नेपाल स्वास्थ्य: हैजाको जोखिम कस्तो छ, नियन्त्रणका लागि के गरिँदैछ

हैजा
तस्बिरको क्याप्शन, कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका हैजा पुष्टि भएको हो

पश्चिम नेपालको कपिलवस्तुमा केही नमुना परीक्षण गर्दा हैजाको जीवाणु फेला परेपछि त्यसलाई नियन्त्रण गर्न एकीकृत कार्यक्रम अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

असोजको मध्ययता त्यहाँ नौ सय जनाभन्दा बढी मानिस झाडापखाला तथा बान्ताबाट प्रभावित भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ताले उक्त क्षेत्रमा सङ्कलन गरिएकामध्ये चारवटा दिसाका नमुनामा हैजाको जीवाणु "भिब्रिओ कोलरी जीरो वन ओगावा" पाइएको थियो र नौ वटामा इकोली देखिएको जानकारी दिए।

गत वर्षभन्दा यसपालि नेपालमा मनसुन लम्बिएको भए पनि यो नै हैजा पुष्टि भएको पहिलो घटना भएको बताइन्छ।

तर विगतका वर्षमा पनि राजधानी काठमाण्डूसहित विभिन्न ठाउँमा हैजाको सङ्क्रमण देखिएको र त्यसको नियन्त्रणका लागि एकीकृत कार्यक्रम सञ्चालन गर्ने गरिएको अधिकारीहरू बताउँछन्।

अहिलेको अवस्था के छ?

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ७, ८ र ९ मा असोज १८ गतेदेखि झाडापखाला र बान्ताबाट मानिसहरू पीडित भएका थिए।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म उक्त प्रकोपबाट ९३२ जना प्रभावित भएका छन्। तीमध्ये २० जना अझै उपचाररत छन्।

अधिकारीहरूले कपिलवस्तु अस्पताल र लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका ९१२ जनालाई डिस्चार्ज गरिएको जनाएका छन्।

झाडा र बान्ताबाट चार जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मृतकमध्ये एक जनाको घरमै, दुई जनाको अस्पताल लैजाँदै गर्दा र अर्का एक जनाको निजी क्लिनिकमा मृत्यु भएको थियो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले अझै पनि दैनिक १० देखि १२ जना उपचारका लागि आइरहेको बताए।

उनले झाडापखालाको प्रकोपका कारण मानिसहरू प्रभावित भएसँगै आफूहरूले उक्त क्षेत्रमा हैजा देखा परेको हुनसक्ने पूर्वानुमान गरेको बताए।

विश्वस्वास्थ्य सङ्गठनले हैजाको आरडीटी परीक्षण र सङ्कलित नमुनाको थप परीक्षण गर्न काठमाण्डू पठाउन सहयोग गरेको थियो

तस्बिर स्रोत, WHO Nepal/M. Pradhan

तस्बिरको क्याप्शन, विश्वस्वास्थ्य सङ्गठनले हैजाको आरडीटी परीक्षण र सङ्कलित नमुनाको थप परीक्षण गर्न काठमाण्डू पठाउन सहयोग गरेको थियो

विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा विभिन्न मितिमा सङ्कलन गरिएका दिसाका नमुनाहरू लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा ५० वर्षमाथिका तीन पुरुष र एक पाँच वर्षीया बालिकाको नमुनामा हैजाको जीवाणु फेला परेको थियो।

डा. पौडेल भन्छन्, "व्यवस्थापन सुरुदेखि नै हैजाको हिसाबले भएको थियो। अहिले पनि काम भइरहेको छ। तर पानीमा ठ्याक्कै पुष्टि गर्न सकिएन किनभने अरू जीवाणु पनि त्यहाँ रहेको छ। तर एउटा कुरा प्रष्ट भयो कि त्यहाँ खानेपानी राम्रो छैन, पानीको पाइप फुटेको छ र कलहरूबाट जोखिम छ। शौचालयको राम्रो प्रयोग भएको छैन र जनस्वास्थ्यलाई ध्यान दिइएको छैन भन्ने देखियो।"

विश्वस्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका अनुसार प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएका पाँच नमुनामध्ये एउटामा हैजाको जीवाणु देखिएको थियो। त्यसपछि थप नमुनालाई काठमाण्डूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

परीक्षण गरिएका १७ नमुनामध्ये कुल चार वटामा हैजाको जीवाणु पाइएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

सरकारले के गरिरहेको छ?

उक्त अवस्थालाई नियन्त्रणमा लिन एकीकृत रूपमा नै सबै साझेदारहरूलाई आफूहरूले परिचालन गर्न खोजेको उनको भनाइ छ।

उनले भने, "खानेपानी सफा पिउनुपर्‍यो, हात राम्रोसँग धुनुपर्‍यो, शौचालयको प्रयोग गर्नुपर्‍यो। शौचालय नभएकाले बनाउनुपर्‍यो लगायतका क्षेत्रमा काम गर्नु पर्ने भयो। सत्तरी प्रतिशत घरमा शौचालय नभएको भन्ने खालको पाइयो, त्यो बनाउन समय लाग्ला। अब उपचारको व्यवस्थापनभन्दा पनि सफा पिउने पानी र सरसफाइमा ध्यान दिनुपर्ने भयो।"

