जलवायु परिवर्तन: 'बहुमत' नागरिक आफ्नो देशले बलिया कदमहरू चालोस् भन्ने पक्षमा

बीबीसीले गरेको एउटा मत सर्वेक्षणका अनुसार जलवायु परिवर्तनविरुद्ध आफ्नो देशले बलिया कदमहरू चालुन् भन्ने पक्षमा मानिसहरूको समर्थन विश्वभरि नै बढ्दो छ।

३० हजारभन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा ५६ प्रतिशतले ग्लासगोमा अर्को साता हुने संयुक्त राष्ट्रसङ्घको जलवायुसम्बन्धी सम्मेलनमा आफ्नो देशका तर्फबाट नेतृत्व देखाइयोस् भन्ने चाहेका छन्।

वातावरण संवाददाता म्याट म्याकग्रथ भन्छन्, "३१ वटा देशहरूमा गरिएको मत सर्वेक्षणमा धनी र गरिब दुवै देशका मानिसहरू आफ्ना नेताले जलवायु परिवर्तनसँग जुध्नका लागि ठूला महत्त्वाकाङ्क्षा राखुन् भन्ने चाहन्छन्।"

सन् २०१५ मा भएको प्यारिस सम्झौतायता महत्त्वाकाङ्क्षी लक्ष्यहरू हेर्ने चाह उल्लेख्य रूपमा बढेको देखिन्छ।

आउँदो साता ग्लासगोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी सम्मेलन सीओपी २६ जलवायु परिवर्तनलाई नियन्त्रणमा ल्याउनका लागि महत्त्वपूर्ण हुने ठानिएको छ।

उत्सर्जन कटौतीबारे करिब दुई सय वटा देशलाई योजना ल्याउन भनिएको छ। त्यसले दैनिक जीवनमा ठूला परिवर्तनहरू ल्याउन सक्नेछ।

सन् १९९८ मा सर्वेक्षणकर्ताहरूले सर्वेक्षण थालेयता जलवायु परिवर्तनबारेको चासो अहिले सबैभन्दा धेरै देखिएको छ।

जङ्गलबाट पनि कार्बन उत्सर्जन

अर्को एउटा नयाँ सर्वेक्षणले मानव गतिविधि र जलवायु परिवर्तनले विश्वका १० धेरै संरक्षित जङ्गलहरू हरित गृह ग्यास सोस्नेबाट कार्बन उत्सर्जन गर्नेमा परिवर्तन भएको देखाएको छ।

त्यस्तो परिवर्तन विगत दुई दशकमा भएको जलवायु परिवर्तन र गैर कानुनी रूपमा गरिने जङ्गल फडानी, बारम्बार भइरहने आगलागी जस्ता कारणबाट भएको बताइएको छ।

यो नयाँ सर्वेक्षण युनेस्को अन्तर्गत विश्व सम्पदा सूचीमा सूचिकृत भएका २५७ जङ्गलहरू मध्ये गरिएको हो।

ती जङ्गलहरूले जर्मनी देशभन्दा दोबर क्षेत्रफल ओगट्छन् जसले प्रत्येक वर्ष १९ करोड टन कार्बन वातावरणबाट सोस्छन्।

गत अगष्टमा संयुक्त राष्ट्रसंघले मानवीय गतिविधिले वायुमण्डल, समुद्र र जमिनमा विश्वव्यापी तापक्रम स्पष्ट रूपमा बढाइरहेको भन्दै एउटा प्रतिवेदन निकालेको थियो।

जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी प्यानलले तयार गरेको उक्त प्रतिवेदनले प्रचण्ड गर्मी, अति वर्षा, सुक्खा र चक्रवातजस्ता परिणाम विश्वभरि नै देखिन थालेको जनाएको थियो।

तर अझै खराब परिणाम नआओस् भन्नका लागि अवसर रहेको र त्यसका निम्ति कार्बनडाइअक्साइड, मिथेन र अन्य हरितगृह ग्यास कटौती गर्न सकिने प्रतिवेदनले सुझाएको थियो।