चन्द्रमामा रहेको बरफ अध्ययन गर्न नासाको मिसन

भाइपर मिसन

तस्बिर स्रोत, NASA

    • Author, पल रिङ्कन
    • Role, विज्ञान सम्पादक, बीबीसी न्यूज

अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमामा पानी र बरफ खोज्न एउटा गुड्ने रोबट पठाउँदै छ।

सो रोबट चन्द्रमाको दक्षिणी ध्रुवस्थित एउटा ज्वालामुखी पर्वतको मुख नोबल क्रेटरको पश्चिमी किनारामा उत्रनेछ।

गल्फ खेलमा प्रयोग हुने गाडी जत्रै उक्त रोबट सन् २०२३ मा ७३ किलोमिटर फराकिलो क्षेत्रमा अवतरण गर्ने छ।

चन्द्रमाको सो क्षेत्र लगभग स्थायी रूपमै छायामा रहेको छ।

भाइपर मिसनले चन्द्रमामा मानव अन्वेषणको योजनालाई सहयोग गर्नेछ किनकि बरफ भेटिएमा त्यसलाई पिउने पानी र रकेटको इन्धनका रूपमा प्रयोग गर्न उत्खनन गर्न सकिनेछ।

नासा यो दशकमा चन्द्रमाको सतहमा अन्तरिक्षयात्रीलाई पुनः पठाउन चाहन्छ।

उसको आर्टिमिस कार्यक्रम अन्तर्गत पहिलो पटक महिला र पहिलो अश्वेत व्यक्ति चन्द्रमा उत्रने छिन्।

यसले पृथ्वीको एक मात्र उपग्रहमा दीर्घकालीन रूपमा मानवीय उपस्थितिका लागि ढोका खोल्ने छ।

क्यालिफोर्नियास्थित नासाको एम्स रिसर्च सेन्टरमा भाइपरको परियोजना प्रबन्धक ड्यानिअल एन्ड्र्यु मिसनले चन्द्रमाको बरफलाई निकाल्न कति सजिलो वा अप्ठ्यारो हुनेछ भन्ने बुझ्न सहयोग गर्ने बताउँछन्।

नोबाइल क्रेटर

तस्बिर स्रोत, NASA

तस्बिरको क्याप्शन, नोबाइल क्रेटर

उनले भने, "यदि स्रोतहरू प्रचुर र सहजै प्राप्त गर्न सक्ने अवस्थामा रहेका छन् भने त्यसले वास्तवमै चन्द्रमामा मानिस रहन सक्ने प्रकृतिलाई नै परिवर्तन गरिदिनेछ। र, हामीलाई ती स्रोतहरूको फेरि कसरी प्राप्त गर्न सकिन्छ भन्ने कुरा बुझ्न पनि मद्दत गर्नेछ।"

चन्द्रमाका ध्रुवीय क्रेटरहरूमा अर्बौँ टन बरफ रहेको विभिन्न प्रमाणहरूले देखाएका छन्।

त्यसले कहिल्यै पनि सूर्यको प्रकाश देख्न पाउँदैन र त्यस क्षेत्रको तापक्रम माइनस २२३ डिग्री सेल्सिअससम्म छ।

स्थायी रूपमा छायामा रहने र धेरै चिसो वातावरण हुने भएकाले ती क्षेत्रमा ठूलो मात्रामा जमेको बरफ रहेको विश्वास गरिन्छ।

ड्यानिअल एन्ड्र्यु भाइपरले वैज्ञानिकहरूलाई "बरफ कहाँ, कति गहिरोमा र कति मात्रामा छ" भन्नेजस्ता मुख्य प्रश्नहरूको जबाफ दिने बताए।

भाइपरका प्रमुख परियोजना वैज्ञानिक एन्थोनी कोलाप्रिट पनि नासाको एम्समा पनि आबद्ध छन्।

उनले भने, "दक्षिणी ध्रुव पुगेपछि हामीले अहिलेसम्म कहिल्यै नदेखेको कुरा देख्ने छौँ।"

"चन्द्रमाका ध्रुवहरू विशेषगरी दक्षिणी ध्रुव नाटकीय छ। त्यहाँ प्राचीन असरका कारण खोँचहरू उठेर सगरमाथाजस्तै भए... यो केही यहाँको विश्वभन्दा बाहिरको कुरा हुन गइरहेको छ।"

भाइपर मिसन

तस्बिर स्रोत, BILL STAFFORD / Nasa JSC

तर यो अपरिचित बरफयुक्त क्षेत्रको खोजीमा बाधाहरू छन्।

रातमा एकदमै चिसो र दिनमा फेरि तातो हुने स्थानमा चल्न सक्ने रोभरको डिजाइन गर्नु चुनौतीपूर्ण छ।

चन्द्रमाको दक्षिणी ध्रुवको क्षितिजमा सूर्यको किरण कम पर्छ र त्यहाँ लामो तथा चाँडै सर्ने खाले छाया पर्छ।

प्रकाश र अँध्यारोको एकदमै तीव्र परिवर्तन हुँदा रोभरलाई खतराबाट बच्न कठिन हुनसक्छ।

इन्जिनियरहरूले चन्द्रमाको भू-दृश्य अनुसार सावधानीपूर्वक मार्गहरूको योजना बनाउनुपर्ने हुन्छ।

रोबटले अगाडि आएको छायाबाट बचेर सोलार प्यानललाई सूर्यतर्फ राखेर आफ्नो ऊर्जाको तहलाई कायम राख्न सक्नुपर्छ।

तर स्थायी छायामा रहेका कार्टरहरूमा प्रवेश गर्न आदेश दिइएपछि रोबटले चाहिँ अँध्यारोको सामना गर्नुपर्ने छ।

ओरिअन

तस्बिर स्रोत, Nasa / Michael DeMocker

नासाले बनाएको यो पहिलो हेडलाइटयुक्त रोभर हो।

त्यसको सहायताले यसले अँध्यारा खोँचहरूभित्र पनि बरफको अवस्था पत्ता लगाउन सकोस् भन्ने उद्देश्य राखिएको छ।

परियोजनाकी उप-प्रमुख वैज्ञानिक डार्लिन लिमका अनुसार एउटा समूहले पृथ्वीबाट 'रियल टाइम'मा रोबटलाई चलाउने छ।