'नेपाल-भारत सम्बन्ध विशेष भन्दै भारतीय विदेशमन्त्रीसँग छलफल गरेको छैन': परराष्ट्रमन्त्री नारायण खड्का

तस्बिर स्रोत, Nepal Mission to the UN
परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको छलफलमा नेपाल-भारत 'विशेष सम्बन्ध' उल्लेख गर्दै कुनै छलफल नभएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएर बिहीवार स्वदेश फर्केका उनले नेपाल-भारत घनिष्ट मित्र भएको र दुई देशबीच उठ्न सक्ने सवालहरूमा वार्ताद्वारा सकेसम्म हल गर्दै आएको धारणा भारतीय विदेशमन्त्रीले राखेको जानकारी दिए।
यसअघि आइतवार भएको भेटवार्तापछि सामाजिक सञ्जाल ट्विटरमार्फत् जयशंकरले दुई देशबीच विशेष सम्बन्ध अघि बढाउन नजिक रहेर काम गर्ने सहमति भएको उल्लेख गरेका थिए।
दुई परराष्ट्रमन्त्रीको भेटघाट शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएयता काठमाण्डू र दिल्लीबीच अहिलेसम्मको उच्चस्तरको कूटनीतिक छलफल हो।
विशेष सम्बन्धबारे प्रश्न
त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उक्त 'विशेष सम्बन्ध' अघि बढाउने सहमतिबारे सञ्चारकर्मीले खड्कालाई प्रश्न सोधेका थिए।
त्यसको जबाफमा मन्त्री खड्काले भने, "त्यो 'विशेष' भन्ने विषय हाम्रो छलफलमा आएको थिएन्। त्यो उहाँले हामीबीच सहमति भयो भनेर आफ्नो ट्वीटमा राख्नुभयो तर त्यस्तो केही छैन। त्यो उहाँको ट्वीट हो, त्यसमा मैले धैरै भन्ने कुरा छैन।"
लगभग आधा घण्टाको छलफलमा भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवालाई सफल कार्यकालका लागि शुभकामना दिएको, भारतीय लगानीमा नेपालमा सञ्चालित भइरहेका परियोजनासहित दुईपक्षीय सम्बन्धका विविध पक्षमा छलफल भएको उनले बताए।
मन्त्री खड्काका अनुसार नेपाल-भारत सम्बन्धमा देखा परेका समस्याहरू समाधान गर्ने विषयमा पनि उक्त भेटवार्तामा छलफल भएको थियो।
उनले भने, "नेपाल र भारत नजिकका मित्र हुन्। घनिष्ट मित्र भएको हुनाले नेपाल-भारतको सम्बन्धमा उठ्न सक्ने उठ्ने सवालहरू वार्ताद्वारा समाधान गर्ने सकेसम्म गर्दै आएका छौँ र हामी फेरि मिल्छौँ भनेर उहाँले भन्नुभयो।"
मन्त्री खड्का र भारतीय विदेशमन्त्री बीचको भेटवार्तापछि न्यूयोर्कस्थित नेपाली मिसनले नेपाल र भारत बीचको सहकार्य अभिवृद्धि गर्ने विषयमा दुई मन्त्रीहरूबीच छलफल भएको उल्लेख गरेको थियो।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
जयशंकरलाई नेपाल भ्रमणको निम्तो दिइने
खड्काले सातौँ नेपाल-भारत परराष्ट्रमन्त्री स्तरीय बैठकमा भाग लिन भारतीय विदेशमन्त्रीलाई काठमाण्डू भ्रमणको निम्तो दिइने र जयशंकरले त्यसमा सहभागी हुन आउने बताए।
परराष्ट्र मन्त्रालयले उक्त बैठकको मिति खुलाएको छैन।
यसअघि उक्त संयन्त्रको छैठौँ बैठक नयाँ दिल्लीमा भएको थियो। त्यसमा नेपालका तर्फबाट तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहभागी थिए।
नेपाल-भारत दुवैले आफ्नो भूमि दाबी गरेको कालापनी, लिपुलेक र लिम्पियाधुरालाई आ-आफ्ना देशका नक्सामा समेटिएपछि सन् २०१९ मा नेपाल-भारत सम्बन्ध चिसिएको थियो।
सन् २०२१ को ज्यानुअरीमा देशका परराष्ट्रमन्त्रीको संयन्त्रको बैठकमा 'सीमा व्यवस्थापन'को विषयमा छलफल भएको उल्लेख गरिएको थियो।
सोमवार महासभामा बोल्दै परराष्ट्रमन्त्री खड्काले छिमेकी भारत र चीनसँगको मित्रता नेपालको उच्च महत्त्वमा रहेको बताएका थिए।
उनले 'सबैसँग मित्रता र कसैसँग पनि शत्रुता नराख्ने' सिद्धान्तमा नेपाल प्रतिबद्ध रहेको र नेपालको परराष्ट्र नीति पञ्चशीलको सिद्धान्तका आधारमा अघि बढ्ने उल्लेख गरेका थिए।
अहिलेको सरकार सार्वभौम समानता, आपसी सम्मान र आपसी लाभका आधारमा अन्तर्राष्ट्रिय समुदायका सबै मित्रराष्ट्र सम्बन्ध कायम राख्न प्रतिबद्ध रहेको उनको भनाइ थियो।








