राम दिएर एन्फाले 'फिफा डे' मा खेल्न लागेको हो।
फिफाले वर्ष २०२२ मा एसियाली फुटबल महासङ्घ (एएफसी) को लागि २४ ज्यानुअरीदेखि फेब्रुअरी १ र २१ देखि २९ मार्चसम्मको समय छुट्याइएको छ।
अखिल नेपाल फुटबल सङ्घ एन्फाका महासचिव इन्द्रमान तुलाधर भन्छन्, " फिफा डेमा खेल्दा वरीयतामा सुधार हुन्छ। अर्को आगामी जुलाईमा हुने एसियन कपलाई ध्यानमा राखेर राष्ट्रिय टोलीलाई चुस्त राख्न यो मैत्रीपूर्ण फुटबलले सघाउने छ।"
उनले थपे, "कोरोनाभाइरस महामारीको अफसिजनमा फुटबललाई जोगाउनु पनि हाम्रो उद्देश्य हो।"
दर्शक
तर कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या दिनहुँ बढिरहेको कठिन परिस्थितिमा दर्शकलाई रङ्गशालामा प्रवेश दिने भएको छ।
एन्फाले सामान्य प्यारापिटमा ५ सय र भीआइपी प्यारापिटमा १ हजार रुपैँया टिकट राखेर एक तिहाइ दर्शकलाई मात्र प्रवेश दिने भनेको छ।
त्यसो हुँदा बढीमा ४ देखि ५ हजार दर्शक रङ्गशालामा खेल हेर्न आउन सक्नेछन्।

तस्बिर स्रोत, Bibek Subedi
एन्फाले तिनीहरूको खोप कार्ड परीक्षण गर्ने र सरकारले दिएको स्वास्थ्य सावधानी अपनाएर मात्र दर्शक छिर्न दिने भनेको छ।
अहिले नेपालमा दैनिक हजारौँ नयाँ कोरोनाभाइरस सङ्क्रमितहरू थपिएका छन्।
यस्तो बेला दर्शक प्रवेश गराउने एन्फाको निर्णयको भने कतिपयले आलोचना गरिरहेका छन्।
एन्फा महासचिव तुलाधर भन्छन्, "फुटबल भनेको दर्शक सहितको खेल हो। विश्वको फुटबल नै अहिले यसरी नै चलिरहेको छ। यसमा आलोचना जरुरी छैन।"
प्रतिस्पर्धा
फिफा वरीयतामा नेपाल १६९ औँ र अफ्रिकी टोली मोरिसस १७२ औँ स्थानमा छन्।
त्यस अर्थमा मोरिससभन्दा नेपाल अगाडि देखिन्छ।
यद्यपि दुई दिने यो प्रतिस्पर्धा रोमाञ्चक हुने फुटबल प्रेमीहरू बताउँछन्, जहाँ नेपाली समर्थकहरूले घरेलु भूमिमा पहिलो पटक अफ्रिकी खेलको स्वाद चाख्न पाउनेछन्।

यो पनि हेर्नुहोस्









