नेपाली कांग्रेस महाधिवेशन: चन्दा माग्न आएका 'माओवादीसँगै चन्दा माग्ने' मुक्ता यादवलाई केन्द्रीय सदस्यमा सर्वाधिक मत

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

देशमा सशस्त्र द्वन्द्व चर्कँदै जाँदा माओवादीका भूमिगत कार्यकर्ताहरूले पार्टीका लागि भन्दै देशका दुर्गम ठाउँमा काम गर्ने शिक्षकहरूसँग नियमित चन्दा असुल्ने गरेका थिए।

धनुषाको ग्रामीण भेगमा पर्ने लक्ष्मीपुरको राष्ट्रिय प्राविमा पनि माओवादी छापामारहरू त्यसैगरी चन्दा माग्नका लागि पुगे। द्वन्द्वकालमा माओवादीसँग सवालजवाफ गर्न पनि सर्वसाधारणहरू डराउँथे। विद्यालयकी शिक्षिका मुक्ताकुमारी यादव चन्दा माग्न आउने माओवादी कार्यकर्ताहरूसँग आफूले उल्टै विद्यालयका लागि चन्दा मागेको बताउँछिन्।

तीनै शिक्षिका नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सबैभन्दा धेरै मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएपछि मङ्गलवारयता चर्चामा छिन्।

"त्यति बेला म शिक्षिका थिएँ। मेरो स्कूलमा २०-२२ जना माओवादी आएका थिए चन्दा माग्न। अनि मैले भनेँ, हामीबाट चन्दा लिएर बन्दुक गोली किन्नु हुन्छ अनि मान्छेको ज्यान मार्नुहुन्छ," त्यति बेला माओवादी कार्यकर्तालाई आफूले दिएको जवाफ मुक्ता स्मरण गर्छिन्।

"बरु तपाईँहरू देशभरिबाट यत्तिका सम्पत्ति लुटपाट गरिरहनुभएको छ, स्कूल भनेको एउटा ज्ञानको मन्दिर हो बरु तपाईँहरू नै दिनुस् न यसमा चन्दा।"

कांग्रेस राजनीतिमा सक्रिय भएका कारण माओवादीले निशाना बनाउने गरे पनि आफूहरूले कसैलाई नराम्रो नगरेका कारण माओवादीसँग नडराइ बसेको उनको भनाइ छ।

माओवादीले खेती कब्जा गर्ने र ज्यान मार्ने धम्की दिँदा पनि नडराइ बसेको यादव परिवार २०५८ फागुनमा माओवादी द्वन्द्वको सिकार भइछाड्यो।

गाविस अध्यक्षसमेत रहेका मुक्ताका कान्छा ससुरा रामसेवक यादवलाई माओवादीको सशस्त्र समूहले घरमै गोली हानी हत्या गर्‍यो। त्यो घटना प्रत्यक्ष देखेपछि भने उनलाई माओवादीसँग डर मान्नु पर्ने हो कि जस्तो लाग्यो।

"हाम्रो बरु ज्यान मारिदिएको छ तर हामी कहिले पनि माओवादीसँग डराएको होइनौँ," उनले भनिन्।

त्यो घटनापछि शिक्षण पेसासँगै कांग्रेसको भातृ सङ्गठन शिक्षक सङ्घ र महिला सङ्घको राजनीतिमा समेत सक्रिय मुक्ताको परिवार गाउँ बस्ने वातावरण रहेन। उनीहरूको परिवार गाउँबाट विस्थापित भएर सदरमुकाम जनकपुर सर्‍यो।

१४ वर्षमै विवाह

विसं २०३४ साल भदौमा महोत्तरीको कांग्रेस समर्थक राय परिवारमा जन्मिएकी मुक्ताका अभिभावकले सकेसम्म राजनीतिक विचार मिल्ने परिवारमै सम्बन्ध गाँस्न चाहेका थिए।

संयोगले मुक्ताको विवाह कांग्रेस राजनीतिमा सक्रिय धनुषाको यादव परिवारसँग भयो।

उनका धेरै साथीहरू जस्तै मुक्ताको विवाह पनि १४ वर्षकै उमेरमा २०४८ सालमा भयो। तर उनले पढाइलाई निरन्तरता दिइन्। स्नातकसम्म अध्ययन गरिन्।

राजनीतिक परिवार भएका कारण आफूलाई घर बाहिर काममा जान र राजनीतिमा जोडिन सहज भएको मुक्ता बताउँछिन्।

"यसमा मेरो परिवारको पूरा सहयोग छ। नत्रभने त हाम्रो गाउँघरतिर त महिलालाई घर बाहिर निस्कन नै दिँदैन नि त। जागिर गर्न जान पनि दिँदैन," उनले भनिन्।

"हामीहरू एकदम साधारण परिवारको मान्छे हो साधारण परिवारमा महिलालाई यति धेरै स्वतन्त्रता दिइँदैन।"

"राजनीति स्वतन्त्र र निष्पक्ष छैन"

अघिल्ला दुई महाधिवेशनमा झिनो मतान्तरले पराजित भएकी मुक्ता तेस्रो प्रयासमा कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।