त्यहाँका स्थानीय साझेदारहरू र नगरपालिकाले घरदैलोसहित जनचेतानात्मक अभियान चलाइरहेको उनले बताए।

हैजा
तस्बिरको क्याप्शन, शिवराज अस्पतालमा केही दिनअघि उपचाररत बिरामी

उक्त क्षेत्रबाट सङ्कलित गरिएका नमुनामा हैजाको जीवाणु देखिएको पुष्टि भएपछि आइतबार स्वास्थ्य मन्त्रालयले निकालेको विज्ञप्तिमा झाडापखालाका कारण शरीरको पानी खेर जाने हुनाले त्यसले मानिसको मृत्युसम्म गराउन सक्ने भन्दै सावधानी अपनाउन सुझाव दिएको थियो।

डा. पौडेलका अनुसार हैजाको प्रकोप नियन्त्रणका शुद्ध पानी पिउने र सरसफाइ कायम राख्ने जस्ता कदम चाल्न सकिन्छ।

मन्त्रालयको विज्ञप्तिमा खाना बनाउनु वा खानुअघि साबुनपानीले मिचीमिची हात धुने, राम्ररी पाकेको खाना मात्र खाने तथा बासी वा सडेगलेका खानेकुरा नखाने, पानी उमालेर वा क्लोरिन प्रयोग गरेर मात्र पिउने र खुला रूपमा दिसापिसाब नगर्ने साथै दिसापिसाब गरिसकेपछि साबुनपानीले मिचीमिची हात धुनुपर्ने सुझाव दिइएको छ।

प्रभावित स्थानमा उपचार सामग्री पठाएको उल्लेख गर्दै डब्ल्यूएचओ नेपालले सम्भावित प्रकोप नियन्त्रणका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग अवस्थाको अनुगमन तथा प्रतिकार्यमा मिलेर काम गरिरहेको जनाएको छ।

कसैलाई तारन्तार झाडापखाला भए जीवनजल पिउनुपर्ने र अस्पताल जानुपर्ने स्वास्थ्यकर्मीहरूले बताउने गरेका छन्।

कोलेराको जीवाणु

तस्बिर स्रोत, Science Photo Library

तस्बिरको क्याप्शन, कोलेराको जीवाणुले सानो आन्द्रामा सङ्क्रमण गर्छ

नेपालमा हैजाको जोखिम कस्तो?

प्रवक्ता पौडेलले नेपालमा वर्षा याममा प्रत्येक वर्ष हैजा देखा परिरहेको बताए।

उनले भने, "विगतमा काठमाण्डूमा नै पनि देखिएको छ। मनसुनको समयमा सधैँ हुन्छ। त्यही भएर हामी जोखिममा नै छौँ। हामीले नियन्त्रणका उपाय निरन्तर अवलम्बन गर्नुपर्ने देखिन्छ। हामीले अवस्थालाई सधैँ निगरानी गरिरहेकै छौँ। यो वर्षको पुष्टि हुने प्रकोप देखिएको यो पहिलो घटना हो।"

विभिन्न वैज्ञानिक अध्ययनहरूले दक्षिण एशियाका देशहरूमा हैजा एउटा ठूलो स्वास्थ्य समस्या रहेको देखाएका छन्।

नेपालमा बर्सेनि ३० हजार जनाभन्दा बढी हैजाको प्रकोपबाट प्रभावित हुने र ९०० जनाभन्दा बढीले ज्यान गुमाउने गरेको अनुमान एउटा अध्ययनमा उल्लेख छ।

काठमाण्डूमा उपत्यकामा प्रत्येक वर्ष वर्षायाममा झाडापखालाका प्रकोपहरू देखा पर्ने गरेका यूनिसेफको एउटा अध्ययनमा उल्लेख छ।

सन् २०१७ मा हैजा नियन्त्रण तथा पूर्वतयारीसम्बन्धी पाँचवर्षे योजना नेपाल सरकारले अनुमोदन गरेको थियो।

Presentational grey line

के हो हैजा?

  • हैजा गम्भीर खालको झाडापखाला हो। समयमा उपचार गरिएन भने पीडित व्यक्तिको मृत्यु केही घण्टामै हुन सक्छ
  • भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरियाका कारण यो रोग लाग्छ
  • अनुसन्धानकर्ताहरूका अनुसार विश्वभरि बर्सेनि १३ लाख देखि ४० लाख मानिसलाई हैजा भएको हुन सक्छ
  • हैजाका कारण बर्सेनि २१,००० देखि १,४३,००० मानिसको संसारभरि मृत्यु हुने आकलन गरिएको छ
  • हैजा भएका ८० प्रतिशत बिरामीको जीवनजल प्रयोग गरेर सफलतापूर्वक उपचार हुन्छ
  • गम्भीर खालको हैजा लाग्दा तत्काल एन्टिबायोटिक र नसाबाट सलाइन दिएर उपचार गर्नुपर्छ
  • अरू पानीजन्य रोगमा जस्तै हैजा रोकथाम गर्न सुरक्षित पानी तथा सरसफाइ महत्त्वपूर्ण हुन्छन्
  • विश्वमा हैजाबाट हुने मृत्यु ९० प्रतिशतले घटाउने उद्देश्य राखेर सन् २०१७ मा एउटा रणनीति ल्याइएको छ

(स्रोत: विश्व स्वास्थ्य सङ्गठन)

Presentational grey line