स्पेसएक्स: गैर पेशेवर यात्री ‘प्रेरणादायी’ अन्तरिक्ष अभियानमा

अभियान

तस्बिर स्रोत, SpaceX

चार जना गैर पेशेवर अन्तरिक्षयात्रीहरू अमेरिकाको फ्लोरिडाबाट पृथ्वीको कक्षको भ्रमणका लागि निजी यात्रामा निस्किएका छन्।

'इन्स्पिरेशन फोर' नामक उक्त अभियानमा एक जना अर्बपति र तीन साधारण व्यक्तिहरू सहभागी छन्।

स्पेसएक्स रकेट कम्पनीले उपलब्ध गराएको 'ड्रयागन क्याप्सुल'मा सवार भएर उक्त समूह केनेडी स्पेस सेन्टरबाट अन्तरिक्ष यात्रामा निस्किएको हो।

ती चार जनाले अबको तीन दिन पृथ्वीको परिक्रमा गरेर बिताउनेछन्।

महत्त्वपूर्ण

पछिल्लो घटनाक्रम अन्तरिक्ष पर्यटन बजारका लागि महत्त्वपूर्ण कोशेढुङ्गा भनिएको छ।

एक दशकको अवरोधपछि अन्तरिक्ष पर्यटनले पुन: गति लिएको छ।

Crew in capsule

तस्बिर स्रोत, SpaceX

यसै वर्षको गर्मीयाममा अमेरिकी अर्बपति सर रिचर्ड ब्र्यान्सन र जेफ बेजोसले आफ्नै अन्तरिक्ष यानको प्रयोग गरी पृथ्वीको वायुमण्डलभन्दा माथि यात्रामा गरेका थिए।

अहिलेको अन्तरिक्ष अभियान पछाडि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा दुईवटा निजी भ्रमण हुन लागेको छ।

अक्टोबरमा एक जना रुसी चलचित्र निर्देशक र एक जना नायिकाले अन्तरिक्षको भ्रमण गर्दैछन् भने दोस्रो भ्रमण भने नयाँ वर्षको प्रारम्भमा हुने भनिएको छ।

यात्राको लक्ष्य

इन्स्पिरेशन फोरमा यात्रा गर्ने चार जना सदस्यहरूले स्पेसएक्ससँग ६ महिनाको विस्तृत तालिम लिएका थिए।

तर उनीहरूको ड्रायगन क्याप्सुलको नियन्त्रण जमिनमा रहेको स्पेसएक्स समूहकै हातमा हुनेछ।

उक्त यानले तोकिएको ५ सय ७५ किलोमिटरको उचाइसम्म 'स्वतन्त्र उडान' गर्नेछ।

अन्तरिक्ष

तस्बिर स्रोत, SPACEX

तस्बिरको क्याप्शन, ठूलो झ्यालको सिसाले यात्रामा सवार चार जनालाई पृथ्वीको गज्जबको दृश्य हेर्ने मौका मिल्नेछ

त्यो पृथ्वीको कक्षमा अवस्थित प्रयोगशाला भन्दा करिब १ सय ५० किलोमिटर माथि हो र हब्बल स्पेस टेलिस्कोपले ब्रम्हान्ड हेर्न प्रयोग गर्ने लगभग उचाइ हो।

निश्चित गन्तव्य नभएपनि चार जनाका लागि यात्रा अवधिमा पर्याप्त रूपमा व्यस्त राख्ने कामहरू छन्। उनीहरूले ड्रयागन क्याप्सुल भित्रै वैज्ञानिक परीक्षणहरू गर्नेछन्।

स्पेसएक्सले उनीहरूको अस्थायी बस्ने ठाउँ भित्र बनाइदिएको ठूलो झ्यालका मद्दतले तल रहेको पृथ्वी हेरेर उनीहरूले आनन्द लिने निश्चित जस्तै छ।

यात्रामा को को छन्?

इन्स्पिरेशन फोर कार्यक्रमलाई स्पेसएक्सबाट ३८ वर्षका ज्यारेड आइज्याकम्यानले खरिद गरेका थिए।

क्रेडिट कार्डबाट रकम तिर्ने प्रणाली विकास गरेर मनग्गे कमाएका उनले अन्तरिक्ष उडानलाई निश्चित उद्देश्य दिने निर्णय गरेका थिए।

अन्तरिक्ष

तस्बिर स्रोत, Inspiration4

तस्बिरको क्याप्शन, अभियानमा सामेल चार सदस्य

त्यही भएर उनले तीन सिट प्रेरणादायी कथा भएका व्यक्तिहरूलाई उपहार दिने निर्णय गरे।

त्यो यात्रामा गइरहेकी २९ वर्षकी हेली एर्सेनोको सन्दर्भमा त्यो सबैभन्दा राम्रोसँग झल्कन्छ।

बालिकाको रूपमा हड्डीको क्यान्सरलाई पराजित गरेकी उनी वयस्क भएपछि आफूलाई निको पार्ने स्वास्थ्य केन्द्रमा काम गर्न गएकी थिइन्।

एर्सेनो काम गर्ने टेनिसीको मेम्फिसस्थित सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटलका लागि २० करोड डलर जुटाउने लक्ष्य उनले लिएका छन्।

दोस्रो यात्री ५१ वर्षकी डाक्टर सायन प्रोक्टर भूगर्भ वैज्ञानिक र विज्ञान सञ्चारविज्ञ हुन्। उनी सन् २००९ मा नासाको अन्तरिक्ष यात्री बन्ने चरणको नजिक पुगेकी थिइन् तर अन्तिम छनौटमा विफल भइन्।

आफ्नो कला सम्बन्धी भूमिका र व्यावसायिक गुणले गर्दा उनी छनौट भएकी हुन्। उनले ड्र्यागनको झ्यालबाट हेर्दा चित्र कोर्ने योजना बनाएकी छन्।

हेली एर्सेनो

तस्बिर स्रोत, Inspiration4

तस्बिरको क्याप्शन, हेली एर्सेनोलाई १० वर्षको उमेरमा क्यान्सरको उपचार गरिएको थियो

तेस्रो यात्री क्रिश सम्ब्रोस्की ४२ वर्षका अमेरिकी एअर फोर्सका अवकाशप्राप्त अधिकारी हुन्। उनी एरोस्पेस कम्पनी लकहेड मार्टिनमा काम गर्छन्।

उनले सेन्ट जुड अस्पतालका लागि चन्दा दिएका थिए जसले उनलाई उक्त यानको चौथो सदस्यका लागि चिट्ठामा सामेल गराएको थियो। उनलाई चिट्ठा परेन।

तर एक जना साथीलाई पर्‍यो जसले आफ्नो ठाउँ लिन उनलाई अनुरोध गरेका थिए।

Crew in capsule

तस्बिर स्रोत, SpaceX