भारतका नेपाली भाषी: दशैँ भन्दा ठूलो कुनै चाड छैन

    • Author, उमाकान्त खनाल
    • Role, झापा

भारतमा नेपाली भाषीहरूको बाक्लो बसोबास रहेको दार्जिलिङ, सिक्किम तथा आसाममा दशैँको छुट्टै रौनक रहने गरेको छ।

जुन बेला गोर्खाल्याण्ड आन्दोलनको सुरुआत भएको थियो, त्यसपछिका दशैँ तथा तिहारमा भारतमा छुट्टै राज्य गोर्खाल्याण्डको एजेन्डा बोकेर मानिसहरूले मनाउने गरेका थिए।

तर अहिले परिस्थिति बदलिएको छ। कोरोनाभाइरस महामारीका कारण गत वर्ष जस्तै यस वर्ष पनि स्वास्थ्य मापदण्डको पालना गरेर प्रशासनको अनुमतिमा मात्र झाँकी प्रदर्शन गर्न पाइने नियम छ।

यो वर्षको दशैँमा कुनै राजनीतिक मुद्दा बोकेर नभई पारम्परिक रूपमा भारतका नेपाली भाषीहरूले दशैँ मनाइरहेका छन्।

कस्तो हुन्छ भारतको दशैं?

भारतको सिक्किम तथा दार्जिलिङ पहाडमा सबै किसिमका नेपाली समुदायको बसोबास छ।

त्यहाँ सबै समुदायले दशैँ मनाउँछन्। कुन जातले मनाउने वा कुन जातले नमनाउने भन्ने विषय अहिले बिस्तारै हट्दै गएको छ।

सिक्किमका एक साहित्यकार तथा प्राध्यापक रुद्र पौडेलका अनुसार केही राजनीतिक दलको स्वार्थमा दशैँलाई सङ्कुचित पार्ने कोसिस भए पनि अहिले त्यो बिस्तारै हट्दै छ।

पौडेलले भने, "पहिलाका केही राजनीतिक दलले फाटो ल्याउन कोसिस नगरेका होइनन्। तर अहिले दशैँ सबै नेपालीको रहेछ भन्ने परिसकेको छ।"

केही समुदायले पहिला दशैँमा सेतो टीका लगाउने चलन रहे पनि अहिले प्रायःले रातै टीका लगाउन थालेको पौडेलले बताए।

झाँकीका साथ फूलपाती

नेपाली भाषी भारतीयहरूको बसोबास रहेको सिक्किम, दार्जिलिङ, खरसाङ तथा समथर भूभागका क्षेत्रहरूमा फूलपातीका दिन धूमधामका साथ झाँकीसहित फूलपाती भित्र्याउने चलन पहिलादेखि कै हो।

अझ त्यो दिन सबै तिक्तता बिर्सेर भेला हुने पर्वका रूपमा फूलपाती परिचित छ।

दौरा सुरुवाल, फरिया चोली लगाएर बाजागाजाको तामझामका साथ फूलपाती भित्र्याएपछि दार्जिलिङका नेपाली भाषी गोर्खालीहरूको घर घरमा दशैँको रौनक बढ्ने गरेको छ।

दार्जिलिङ निवासी मोहन लामाका अनुसार अरुबेला जस्तोसुकै विमति भए पनि त्यो दिन सबै नेपाली समुदायका मानिसहरूले उत्सव मनाउँछन्।

लामा भन्छन्, "फूलपाती त अपार हुन्छ दार्जिलिङमा। तर गत वर्ष र यस वर्ष चाहिँ महामारीले अलि खल्लो जस्तो भएको छ।"

लामाका अनुसार दार्जिलिङमा नेपाली भाषी बाहेक बङ्गाली तथा विहारी समुदायका मानिसहरूले पनि दशैँ धूमधामका साथ मनाउने गरेका छन्।

नेपालीलाई जोड्ने उत्सव

भारतमा बसोबास गर्ने नेपाली भाषी समुदायले दशैँलाई विश्वभरका नेपालीलाई जोड्ने उत्सवको रूपमा चित्रण गर्ने गरेका छन्।

उनीहरूका अनुसार ठूला-बडाको आदर गर्ने संस्कार सिकाउने पर्व हो दशैँ।

साहित्यकार रुद्र पौडेल भन्छन्, "दशैँभन्दा ठूलो चाड हिन्दू नेपालीका लागि अरू कुनै छैन। विश्वभरका नेपालीले मनाउने सबभन्दा ठूलो चाड नै दशैँ भएकाले यो त विश्वभर छरिएर रहेका नेपालीलाई जोड्ने उत्सव हो।"

समुदायबीच कुनै भेदभाव नराखी भारतमा बसोबास गर्ने नेपालीहरू दशैँ मनाउन जुटेका छन्।

आ-आफ्नो संस्कृति मान्ने भन्दै दशैँ कसैले मान्ने कसैले नमान्ने आवाजहरू उठिरहँदा उनीहरू भन्छन्, "यो हाम्रो गोर्खे परम्परा हो। हामी यो परम्परा छोड्दैनौँ।"