मुस्लिम नागरिकहरूले चलाएको एउटा अमेरिकी सहर

हामट्रामिक

तस्बिर स्रोत, Getty Images

    • Author, झाओयिङ फेङ
    • Role, बीबीसी न्यूज, मिशिगन

मिशिगनको हामट्रामिकस्थित मुख्य सडक टहल्दा विश्वभरि घुमेको जस्तो लाग्छ।

यमनी डिपार्टमेन्ट स्टोर र बङ्गाली लुगा पसलसँगै पोलिस ससेस स्टोर र पूर्वी युरोपेली बेकरी देखिन्छन्।

चर्चको घण्टीसँगै इस्लामिक प्रार्थनाको आवाज पनि सुनिन्छ।

"दुई वर्ग माइलमा विश्व" भन्ने नारामा हामट्रामिक रूपमा खडा भएको देखिन्छ। त्यहाँ पाँच वर्ग किलोमिटर क्षेत्रभित्र ३० भाषाहरू बोलिन्छन्।

यसै महिना २८,००० जनसङ्ख्याको उक्त मध्यपश्चिम सहर एउटा कोशेढुङ्गामा पुग्यो।

हामट्रामिकले त्यहाँको नगर परिषद्‌मा सबै मुस्लिम सदस्यहरू र मुस्लिम नगरप्रमुखलाई चयन गर्‍यो।

त्योसँगै उक्त सहर मुस्लिम-अमेरिकीद्वारा शासित पहिलो सहर बनेको छ।

कुनै बेला विभेदको सामना गरेका मुस्लिम बासिन्दाहरू अहिले उक्त बहुसांस्कृतिक सहरको अभिन्न अङ्ग बनेका छन् र उनीहरूको जनसङ्ख्या आधाभन्दा बढी छ।

भिन्न धार्मिक र सांस्कृतिक पृष्ठभूमिबाट आएका र आर्थिक चुनौती तथा कडा सांस्कृतिक बहसकाबीच हामट्रामिकका बासिन्दाहरू सद्भावका साथ रहेका छन्।

उक्त सहर बढ्दो विविधतामा अमेरिकी भविष्यबारे एउटा गतिलो अध्ययन विषय बन्न सक्छ।

तर के हामट्रामिक एउटा अपवाद बन्छ कि एउटा मानक?

Presentational grey line

जर्मनीबाट आएर बसोबास गरेकाहरूबाट सुरु भएको उक्त सहर आजको दिनमा मुस्लिम बहुसङ्ख्यक भएको अमेरिकी सहर बनेको छ र त्यो त्यहाँका सडकहरूमा छर्लङ्ग देखिन्छ।

त्यहाँ पसलहरूका अघिल्तिर अरबिक र बाङ्गा भाषामा सङ्केतहरू देखिन्छन्। 

बुट्टादार बङ्गलादेशी र जाम्बियन कपडाहरू भेटिन्छन्।

अनि पसलहरूका झ्यालमा यमनको एकखाले घुमाउरो ब्लेड देखिन्छ।

हामट्रामिकमा रहेको चर्च

तस्बिर स्रोत, Getty Images

मुस्लिम बासिन्दाहरू कस्टर्ड भरिएको एकखाले पोलिस डुनट पन्ज्की लिन लाइन लागेका हुन्छन्।

"एउटै सडकमा कोही मिनस्कर्ट र ट्याटु तथा कोही बुर्का लगाएर हिँडिरहेको देख्न सकिन्छ," बोस्नियाबाट आएका आप्रवासी लतान सादिकोभिक भन्छन्।

उनी हामट्रामिकमा एउटा क्याफे चलाउँछन्।

हामट्रामिक कुनै बेला मोटर उद्योगको केन्द्र थियो र त्यहाँ जेनेरल मोटर्सका उद्योगहरूको वर्चश्व थियो।

बीसौँ शताब्दीका बेला उक्त सहर "लिटिल वार्शो"का नाममा चिनिन थाल्यो किनकि त्यहाँ पोलिस आप्रवासीहरू मजदुरी गर्न जान थाले।

पोल्यान्डमा जन्मिएका पोप जोन पोल द्वितीयले अमेरिका भ्रमण गर्दा सन् १९८७ मा उक्त सहरमा बास बसेका थिए।

सन् १९७० मा उक्त सहरका लगभग ९० प्रतिशत जनसङ्ख्या पोलिस थिए।

उक्त दशकमा अमेरिकामा कार उत्पादनमा निकै गिरावट आयो र युवा तथा धनी पोलिस अमेरिकीहरू अन्य नगरहरूमा सर्न थाले।

