नेपाली कांग्रेस महाधिवेशन: महामन्त्रीमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको राजनीतिक यात्रा र सम्बन्ध

विश्वप्रकाश शर्मा र गगन थापा

तस्बिर स्रोत, RSS

    • Author, अशोक दाहाल
    • Role, बीबीसी न्यूज नेपाली

नेपाली कांग्रेसको महामन्त्रीमा निर्वाचित युवा नेताहरू गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस भावी नेतृत्वका दाबेदार हुनसक्ने भन्दै कतिपयले सामाजिक सञ्जालमा चर्चा सुरु गरेका छन्।

पार्टीका प्रभावशाली नेताहरूलाई पछि पार्दै निर्वाचित भएका कारण पनि थापा र शर्माको विजयले राजनीतिक वृत्तमा चर्चा बटुलेको छ।

विद्यार्थी राजनीतिबाटै स्थापित ४५ वर्षका थापा र ५१ वर्षका शर्मा फरकफरक समूहबाट उम्मेदवार भए पनि कांग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले दुवै जनालाई निर्वाचित गराउन आह्वान गर्दै प्रचार गरेका थिए।

कांग्रेसको महत्त्वपूर्ण मानिने समान पदमा चार वर्षे कार्यकालका लागि निर्वाचित भएका दुई युवा नेताहरूबीचको सहकार्य कस्तो रहला?

थापा र शर्मा २१ वर्षअघि पनि एउटै कमिटीमा रहेर काम गरेका नेताहरू हुन्। तर त्यस बेला शर्मा नेपाल विद्यार्थी सङ्घको अध्यक्ष थिए भने थापा उपाध्यक्ष।

त्यसबेला पनि नेविसंघमा दुई धार थियो। थापाले स्वतन्त्र उम्मेदवारी दिएर उपाध्यक्ष निर्वाचित भएको शर्मा पछिका नेविसंघ अध्यक्ष गुरु घिमिरे सम्झन्छन्।

"उहाँहरूबीच कहिले पनि सम्बन्ध खराब भएन। सुमधुर नै देख्छु," घिमिरेले भने।

"विश्वजीलाई गगनजीले आदर गर्नुहुन्छ र गगनजीलाई विश्वजीले स्नेह गर्नुहुन्छ।"

कांग्रेस कार्यकर्ता

तस्बिर स्रोत, RSS

विसं २०५७ सालमा नेविसंघको अध्यक्ष र उपाध्यक्ष रहेका शर्मा र थापा त्यसको १५ वर्षसम्म फेरि नजिक रहेर काम गर्ने अवसर जुटेन।

उनीहरू दुवै जना विसं २०७२ सालको कांग्रेस १३औँ महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा मनोनीत भए।

यसबीचमा शर्माको राजनीति गृह जिल्ला झापा केन्द्रित भयो। तर उनी पटकपटक असफल भइरहे।

पार्टी राजनीतिमा होमिएपछि थापाले भने अधिकांश स्थानमा जित हात पारिरहे।

शर्मालाई पछि पार्दै थापाको उदय

मत माग्दै गगन थापा

तस्बिर स्रोत, RSS

कुनै समय शर्मा अध्यक्ष हुँदा उपाध्यक्ष रहेका थापा अहिले शर्मा भन्दा १,००० बढी मत ल्याएर समान पदमा निर्वाचित भएका छन्।

२०३३ सालमा जन्मिएका थापा अहिले ४५ वर्षका भए। उनी शर्माभन्दा छ वर्षले कान्छा भए पनि राजनीतिक अनुभवले शर्माभन्दा जेठा भइसकेका छन्।

महामन्त्रीमा प्रतिस्पर्धी नेताहरू कांग्रेस केन्द्रीय राजनीतिमा स्थापित भइसक्दा थापाको राजनीतिक परिचय त्रिचन्द्र क्याम्पसको विद्यार्थी नेताको रूपमा मात्रै सीमित थियो।

२०५१ सालमा त्रिचन्द्रको स्ववियु सदस्य भएका थापा त्यसको चार वर्षपछि त्रिचन्द्रको स्ववियु सभापति भए। सभापति बन्दा शर्माले थापालाई साथ दिएको उनी निकट विद्यार्थी नेताहरू बताउँछन्।

विसं २०५७ मा शर्मा अध्यक्ष हुँदा नेविसंघ उपाध्यक्ष भएका थापा अर्को दुई वर्षमा नेपाल विद्यार्थी सङ्घको महामन्त्री भए।

राजनीतिमा दरबारको हस्तक्षेप बढ्दै जाँदा भएका विद्यार्थी आन्दोलनमा अगाडि देखिने थापाले २०६२/६३ को जनआन्दोलनमा पार्टीको निर्णय नआउँदै गणतन्त्रको मुद्दा अघि सारेपछि चर्चित भए।

माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभामा समानुपातिक सांसद बनेका थापा २०७० सालको दोस्रो संविधानसभामा आफ्नै पार्टीका बागी उम्मेदवारकाबीच काठमाण्डू क्षेत्र नम्बर ४ बाट निर्वाचित भए।

उनको क्षेत्रबाट वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन पराजित भएपछि थापाको राजनीतिक उचाइ थप बढ्यो।

त्यसपछि सुरुमा संसदीय समितिको सभापति भएका थापाले पछि स्वास्थ्यमन्त्रीको अवसर पाए।

संसद्मा राष्ट्रिय सरोकारका मुद्दाहरूमा हुने बहसमा सक्रिय सहभागिता र प्रतिस्पर्धी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग सवालजवाफमा उत्रने उनको शैलीले उनी पार्टीभित्र थापाको लोकप्रिय बढाएको जानकारहरू बताउँछन्।

थापाले अघिल्लो संसदीय निर्वाचनमा एमाले र माओवादी केन्द्रको गठबन्धनबीच एमाले उम्मेदवार राजन भट्टराई लाई पराजित गर्दै काठमाण्डू ४ को आफ्नो निर्वाचन क्षेत्र सुरक्षित गरे।

गगन थापा

तस्बिर स्रोत, RSS

थापाको राजनीतिक यात्रा चुनौतीरहित भने छैन।

उनी त्रिचन्द्रको स्ववियु सचिव हुँदा पनि बागी समूहबाट निर्वाचित भएका थिए। सांसद निर्वाचित हुँदा पनि बागी उम्मेदवार सामना गर्नुपर्‍यो।

राजनीतिक परिवारसँग साइनो गाँसेका थापाले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिए तर आफ्नै ससुरा अर्जुन नरसिंह केसी अर्को समूहबाट उनको प्रतिस्पर्धी थिए।

कांग्रेसका प्रभावशाली नेता केसी र थापा दुवैलाई पछि पार्दै कांग्रेस संस्थापक नेता बिपी कोइरालाका कान्छा छोरा शशाङ्क कोइराला महामन्त्रीमा निर्वाचित भए।

अघिल्लो महाधिवेशनमा बनेको समूह छोडेर १४औँ महाधिवेशनमा शेखर कोइराला नेतृत्वको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका थापाले अर्को समूहबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवाभन्दा धेरै मत प्राप्त गरे।

थापाले पटकपटक ५५ वर्षपछि आफूले सक्रिय राजनीतिबाट संन्यास लिने बताउँदै आएका छन्। आगामी १६ औँ महाधिवेशनबाट पार्टी सभापति बन्ने आकाङ्क्षा थापाले लिएको उनी निकटहरूको भनाइ छ।

गृह जिल्लामै असहयोगले पछि परे शर्मा

मत माग्दै विश्वप्रकाश शर्मा

तस्बिर स्रोत, RSS

किशोरावस्थामै विद्यार्थी राजनीतिमा सक्रिय हुँदै थुनामा समेत परेका विश्वप्रकाश शर्माको महामन्त्रीमा जित कैयौँ असफलतापछिको सफलता हो।

कमजोर देखिएको समूहबाट उम्मेदवारी दिएर निर्वाचित भएका ५१ वर्षीय शर्माको सबैभन्दा बलियो पक्ष नै आफ्नो अठोटमा परिश्रम गर्ने र सबैसँग मिठो बोल्ने रहेको उनी निकटहरू बताउँछन्।

"आफ्नो अठोटमा मेहनतका साथ लाग्ने र कसैप्रति नकारात्मक भाव नराख्ने उहाँको असाध्यै राम्रो बानी छ," लामो समयदेखि शर्मा निकट रहेका पुष्प पौडेलले भने।

"जिल्लामा पनि उहाँ अस्पतालदेखि बिहेसम्म घरघरै पुग्न भ्याउनुहुन्छ।"

दोस्रो प्रयासमा मात्रै थापा महामन्त्री भए पनि शर्मा पहिलो उम्मेदवारीमै महामन्त्री निर्वाचित भए।

तर त्यसअघि उनले धेरै चुनौती सामना गर्नुपर्‍यो। अघिल्लो महाधिवेशनमा देउवा समूहका सहयोगी शर्माले केन्द्रीय सदस्यमै चित्त बुझाउनुपर्‍यो। देउवा सभापतिमा निर्वाचित भएपछि प्रवक्ता तोकिए पनि १४औँ महाधिवेशनमा देउवा समूहबाट उम्मेदवार छानिएनन्।

विश्वप्रकाश शर्मा

तस्बिर स्रोत, RSS

देउवाको साथ छोडेर शर्माले प्रकाशमान सिंहको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिए। तर सिंह नेतृत्वको समूहका शर्माबाहेक कुनै पनि उम्मेदवार निर्वाचित भएनन्।

