नासा चन्द्रमा परियोजनाः इलोन मस्कको स्पेसएक्ससँग सम्झौता गरेको भन्दै जेफ बेजोसले हाले मुद्दा

मार्क बेजोस र जेफ बेजोस

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, जेफ बेजोस आफ्ना भाइ मार्कसँगै आफ्नो न्यू शेपर्ड अन्तरिक्षयान चढेर अन्तरिक्षयात्रा गर्न गएका थिए
Published
पढ्ने समय: १ मिनेट

जेफ बेजोसको स्वामित्व भएको कम्पनी ब्लू ओरिजिनले नासाले चन्द्रमामा मानव पठाउने एउटा परियोजनाका लागि २.९ अर्ब डलरको सम्झौता इलोन मस्कको स्पेसएक्स कम्पनीलाई दिएपछि अदालतमा मुद्दा हालेको छ।

एमजन कम्पनीका पूर्वप्रमुख तथा खर्बपति व्यापारी बेजोसको उक्त कम्पनीले सो सम्झौता "आधारभूत" रूपमै त्रुटिपूर्ण रहेको भन्दै त्यसलाई "अन्यायपूर्ण" को सङ्ज्ञा दिएको छ।

सो सम्झौता दुवै कम्पनीलाई दिने अपेक्षा गरिएको थियो।

तर बजेट अभाव भएको कारण देखाउँदै गत एप्रिलमा दुईवटा कम्पनीलाई नभएर एउटालाई मात्र दिने निर्णय गरिएपछि विवाद उत्पन्न भएको हो।

नासाले ब्लू ओरिजिनको कदमबारे टिप्पणी गरेको छैन। तर उसलाई निगरानी गर्ने सङ्घीय निकायको समर्थन छ।

शुक्रवार अदालतमा दायर मुद्दामा ब्लू ओरिजिनले चन्द्रमामा अवतरण गर्ने प्रणाली निर्माण गर्न दुईवटा कम्पनी आवश्यक भएकोमा आफू विश्वस्त भएको उल्लेख गरेको छ।

उक्त प्रणाली प्रयोग गरेर चाँडोमा सन् २०२४ सम्ममा अन्तरिक्षयात्रीहरूलाई चन्द्रमाको सतहमा पुर्‍याउने नासाको योजना छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, स्पेसएक्सः चन्द्रमामा मान्छे लैजान बनाइएको स्टारशिपको उडान र अवतरण

नासालाई कस्तो आरोप?

टेन्डर प्रक्रियामा आफ्ना प्रस्तावहरूको नासाबाट "अवैधानिक तथा अनुचित मूल्याङ्कन" भएको ब्लू ओरिजिनको आरोप छ।

"निष्पक्षता फेरि स्थापित गर्न, प्रतिस्पर्धा गर्न र अमेरिकालाई सुरक्षित रूपमा चन्द्रमामा फर्काउने सुनिश्चित गर्न यो प्रक्रियामा देखिएका विषय तथा परिणामहरूको सम्बोधन हुनुपर्छ भन्ने हाम्रो दृढ विश्वास छ," ब्लू ओरिजिनले भनेको छ।

सम्झौता दिँदा नासाका मानव अन्वेषण प्रमुख क्याथी लुइडर्सले अहिले उक्त निकायसँग उपलब्ध बजेटका कारण दुईवटा कम्पनी छान्न नसकिएको स्वीकार गरेकी थिइन्।

चन्द्रमामा मानव पठाउने योजनाका लागि नासाले ३.३ अर्ब डलर माग गरेको भए पनि अमेरिकाको कङ्ग्रेसले केवल ८५ करोड डलर स्वीकृत गरेको थियो।

नासाले इलोन मस्कको स्पेसएक्स कम्पनीको अन्तरिक्ष अभियानसम्बन्धी अनुभवलाई पनि सम्झौता प्रदान गर्ने आधार मानेको थियो।

तथापि कबोल गरिएको रकमको पनि निर्णयमा भूमिका हुनसक्छ - स्पेसएक्सको कबोलमा अरूको भन्दा कम रकम उल्लेख थियो।

जुलाईमा उक्त सम्झौता हात पार्न सकिन्छ कि भनेर बेजोसले नासाको दुई अर्ब डलरसम्मको खर्च बेहोरिदिने प्रस्ताव गरेका थिए। तर त्यो स्वीकृत भएन।

के भन्छ निगरानी गर्ने निकाय?

अमेरिकाको गभर्मन्ट अकाउन्टबिलिटी अफिस (जीएओ) नामक निगरानी गर्ने निकायले ब्लू ओरिजिन र प्रतिरक्षा ठेकेदार डाईनेटिकको उजुरी लिन अस्वीकार गरेको छ।

चन्द्रमाको परियोजनाका एउटा कम्पनीसँग सम्झौता गर्दा नासाले अनुचित काम नगरेको जीएओको भनाइ छ।

नासाले अक्टोबर १२ भित्र मुद्दाको प्रतिक्रिया दिनुपर्छ।

स्पेसएक्सले मुद्दाबारे कुनै प्रतिक्रिया दिएको छैन।

नासाको आर्टेमिस कार्यक्रमअन्तर्गत नासाले चन्द्रमामा सन् १९७२ पछि पुनः मानव पुर्‍याउने योजना गरेको छ।

"यो गम्भीर कदमले मानवजातिलाई दीर्घकालीन चान्द्र अन्वेषणको मार्गमा लग्छ तथा मङ्गल ग्रहसहित पर सौर्य मण्डलसम्मका अभियानमा हाम्रो दृष्टि पुर्‍याउँछ," लुइडर्सले एप्रिलमा भनेकी थिइन्।