के कपिलवस्तुको कृष्णनगरमा हैजा फैलिएको सङ्केत हो

शिवराज अस्पतालमा उपचाररत बिरामी
तस्बिरको क्याप्शन, शिवराज अस्पतालमा उपचाररत बिरामी

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाका तीनवटा वडामा हैजा फैलिएको हुन सक्ने स्वास्थ्य अधिकारीहरूले आशङ्का गरेका छन्।

लुम्बिनी प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख डा. प्रभाकर चौधरीले परीक्षण गरिएकामध्ये दिसाको एउटा नमुनालाई हैजाको 'आशङ्का'मा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउन लागिएको बीबीसीलाई बताएका छन्।

"पुष्टिका लागि सीरोटाइपिङ्ग गर्नुपर्ने भएकोले र हामीकहाँ हुने अवस्था नरहेकोले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन लागेका हौँ," उनले भने।

उनका अनुसार जिल्लाबाट प्राप्त कुल पाँचवटा नमुनाको त्यहाँ परीक्षण गरिएको थियो।

अहिलेसम्म दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयका कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बीबीसीलाई बताएका छन्।

उनका अनुसार सोमवार रातिबाट कृष्णनगर नगरपालिकाका ७, ८ र ९ मा झाडापखालाको प्रकोप शुरू भएको थियो।

जिल्लास्थित शिवराज अस्पतालमा ३७० जना बिरामीलाई भर्ना गरिएकोमा ११० जना अझै उपचाररत रहेको उनले बताए।

"३२ जनालाई रेफर गरिएको छ, बाँकी डिस्चार्ज भएर घर गइसक्नुभएको छ," उनले भने।

कसरी फैलियो प्रकोप?

स्वास्थ्य कार्यालय प्रमुख पाण्डेका अनुसार दिसाको नमुनाका साथै पानीको पनि जाँच गर्न नमुना पठाइएको थियो।

"हामीलाई ल्याबबाट भर्खरै प्राप्त मौखिक जानकारी अनुसार पानीमा कोलिफर्म पोजिटिभ पुष्टि भएको छ,"उनले भने।

"त्यो भनेको कुनै न कुनै रूपमा पानीमा दिसा मिसियो र त्यही पानी खाएर यो समस्या भयो भन्ने हो।"

शिवराज अस्पतालमा उपचाररत बिरामी
तस्बिरको क्याप्शन, शिवराज अस्पतालमा उपचाररत बिरामी

अहिले प्रकोप देखिएका वडाहरूमा पिउने पानीको मुख्य स्रोत खानेपानी संस्थानले वितरण गर्ने पानी रहेको स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले बताए।

"खानेपानी संस्थानले बोरिङको पानी ओभरहेड ट्याङ्कमा राखेर आपूर्ति गर्दै आएको हो,"उनले भने।

पाण्डेका अनुसार झाडापखालाको प्रकोप देखिएसँगै पानी उमालेर मात्र पिउन भन्दै माइकिङ्ग शुरू गरिएको छ।