तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
चीन: एपलको कुरान एप चीनमा नखुल्ने बनाइयो
अमेरिकी मोबाइल फोन निर्माता एपलले विश्वकै चर्चित मध्येको एक कुरान एप चीनमा उपलब्ध नहुने गरी हटाएको छ।
चिनियाँ अधिकारीहरूको आग्रहपछि एप हटाइएको कम्पनीले बीबीसीसँग पुष्टि गरेको छ।एपलको एप स्टोरमा विश्वभरी उपलब्ध हुने कुरान मजीदले करिब १ लाख ५० हजार समीक्षा पाएको छ।
तर चिनियाँ अधिकारीहरूले गैर कानुनी धार्मिक शब्दहरू राखेको भन्दै हटाउन आग्रह गरेपछि एप चीनबाट हटाइएको कम्पनीले जनाएको छ।चीन सरकारले यसबारे प्रतिक्रियाका लागि गरिएका आग्रहमा कुनै जवाफ दिएको छैन।
यो एप्लिकेशन हटाइएको सूचना सबैभन्दा पहिले विश्वभर एपलको स्टोर अनुगमन गर्ने वेबसाइट 'एपल सेन्सरसिप'ले बाहिर ल्याएको थियो।चिनियाँ कम्युनिस्ट पार्टीले देशमा इस्लामलाई धर्मको मान्यता दिए पनि मुसलमानमाथि हुने व्यवहारका कारण चीनको आलोचना हुने गरेको छ।
चीनमाथि सिन्जियाङ राज्यमा बसोबास गर्ने वीगर मुसलमानहरूमाथि मानवअधिकार उल्लङ्घन र जातीय नरसंहारको आरोप लगाइने गरिएको छ।बीबीसीले यसअघि सिन्जियाङमा भएको दमन वीगर धर्मगुरुहरूप्रति लक्षित रहेको समाचार प्रकाशित गरेको थियो।
एप हटाएको विषयमा एपलले प्रतिक्रिया दिन अस्वीकार गरे पनि उसको मानवअधिकार नीति हेर्न आग्रह गरेको थियो। जसमा "हामी स्थानीय कानुन मान्न बाध्य छौँ तर कतिपय जटिल अवस्था पनि हुन सक्छन् जसमा हामी सरकारसँग असहमत हुन सक्छौँ," भनिएको छ।
तर कुन नियमले एपललाई उक्त एप हटाउन बाध्य बनायो भन्ने अझै स्पष्ट छैन। कुरान मजीदले "विश्वभरका ३ करोड ५० लाख मुसलमानहरूको विश्वास जितेको" दाबी गर्दै आएको छ।गत महिना एपल र गुगल दुवैले रुसमा जेल परेका विपक्षी नेता एलेक्सी नभाल्नीले बनाउन लगाएको एउटा रणनीतिक मतदान सम्बन्धी एप हटाएका थिए।
रुसी अधिकारीहरूले सत्तासीन पार्टीका उम्मेदवारलाई हटाउन प्रयोगकर्ताहरूलाई प्रोत्साहित गर्ने एप नहटाए दुवै कम्पनीलाई जरिवाना गर्ने चेतावनी दिएका थिए। चीन एपलको सबैभन्दा ठुलो मध्येको बजार हो भने यसको आपूर्ति पनि चिनियाँ उत्पादकहरूमा ठुलो मात्रामा निर्भर छ।
एपलका प्रमुख कार्यकारी टिम कुकलाई अमेरिकी राजनीतिबारे टिका टिप्पणी गरे पनि चिनियाँ राजनीतिबारे मौन बसेको आरोप लाग्ने गरेको छ।कुकले सन् २०१७ मा मुसलमान बाहुल्य देशहरूलाई प्रतिबन्ध लगाउने तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिको आलोचना गरेका थिए।
तर उनीमाथि चीन सरकारले लगाएका पूर्व प्रतिबन्धहरू चुपचाप पालना गरेको र मुसलमान अल्पसङ्ख्यकमाथि चिनियाँ रवैयाको आलोचना नगरेको आरोप लाग्दै आएको छ।यसअघि न्युयोर्क टाइम्सले चीन सरकारले सीमा तोकेपछि एपलले एपहरू हटाउने गरेको समाचार प्रकाशित गरेको थियो।
चीनमा तिआननमेन स्क्वायर, दलाई लामा तिब्बत र ताइवानको स्वतन्त्रता जस्ता विषयहरूमा छलफल गर्न बन्देज लगाइएको छ।कुरान मजिद एपका निर्माताहरूसँग कुरा गर्न बीबीसीले प्रयास गरे पनि उनीहरूबाट कुनै प्रतिक्रिया पाएको छैन।
यसै साता अर्को धार्मिक एप्लिकेशन 'ओलिभ ट्रिज् बाइबल एप' पनि एपलले चीनबाट हटाएको थियो। तर त्यो एप कम्पनीले आफैँ हटाएको बताएको छ।यसबारे ओलिभ ट्रिज्ले कुनै प्रतिक्रिया दिएको छैन।
एपल सेन्सरसिपका कार्यक्रम निर्देशक बेन्जामिन इस्मेलले "एपल चीनको पूर्व प्रतिबन्ध शाखा" भएको आरोप लगाएका छन्।"उनीहरूले ठिक काम गर्नुपर्थ्यो र त्यसमा चीन सरकारले जनाउने प्रतिक्रियाको सामना गर्नुपर्थ्यो," उनले भने।
यसअघि बिहीवार माइक्रोसफ्टले आफ्नो सामाजिक सञ्जाल लिङ्क्डइन चीनमा बन्न गर्न लागिएको जनाएको थियो। उसले चीनको नियम पालना गर्नु चुनौतीपूर्ण हुँदै गएको उल्लेख गरेको थियो।केही पत्रकारहरूको प्रोफाइल ब्लक गरिएकोबारे प्रश्न उठेपछि मानिसहरूको पेशा सम्बन्धी सामाजिक सञ्जाल लिङ्क्डइन बन्द भएको थियो।