वर्षमान पुनः यी माओवादी नेतालाई भएको दुर्लभ जन्डिस के हो

तस्बिर स्रोत, Pun's Secretariat
दुर्लभ 'क्रिग्लर नज्जार सिन्ड्रोम' भनिने वंशाणुगत जन्डिसबाट पीडित माओवादी नेता वर्षमान पुन चीनमा उपचार गराएर मङ्गलवार स्वदेश फर्किएका छन्।
करिब एक वर्षअघि पनि उनले झन्डै चार महिना विदेशमा उपचार गराएका थिए।
सेन्जेनस्थित थर्ड पीपल्स अस्पतालमा पुनको उपचार भएको उनको निजी सचिवालयले जनाएको छ।
माओवादी स्थायी समिति सदस्य समेत रहेकी पुनकी पत्नी ओनसरी घर्तीलाई उद्धृत गर्दै उनको सचिवालयले स्वास्थ्यमा "सन्तोषजनक सुधार भएको" जनाएको छ।
निद्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुचि हुने तथा बान्ता हुने समस्या भएपछि पूर्वअर्थमन्त्री समेत रहेका पुन उपचारका लागि दोस्रो पटक चीन गएका थिए।
यसअघि पनि पछिल्लो पटक उनको चीनमै उपचार भएको थियो।
नेपालमा र थाईल्यान्डमा भएको उपचारबाट रोग निको नभएपछि उनले चीन पुगेर उपचार गराउँदै आएका छन्।
पुनलाई भएको जन्डिस के हो?
उनलाई लागेको जन्डिस जटिल खालको भएको पनि उनको सचिवालयको भनाइ छ।
यो आनुवंशिक जन्डिसका कारण मानिसहरूको आँखा र छाला पहेँलो हुने र खानामा अरुचि हुने तथा पाचन प्रणालीको समस्या हुने चिकित्सकहरू बताउँछन्। तर यस्तो लक्षण जन्डिस भएका सबैलाई नदेखिन पनि सक्छ।
पित्तमा हुने बिलिरुबिन नामक पहेँलो द्रव्यको मात्रा धेरै भएपछि कसैकसैको शरीरमा दागहरू पनि देखिने गर्छ।
"विसं २०५२ तिर जाँच गराउँदा वंशाणुगत भन्ने थाहा भयो। परिवारमा कसलाई थियो त्योभन्दा अगाडि थाहा थिएन तर मलाई थाहा भयो अनि मैले त्यही अनुसारको उपचार गरेँ," चीनमा भएको उपचारबाट फर्किएपछि पुनले गतवर्ष माघमा ईमेज टेलिभिजनसँगको अन्तर्वार्तामा भनेका थिए।
एक दशकदेखि माओवादी नेता पुनको उपचार गरिरहेका पेट तथा कलेजो रोग विशेषज्ञ डा. युवराज शर्मा पुनका अनुसार जन्डिस आनुवंशिक र जन्मजात हो।
पुनको परिवारका अन्य केही सदस्यमा पनि यही प्रकारको जन्डिस देखिएको छ। तर उनीहरूमा गम्भीर समस्या छैन।
"कलेजोमा जीडीपी भनिने एक प्रकारको एन्जाइम हुन्छ। त्यो प्रशस्त मात्रामा हुनुपर्नेमा कमी भइदियो भने यो प्रकारको जन्डिस देखिन्छ," डा. शर्मा भन्छन्।
साधारणयता स्वस्थ मानिसमा बिलिरुबिनको मात्रा एकभन्दा तल हुने गर्छ। तर आनुवंशिक जन्डिस भएका मानिसहरूमा सधैँ जन्डिसको मात्रा ६ वा त्योभन्दा बढी हुनसक्छ।
दुर्लभ समस्या
पुनलाई भए जस्तो दुर्लभ समस्या भएका मानिसमा बिलिरुबिनको मात्रा अत्यधिक हुने र अन्य समस्या समेत देखा पर्ने चिकित्सकहरू बताउँछन्।
उनमा जन्डिसको मात्रा सधैँ १२ देखि १८ को बीचमा रहने गरेको उनका चिकित्सक शर्माले जानकारी दिए।
पुनलाई यसअघि अन्य रोगको सङ्क्रमण भएपछि जन्डिसको मात्रा एक्कासि बढेको थियो। थाइल्यान्डमा उपचार गराएपछि उनको जन्डिसको मात्रा फेरि पुरानै अवस्थामा फर्किएको थियो।
गतवर्ष पनि उनमा बिलिरुबिनको मात्रा एक्कासि बढेर ३२ सम्म पुगेको डा. शर्मा बताउँछन्। उपचारका लागि चीन जानुअघि बिलिरुबिनको मात्रा २७ पुगेको र अहिले अहिले फर्कँदा घटेर १८ पुगेको उनको सचिवालयले जनाएको छ।
पुनलाई किन यस्तो भयो?