मुक्ताले ४६७१ खसेको मतमध्ये ३९६० मत पाइन्। निर्वाचन समितिका अनुसार जसमा १३ वटा मत बदर भएका थिए।

मधेसी महिला आरक्षण कोटा अन्तर्गत चार पदका लागि भएको निर्वाचनमा पाँच जना मात्रै प्रतिस्पर्धी थिए। मुक्ता पछि धेरै मत ल्याउने मिनाक्षी झाको उनीभन्दा ९०० भन्दा कम मत आयो।

कांग्रेस खुला केन्द्रीय सदस्यमा सबैभन्दा धेरै मत कांग्रेस संस्थापक नेताका पुत्र शशाङ्क कोइरालाले पाएका थिए। त्यो मुक्ताले पाएको भन्दा कम हो। शशाङ्कले ३,८३६ मत पाएका थिए।

आफूलाई सबैले विश्वास गरेकै कारण सबैभन्दा धेरै मत आएको उनको ठम्याइ छ। लोकप्रिय मत सहित निर्वाचित भएपछि अझै जिम्मेवार भएर काम गर्नुपर्छ भन्ने महसुस भइरहेको उनले बताइन्।

यसअघि २०७०मा संविधानसभामा सदस्य र २०७४ मा दुई वर्षका लागि राष्ट्रिय सभा सांसद बनिसकेकी ४४ वर्षीय मुक्तालाई आफू अब पार्टी र राष्ट्रको महत्त्वपूर्ण पदमा पुग्न सकिने रहेछ भन्ने आत्मविश्वास बढेको छ।

तर आफूजस्ता महिलाहरू राजनीतिमा अघि बढ्न अहिलेको निर्वाचन प्रणाली वाधक रहेको उनको बुझाइ छ।

"राजनीति स्वतन्त्र र निष्पक्ष देखिएको छैन। आम चुनावमा यति धेरै खर्च गर्ने यो विकृति छ नि यो विकृतिको अन्त्य हुनुपर्छ। तब मात्रै हामीजस्ता साधारण मान्छे चुनावमा जाने, स्वतन्त्र तरिकाले मतदाताले भोट गर्न पाउने हुन्छ," उनले भनिन्।

महिलाहरूलाई स्थानीय तहबाटै प्रतिनिधित्व गराउने व्यवस्थाले महिलाहरूका लागि राजनीति केही सहज भए पनि अझै धेरै सुधार बाँकी रहेको उनी बताउँछिन्।

प्रधानमन्त्री र उपप्रधानमन्त्री मध्ये एक महिला

नेपाली कांग्रेसको राजनीतिमा शीर्ष स्थानमा पुग्ने महिलाहरूको सङ्ख्या नेपालका अन्य राजनीतिक दलहरूको जस्तै न्यून छ।

अघिल्लो महाधिवेशनबाट कोषाध्यक्षमा निर्वाचित सीतादेवी यादव कांग्रेसमा निर्वाचित हुने पहिलो महिला पदाधिकारी हुन्। कांग्रेसमा पहिलो महिला पदाधिकारी भने शैलजा आचार्य हुन्। उनी २०५३ को नवौँ महाधिवेशनपछि उपसभापतिमा मनोनीत भएकी थिइन्।

१३औँ महाधिवेशनपछि कांग्रेसले संशोधन गरेको विधान अनुसार कोषाध्यक्ष निर्वाचित केन्द्रीय समितिबाट चयन हुने व्यवस्था छ। संशोधित विधानले पार्टी पदाधिकारी तहमा सहमहामन्त्री पदमा एक जना महिला निर्वाचित हुने सुनिश्चितता गरेको छ।

कोषाध्यक्षमा महिला चयन नभए सहमहामन्त्रीमा निर्वाचित नेतृ महालक्ष्मी उपाध्याय आगामी चार वर्षका लागि कांग्रेसको सबैभन्दा उपल्लो पदमा रहने महिला हुनेछिन्।

नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपति तथा सभामुख वा उपसभामुख मध्ये एक जना महिला अनिवार्य गरेजस्तै प्रधानमन्त्री र उपप्रधानमन्त्री मध्येमा पनि एक महिला अनिवार्य हुनुपर्ने मुक्ताको माग छ।

त्यसअघि कांग्रेस सभापति वा उपसभापति मध्येमा पनि एक महिला अनिवार्य रहने गरी विधान परिमार्जन गरिनुपर्ने उनी बताउँछिन्।

शिक्षणसँगै राजनीतिमा आएकी मुक्तालाई शिक्षकहरू राजनीतिक दलको सदस्यता दिन रोक लगाउने निर्वाचन आयोगको निर्णय चित्त बुझेको छैन।

"शिक्षकहरू १० देखि ४ बजेसम्म नेपाल सरकारको जागिर भएर काम गर्छ। त्यसभन्दा पछिको समय त आफ्नो स्वतन्त्रता हो नि त," उनको तर्क छ।

"राजनीतिमा लागेकै कारण पठनपाठनमा अवरोध हुन भएन, त्यो बाहेक खेतीपाती व्यापार जस्तै राजनीति गर्न किन नपाउने?"