झापाबाटै विद्यार्थी राजनीति सुरु गरेका शर्मा २०४७ मा नेविसंघ झापाको सभापति भए। त्यसको एक दशकपछि नेविसंघको केन्द्रीय सभापति भएका शर्मा नेविसंघको कार्यकाल समयमै हस्तान्तरण गरेर पार्टी राजनीतिका लागि झापा फर्किए।

"तर उहाँलाई झापामा राजनीतिक सहयोग भन्दा अवरोध धेरै भयो। केन्द्रीय नेताहरूनै उहाँको राजनीतिक उदय रोक्न सक्रिय भए," पौडेलले भने।

"उहाँलाई पार्टीकै नेताहरूले पूर्वाग्रही व्यवहार नगरेको भए अहिले केन्द्रीय राजनीतिमा धेरै अघि पुगिसक्ने मान्छे हो।"

पार्टीको झापा जिल्ला सभापतिमा पराजित भएका शर्मा त्यसपछिको संसदीय निर्वाचनमा पनि झिनो मतान्तरले माओवादीका गठबन्धन उम्मेदवार राम कार्कीसँग पराजित भए।

पराजित भए पनि कार्कीलाई माला लगाएर बधाई दिएका शर्माले राजनीतिक संस्कार प्रदर्शन गरेको भन्दै प्रशंसा बटुलेका थिए।

तर पार्टी राजनीति र संसदीय राजनीतिमा पराजयले शर्माको केन्द्रीय राजनीति केही पछि धकेलियो। नम्र बोल्ने शैली र समन्वयकारी भूमिकाका कारण शर्मा कांग्रेस नेतृत्वमा पुग्ने क्षमता राख्ने पौडेल बताउँछन्।

थापा र शर्माको सम्बन्ध

२०७४ सालको संसदीय निर्वाचनअघि कात्तिक ९ गते शर्माले थापाको तस्बिर ट्विट गर्दै भने: "कांग्रेसमा आधुनिक पुस्ताको अध्याय प्रारम्भ!"

थापा पनि शर्माको चुनावी कार्यक्रममा सम्बोधन गर्न झापा पुगे।

"राजनीतिक हिसाबले शर्मा वरिष्ठ नै हो। तर विविध कारणले उहाँ पछि पर्नुभयो र थापा अघि आउनुभयो," थापानिकट नेता शंकर तिवारी भन्छन्।

विश्वप्रकाश शर्मा

तस्बिर स्रोत, RSS

"तर दुवै जना महामन्त्री हुनुपर्छ भन्ने पक्षमा यो पटक कार्यकर्ताहरूको नारा देखियो।"

शर्मानिकट पौडेलका अनुसार तीन वर्षअघि झापामा भएको एउटा कार्यक्रममा शर्माले थापालाई "भावी प्रधानमन्त्री" भनेर परिचय गराएका थिए।

कांग्रेसको महामन्त्री बनेपछि पार्टी नेतृत्वमा दुवैको महत्त्वाकाङ्क्षा बढ्न सक्ने कांग्रेस कार्यकर्ताहरूको अनुमान छ।

"उहाँहरूमा प्रतिस्पर्धी देख्ने ईर्ष्या भाव त रहने नै भयो तर अरू भन्दा उहाँहरूबीचको सहकार्य सहज हुनसक्ने मेरो बुझाइ छ," तिवारी भन्छन्।

निर्वाचित भएपछि के भने?

महामन्त्रीमा निर्वाचित भएपछि थापा र शर्मा दुवै जनाले एकअर्काको विजयमा गर्व गरे। थापाले २१औँ शताब्दीको नेतृत्व लिन सक्ने कांग्रेस बनाउने वाचा गरे।

"यो पार्टीलाई देखिने, सुनिने, बुझिने र सबैभन्दा ठुलो भरोसा गर्न सकिने" बनाउने आफ्नो योजनाबारे थापाले भने।

"खागसरि नौजवानहरू जसले यत्रो ठूलो परिवर्तनपछि पनि नेपालको राजनीतिक दल र नेतृत्वप्रति भरोसा दिने।"

अर्का नेता शर्माले कांग्रेसलाई रूपान्तरित गर्दै आधुनिक बनाउने बताए।

"कांग्रेस जसरी हिजो चलेको थियो अब त्यसरी चल्दैन। कांग्रेस रूपान्तरित भएर जान्छ र रूपान्तरित भएको कांग्रेस आधुनिक कांग्रेस बन्नेछ," शर्माले विजयपछि पत्रकारहरूसँग भने।

"महामन्त्रीमा दुई वटा युवालाई निर्वाचित गरेर जे आकाङ्क्षा देशले प्रकट गरेको छ त्यस बमोजिम हामी दुई वटै युवाले… देशले एउटा हल बाँधिएर जोडी बाँधिएर काम गरून् भन्ने अपेक्षा राखेको छ त्यो अपेक्षा हामी पूरा गर्छौँ।"