उनले जडीबुटी प्रयोग गरेका कारण शरीरले त्यसप्रति प्रतिक्रिया जनाउँदा जन्डिसको मात्रा अझ बढेको आशङ्का चिकित्सकहरूले गरेका थिए।
"उहाँको जन्डिस जसरी कम हुनुपर्थ्यो त्यो भएन, अनि उहाँलाई खानामा रुचि नहुने र पेटमा अलि समस्या हुने जस्ता लक्षण पनि देखियो," डा. शर्माले भने।
काठमाण्डूमा उपचारपछि पनि जन्डिसको मात्रा नघटेपछि पहिलेजस्तै समस्या हुने डरले पुन थाइल्यान्ड गए।

तस्बिर स्रोत, RSS
थाईल्यान्डमा विभिन्न उपकरणको सहायताले उनको रगतबाट बिलिरुबिनको मात्रा घटाउने प्रयास गरिए पनि उनको रगतबाट जन्डिसको मात्रा नघटेपछि उनलाई चीन जान सिफारिस गरिएको थियो।
चीनको थर्ड पीपल्स हस्पिटल अफ सेन्जेनमा एक हप्ताको उपचारपछि मात्रै आफू होसमा आएर चीनमा रहेको थाहा पाएको काठमाण्डू फर्किएपछि पुनले पत्रकारहरूसँग बताएका थिए।
कति दुर्लभ रोग?
चिकित्सकहरूका अनुसार वंशाणुगत जन्डिस धेरै दुर्लभ नभए पनि पुनमा देखिएको जन्डिसको प्रकार चाहिँ निकै दुर्लभ मानिन्छ।
यस्तो प्रकारको जन्डिस भएका अधिकांशको बाल्यकालमै मृत्यु हुने र कमै मात्र मानिसहरू पछिसम्म बाँच्ने सम्भावना रहने डा. शर्मा बताउँछन्।
कतिपय मानिसहरू जन्मँदै जन्डिसको मात्रा अत्यधिक भएका कारण त्यसले दिमागमा पुर्याउने असरका कारण शिशु अवस्थामै मृत्यु हुने चिकित्सकहरू बताउँछन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ डा. राकेश हमालले वयस्कहरूमा यस्तो रोग धेरै दुर्लभ हुने बताए।
"यो संसारभरि नै दुर्लभ हो। वर्ष वा दुई वर्षमा एक जनाजस्तो मात्रै मेरोमा यस्तो बिरामी आउनुहुन्छ," उनले भने।
तर साधारण वंशाणुगत जन्डिस भने धेरै मानिसहरूमा हुन सक्ने चिकित्सकहरूको अनुमान छ।
नेपालमा कुल जनसङ्ख्याको करिब पाँच देखि सात प्रतिशत मानिसहरूमा आनुवंशिक जन्डिस हुन सक्ने अनुमान डा. शर्माले गरे पनि यो दाबी पुष्टि हुने आधिकारिक तथ्याङ्क उपलब्ध छैन।
एन्जाइमको मात्रा थोरै मात्र कम भएका मानिसहरूलाई यसको खासै लक्षण नदेखिए पनि जन्डिस जाँच्दा देखिने विशेषज्ञहरू बताउँछन्।
उपचार के हो?
