सल्यान बस दुर्घटनाः मृतकको सङ्ख्या १२ पुग्यो, ८ गम्भीर घाइतेलाई हेलिकप्टरबाट नेपालगन्ज लगियो

सल्यान

तस्बिर स्रोत, Jit Prasad Acharya

पश्चिम नेपालको सल्यान जिल्लाबाट दाङको तुलसीपुरतिर जाँदै गरेको एउटा यात्रुवाहक बस सडकबाट तल खस्दा कम्तीमा १२ जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ।

उक्त बसमा झन्डै ३० जना यात्रु सवार रहेको बुझिएको अधिकारीहरूको भनाइ छ। मृत्यु हुनेहरूमध्ये १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईँ खतिवडाले बीबीसीलाई बताएकी छन्।

गम्भीर घाइते भएका आठ जनालाई हेलिकप्टरबाट नेपालगन्ज पठाइएको उनले बताइन्। घाइतेमध्ये धेरै जनालाई मेरुदण्डमा चोट पुगेको बताइएका छ।

यसअघि उनले उद्धारकार्यमा संलग्न टोलीलाई उद्धृत गर्दै अधिकारीहरूले "धेरै घाइतेहरू गम्भीर अवस्थामा" रहेको बताएकी थिइन्।

अरू घाइतेलाई एम्बुलेन्सबाट जिल्ला अस्पताल वा नेपालगन्जको कोहलपुरस्थित अस्पतालतिर पठाइएको जानकारी उनले दिइन्।

Map
Presentational grey line

प्रमुख जिल्ला अधिकारीका अनुसार दुर्घटना जिल्लाको कपुरकोटमा भएको हो। दुर्घटनास्थल जिल्ला सदरमुकाम खलङ्गाबाट झन्डै ३५ किलोमिटर दक्षिणपूर्वमा छ।

राष्ट्रिय समाचार समितिका अनुसार मृतकमध्ये दुई जना बालबालिका पनि छन्।

जिल्ला प्रहरी कार्यालयलाई उद्धृत गर्दै राष्ट्रिय समाचार समितिले छ जनाको दुर्घटनास्थलमै मृत्यु भएको जनाएको छ।

कसरी भयो दुर्घटना?

प्रहरीको प्रारम्भिक अनुसन्धानमा तीव्र गतिमा गुडेको बसले अर्को सवारीसाधनलाई उछिन्न खोज्दा दुर्घटना भएको देखिएको प्रमुख जिल्ला अधिकारीले बताइन्।

भर्खरै विस्तार गरिएको सडकबाट बस झन्डै २०० मिटर तल खसेको थियो।

"त्यो खासै दुर्घटना हुने ठाउँ चाहिँ हैन रहेछ," उनले भनिन्, "ओभरटेक गर्दा भएको भन्ने छ।"

आइतवार अपराह्न बीबीसीसँग कुरा गर्दै उनले भनेकी थिइन्,"हामी अस्पतालमै छौँ। धेरै जना घाइतेहरू हुनुहुन्छ। यहाँ उपचार सम्भव नभएकाले हेलिकप्टरबाट अन्यत्रै लानुपर्ने अवस्था छ।"

सल्यान

तस्बिर स्रोत, Jit Prasad Acharya

उनका अनुसार हाल सिकिस्त अवस्थामा रहेका घाइतेहरूलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगिएको छ।

"नेपाली सेनाको हेलिकप्टरमार्फत घाइतेहरूको उद्धार गरिएको हो," उनले जानकारी दिइन्।

दशैँको बेला एउटा यात्रुवाहक बस मुगु जिल्लाको राराछायानाथ नगरपालिका-७ मा दुर्घटनामा पर्दा कम्तीमा ३२ जनाको मृत्यु भएको थियो।

नेपालका पहाडी मार्गहरूमा प्रत्येक वर्ष चाडवाडका बेला ठूला दुर्घटनामा परेर धेरै मानिसले ज्यान गुमाउने गरेका छन्।

Presentational grey line

तथ्याङ्कमा सडक दुर्घटना

  • बर्सेनि सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या: साढे १३ लाख
  • दुर्घटनाबाट ज्यान गुमाउने मानिसमध्ये ९३% मध्य तथा निम्न आय भएका देशका
  • विश्वभरि सडक दुर्घटना ५-२९ वर्ष उमेर समूहको ज्यान जानुको प्रमुख कारण
  • दैनिक सडकमा संसारभरि ज्यान गुमाउनेको सङ्ख्या: ३,७००
  • अफ्रिका र दक्षिण पूर्वी एशियामा सबैभन्दा बढी सवारी दुर्घटना
  • न्यून आय भएका देशमा सन् २०१३ यता सवारी दुर्घटना नियन्त्रणमा आउन सकेको छैन
  • सवारी दुर्घटनामा हुने मृत्युमध्ये २७ प्रतिशत दक्षिण एशियामा
  • नेपालमा प्रति एक लाखमा लभभग १६ जनाको मृत्युको कारण सवारी दुर्घटना
  • सडक दुर्घटनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादनमा बर्सेनि ०.८ प्रतिशत क्षति
Presentational grey line