त्यस परिवर्तनले हामट्रामिकलाई मिशिगनको एउटा सबैभन्दा गरिब सहर बनायो तर त्यहाँ जीवनयापन सहज हुने भएकाले धेरै आप्रवासीहरू आकर्षित भए।

Presentational grey line

विगत ३० वर्षमा हामट्रामिक फेरि परिवर्तन भयो र अरब तथा एशियाली आप्रवासीहरू जाने ठाउँ बन्यो।

त्यसमध्ये धेरै बङ्गलादेश र यमनका थिए।

उक्त सहरमा अहिले पनि उल्लेख्य सङ्ख्यामा विदेशमा जन्मिएका मानिसहरू छन्।

त्यस्ता मानिसको हिस्सा ४२ प्रतिशत छ। त्यहाँका आधाभन्दा बढी धार्मिक रूपमा मुस्लिमहरू छन्।

नयाँ निर्वाचित सरकारको अनुहारले पनि उक्त सहरमा देखिएको परिवर्तनलाई झल्काउँछ।

नगर परिषद्‌मा दुईजना बाङ्गा अमेरिकी, तीनजना यमनी अमेरिकी र एकजना मुस्लिम धर्म अपनाएका पोलिस अमेरिकी रहेका छन्।

अमेरिकामा ६८ प्रतिशत मत ल्याएर चुनाव जित्ने अमेर गालिब पहिलो यमनी-अमेरिकी नगरप्रमुख बन्ने छन्।

"मैले सम्मानित भएको र गौरव महसुस गरेको छु। तर मलाई थाहा छ यो ठूलो जिम्मेवारी हो," ४१ वर्षे गालिबले भने।

यमनको एउटा गाउँमा जन्मिएका उनी १७ वर्षको उमेरमा अमेरिका गएका थिए।

सुरुमा उनले हामट्रामिक नजिकै प्लास्टिकका कारमा लाग्ने सामग्रीहरू बनाउने एउटा कारखानामा काम गरे।

उनले पछि अङ्ग्रेजी सिके र स्वास्थ्यसम्बन्धी तालिम लिए। हाल उनी स्वास्थ्यकर्मीका रूपमा काम गर्छन्।

हामट्रामिकमा फरक समूहहरूले आफ्नो फरक संस्कृतिलाई कायम राख्नुका साथै एकअर्कासँग नजिक र मिलेर रहेको नगर परिषद् सदस्य आमान्डा ज्याकजोस्की बताउँछिन्।

उनका भनाइमा मानिसहरूले अझै पनि आफ्नो संस्कृतिप्रति गौरव गरिरहेका छन्।

उनी एक अर्कासँग नजिक रहेर बस्दा त्यस्ता फरकपनबाट बाहिरिन बाध्य हुने बताउँछिन्।

तर बाहिरिँदै गरेका नगरप्रमुख करेन माजेस्की उक्त सहर "डिज्नील्यान्ड" नभएको बताउँछिन्।

"यो एउटा सानो क्षेत्र हो र हामीबीच पनि द्वन्द्वहरू छन्," उनले भनिन्।

सन् २००४ मा इस्लामिक प्रार्थनाका लागि माइकबाट सार्वजनिक रूपमा आह्वान गर्ने पक्षमा मत गएपछि त्यहाँ सङ्घर्ष उत्पन्न भएको थियो।

त्यस्तै केही व्यक्तिहरूले मस्जिदको नजिक बारहरू नहुँदा स्थानीय अर्थव्यवस्थालाई नराम्रो असर पर्ने बताएका थिए।

छ वर्षअघि मुस्लिम बहुसङ्ख्यक सरकार चुन्ने पहिलो अमेरिकी सहर बनेपछि उक्त सहरमा विश्वभरिबाट सञ्चारकर्मीहरू पुगेका थिए।

त्यसबेला केही सञ्चारमाध्यमले मुस्लिमहरूको ठूलो सङ्ख्याका साथ तनावपूर्ण सहरका रूपमा चित्रित गरेका थिए।

नगर परिषद् सदस्य आमान्डा ज्याकजोस्की

तस्बिर स्रोत, Courtesy of Amanda Jaczkowski

एउटा टिभीले माजेस्कीलाई नगरप्रमुख हुँदा डर त लागेको छैन भनेर सोधेको थियो।

त्यस्तै कतिपयमा मुस्लिम बहुल नगर परिषद्ले मुस्लिम कानुन लागु गर्नसक्ने अनुमान पनि लगाए।