विशेषज्ञ शर्माका अनुसार धेरैजसोलाई उपचार नगरे पनि साधारण वंशाणुगत जन्डिसले समस्या निम्त्याउँदैन।
तर त्यसका लागि खानेकुरा र आराममा भने ध्यान पुर्याउनुपर्छ। आफूलाई भएको समस्या पहिचानका लागि यसको परीक्षण हुन जरुरी रहेको डा. शर्मा बताउँछन्।
"आराम गर्नुभयो, प्रशस्त पानी खानुभयो भने अधिकांश समस्या आफै कम हुँदै जान्छ। हामीले रोग पहिचान गरेर उपचार गर्ने खालको हो वा नपर्ने जन्डिस हो भनेर मानिसहरूलाई परामर्श दिने गरेका छौँ," शर्मा भन्छन्।
तर जन्डिसको मात्रा अत्यधिक धेरै देखिएका बालबालिकाहरू र वयस्कहरूले भने उपचार गराउनुपर्ने अर्का विशेषज्ञ हमाल बताउँछन्।
"नवजात शिशुमै देखा पर्ने जन्डिसले दिमागमा असर गरेर ज्यानकै जोखिम पनि हुन सक्ने भएकाले त्यसको उपचार दुई किसिमले गर्न सकिन्छ," हमाल भन्छन्।
उपचारका दुई विधि

तस्बिर स्रोत, Science Photo Library
"रगत झिकेर अर्को त्यस्तै किसिमको रगत हाल्ने विधि र अर्को चाहिँ विशेष किसिमको प्रकाशमुनि राखेर जन्डिसको मात्रा घटाउने फोटोथेरपी हुन्छ," डा. हमाल भन्छन्।
वयस्कहरूलाई हुने यस्तो समस्यामा भने चिकित्सकहरूले अवस्था हेरी औषधि पनि खान सुझाव दिने गरेका छन्।
जटिल समस्या भएका मानिसहरूमा कलेजो प्रत्यारोपण जरुरी हुने विशेषज्ञहरू बताउँछन्।
नेपालमै अहिले कलेजो प्रत्यारोपणको सुविधा उपलब्ध भइसकेको छ।
"विश्वमा पाइने अधिकांश उपचार नेपालमै पनि उपलब्ध छ। अहिले यसमा जीन थेरपी भनेर नयाँ परीक्षण भइरहेको छ, त्यो थेरपी चाहिँ नेपालमा उपलब्ध छैन," हमालले भने।

तस्बिर स्रोत, RSS
सामान्य रगतको परीक्षणबाटै जन्डिसको मात्रा थाहा हुने र कलेजोमा हुने एन्जाइम मात्राको विश्लेषण, आनुवंशिक इतिहासको अध्ययनबाट साधारण वा वंशाणुगत जन्डिस छुट्टाउन सकिने चिकित्सकहरू बताउँछन्।
के-के खान हुँदैन?
यो समस्या देखिएका मानिसहरूले नियमित खानेकुरा बार्न नपर्ने चिकित्सकहरू बताउँछन्।
तर कलेजोलाई असर गर्ने तत्त्वहरू सेवन गर्दा यसको एन्जाइम तत्त्वलाई घटबढ गर्न सक्ने भएकाले नसालु पदार्थ सेवन गर्न नहुने शर्मा बताउँछन्।
"जाँडरक्सी र चिल्लो धेरै भएका खाने कुरा र दुखाइ कम गर्ने औषधि सकेसम्म खान हुँदैन," डा. शर्मा भन्छन्।
"कतिपय मानिसहरू जन्डिस भयो भनेर मुख बारेर धेरै तौल घटाएर पनि आउनुहुन्छ। त्यो गरिरहन जरुरी छैन।"
समाजमा जन्डिस भएका मानिसहरूलाई माछामासु र बेसार खान नहुने बताउने गरिए पनि ती खानेकुरा बार्न जरुरी नभएको विशेषज्ञहरूको भनाइ छ।
तर चिल्लो धेरै खाँदा पित्तको पत्थरी हुने जोखिम भएकाले चिल्लो कम गर्नुपर्ने उनीहरू बताउँछन्।
धेरैजसो चिकित्सकहरूले प्रमाणित नभएका आयुर्वेदिक औषधि पनि सेवन नगर्न सुझाव दिने गरेका छन्।
"चिकित्सकसँग परामर्श नगरी एन्टीबायोटिक सेवन गर्दा पनि जन्डिसको मात्रा बढ्छ। जडीबुटीहरू सेवन गर्दा पनि डर हुन्छ र यी कुराको लागि सतर्क हुनुपर्छ," डा. हमाल भन्छन्।









