ब्रिटिश गोर्खा सैनिकः चन्दा सङ्कलन गरेर निर्माण गरियो भिक्टोरिया क्रस विजेता कुलवीर थापाको सालिक

भिक्टोरिया क्रस विजेता ब्रिटिश गोर्खा सैनिक कुलवीर थापाको पूर्ण कदको सालिक यूकेको ह्याम्पशरको एल्डरशटस्थित प्रिन्सेस गार्डन्समा अनावरण गरिएको छ।
ढलौटको सालिकमा थापालाई प्रथम विश्वयुद्धको बेला रणभूमिमा घाइते भएका एक सैनिकलाई बोकिरहेको अवस्थामा चित्रण गरिएको छ।
गोर्खा सैनिकको सेवा र बलिदानप्रति सम्मान प्रकट गर्दै शनिवार सालिकको फेदमा पुष्पगुच्छा चढाइएको थियो।
ग्रेटर रश्मरमा बसोबास गर्ने नेपाली समुदायले उक्त कार्यक्रम आयोजना गरेको थियो।
नेपाल र यूकेबीच दुई शताब्दीभन्दा पुरानो सम्बन्ध देखाउन थापाको सालिक निर्माण गरिएको बताइएको छ।

गोर्खा मेमोरियल ट्रस्टसँग आबद्ध मेजर खिम गौचनले भने, "हामीले २०० वर्षभन्दा बढी समयदेखि सँगसँगै सेवा गरेका छौँ - युद्धको बेला होस् या शान्ति हुँदा।"
"हामी सँगै छौँ, हामी साथी हौँ।"
ग्रेटर रश्मरको नेपाली समुदायको समितिमा कार्यरत मैयाँ डङ्गोल केसीका अनुसार चन्दा सङ्कलन थापाको सालिक बनाइएको हो।
"मानिसहरूले आफ्नै खल्तीबाट पैसा दिएका हुन्। उनीहरूले यो उद्देश्यका लागि आफूले योगदान दिन चाहेको बताए," उनले भनिन्।

सेवानिवृत्त क्याप्टेन तथा गोर्खा मेमोरियल ट्रस्टका परियोजना प्रबन्धक ग्यारी घले पनि उनको भनाइसँग सहमत देखिए।
सालिक अनावरणका क्रममा बीबीसीसँग कुरा गर्दै उनले भने, "अधिकांश दाता सेवानिवृत्त गोर्खा सैनिक र तिनका परिवार भएको देख्न पाउँदा यो समुदाय गौरवान्वित हुन्छ भन्ने मलाई लाग्छ।"
ह्याम्पशरमै बसोबास गर्ने मूर्तिकार एमी गुडम्यानले उक्त सालिक बनाएकी हुन्।
"मैले भन्नै पर्छ कि म निकै भावुक भएँ र मेरो गला अवरुद्ध भयो। आँसुका केही थोपा खसे किनभने यो निकै व्याकुल गराउने क्षण थियो," उनले भनिन्।
थापाको सालिक 'एअरबोर्न सोल्जर' को ठिक्क अगाडि रहेको छ।