तर उक्त सहरवासीले त्यस्ता व्यक्तिको आँखा थुनिदिएको माजेस्की बताउँछिन्।

जनगणना गर्ने अमेरिकी निकायले धर्मसम्बन्धी विवरण सङ्कलन गर्दैन।

तर पिउ रिसर्च सेन्टरले सन् २०२० मा अमेरिकामा ३८ लाख ५० हजार मुस्लिमहरू बसोबास गरिरहेको अनुमान गरेको छ।

त्यो भनेको कुल जनसङ्ख्याको १.१ प्रतिशत हो। सन् २०४० सम्ममा क्रिश्चियनपछि अमेरिकामा मुस्लिम दोस्रो ठूलो धार्मिक समूह बन्ने प्रक्षेपण गरिएको छ।

Presentational grey line

तर उनीहरूको जनसङ्ख्या बढिरहेको भए पनि अमेरिकामा मुस्लिमहरूलाई पूर्वाग्रहका साथ हेरिन्छ।

सेप्टेम्बर ११ हमला भएको २० वर्षपछि पनि मुस्लिमविरोधी मानसिकताले मुस्लिम र अरब अमेरिकीहरूलाई अझै पनि सताउँछ।

सन् २०१६ मा वयस्क मुस्लिममध्ये करिब आधाले आफूहरूले व्यक्तिगत रूपमा विभेदको सामना गरेको बताएका थिए।

मुस्लिम

तस्बिर स्रोत, Getty Images

त्यसबेला राष्ट्रपतिका उम्मेदवार डोनल्ड ट्रम्पले मुस्लिम बहुल देशहरूबाट आप्रवासीहरूलाई प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए।

अनुसन्धानकर्ताहरूले आम अमेरिकीहरूले सबैभन्दा धेरै नकारात्मक धारणा मुस्लिमहरूप्रति नै राखेको पनि पाएका थिए।

सन् २०१७ मा ट्रम्प प्रशासनले आप्रवासीमाथि प्रतिबन्ध लगाउने निर्णय गर्दा उक्त सहरवासीहरू सबै प्रदर्शनमा सँगसँगै आएका थिए।

"हामट्रामिक, यूएसए" वृत्तचित्रका सह-निर्देशक राजी जाफ्रीका अनुसार उक्त सहरमा बस्नका लागि सबैले एकअर्कालाई सम्मान गर्नुपर्छ भन्ने जानेका छन्।

Presentational grey line

राष्ट्रिय रूपमा पनि अमेरिकामा मुस्लिमहरू राजनीतिमा देखिन थालेका छन्।

सन् २००७ मा मिनिसोटाका डेमोक्र्याट किथ एलिसन पहिलो मुस्लिम सांसद बनेका थिए।

हाल अमेरिकी संसद्‌मा चारजना मुस्लिम सदस्यहरू रहेका छन्।

देशका अन्य भागमा जस्तै उक्त सहरमा पनि कडा सांस्कृतिक बहसहरू हुने गर्छन्।

गत जुनमा नगर सरकारले सिटी हल अगाडि गे प्राइड झन्डा राख्ने निर्णय गर्‍यो।

हामट्रामिक

त्यसबाट त्यहाँका केही बासिन्दा आक्रोशित बनेका थिए।

कैयौँ पसल र घरहरूमा राखिएका त्यस्ता झन्डाहरू हटाइए। त्यसमा माजेस्कीले चलाएको एउटा लुगा पसलमा राखिएको झन्डा पनि सामेल थियो।

"त्यसले मानिसहरूमा वास्तवमै एउटा खतरनाक सन्देश प्रवाह गर्छ," उनले भनिन्।

गाँजा पनि त्यहाँ विवादको विषय बन्यो।

उक्त सहरमा खुलेका तीनवटा औषधालयहरूले मुस्लिम र पोलिस-क्याथोलिक दुवै समुदायका मानिसहरूलाई निराश बनाएको थियो।

अन्यलाई मुस्लिम समुदायमा महिलाहरूको कम राजनीतिक प्रतिनिधित्वबारे चिन्ता लागेको छ।

Presentational grey line

चुनाव भएको राति नगरप्रमुख जितेका गालिब यमनी अमेरिकी समूहद्वारा घेरिएका थिए।

चुनावपछिको भोजमा त्यहाँ बाक्लाभा र कबाब बाँडिएको थियो।

त्यहाँ एक सय जनाभन्दा बढी समर्थकहरू थिए र त्यसमध्ये सबैजसो पुरुष थिए।

उनको चुनावी अभियानमा महिलाहरू सक्रिय थिए तर अझै पनि लैङ्गिक पृथकीकरण अझै रहेको उनी स्वीकार्छन्।

तर युवा पुस्ताहरू धेरै अमेरिकीजस्तो बनेको उनको भनाइ छ।