आईएसएसः रुसी मोड्यूलको इन्जिन अचानक चालु हुँदा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा असन्तुलन

तस्बिर स्रोत, NASA
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सँग जोडिन भर्खरै पुगेको नयाँ रुसी खण्ड अर्थात् मोड्यूलको इन्जिन त्रुटिवश सक्रिय हुन पुग्दा उक्त अन्तरिक्ष केन्द्रको सन्तुलन प्रभावित भएको र त्यसको स्थान केही सर्न पुगेको अधिकारीहरूले बताएका छन्।
अमेरिकी अन्तरिक्ष निकाय नासाका अनुसार उक्त समस्या समाधान भएको छ र सबै प्रणालीले सामान्य रूपमा काम गरिरहेका छन्।
आईएसएसमा रहेको अर्को खण्ड अर्थात् मोड्यूलमा रहेका थ्रस्टर भनिने यन्त्रहरूलाई क्रियाशील बनाएर समस्या समाधान गरिएको थियो।
अहिले यो समस्याका सम्बन्धमा अनुसन्धान भइरहेको छ।
तर उक्त घटनाका कारण उक्त अन्तरिक्ष केन्द्रमा रहेका सात अन्तरिक्षयात्रीलाई कुनै खतरा नभएको अमेरिकी तथा रुसी अधिकारीहरूले बताएका छन्।
कसरी उत्पन्न भयो समस्या?
आठ दिनको उडानपछि रुसको नाउका नामक उक्त अन्तरिक्ष स्टेशनको खण्ड (मोड्यूल) बिहीवार आईएसएससँग जोडिन पुगेको थियो। त्यसको केही घण्टापछि नै त्यहाँ समस्या देखा परेको हो।
उक्त मोड्यूलका थ्रस्टरहरू १२:४५ ईटी (१६:४५ जीएमटी) मा अकस्मात् र अनपेक्षित रूपमा सक्रिय हुन थालेको र आईएसएस उसको तत्कालीन अवस्थितिमा ४५ डिग्रीले घुम्न पुगेको जानकारी नासाले दिएको छ।
तर स्टेशनलाई पुनः नियन्त्रणमा र यथास्थानमा ल्याइएको उसले जनाएको छ।
यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policy र पढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।
X पोस्ट समाप्त
बाह्य साइटका सामग्रीका लागि बीबीसी उत्तरदायी छैन।
यसको प्रभाव कस्तो?
उक्त घटना हुँदा आईएसएसमा रहेका अन्तरिक्षयात्रीहरूको समूहसँग केही मिनेटका लागि पृथ्वीमा रहेका अधिकारीहरूको सम्पर्क विच्छेद भएको थियो। यद्यपि अन्तरिक्ष केन्द्र एक सेकेन्डमा आधा डिग्री सर्दा पनि त्यहाँ बसिरहेका अन्तरिक्षयात्रीहरूले "कुनै चाल महसुस" नगरेको बताइएको छ।
उक्त घटनाका कारण नासा र बोइङ कम्पनी जुलाई ३० देखि अगस्ट ३ सम्म गर्ने योजना बनाएको बोइङको चालकविहीन स्टारलाइनर अन्तरिक्षयानको परीक्षण उडानको मिति सार्न बाध्य भएका छन्।
तेह्र मिटर लामो र २० टन तौल भएको नाउका मोड्यूल आईएसएसको ओर्बिटिङ प्ल्याट्फर्मको पृष्ठ भागमा जोडिएको थियो जहाँ रुसका अन्य मुख्य खण्डहरू पनि छन्।

तस्बिर स्रोत, ROSCOSMOS
उक्त मोड्यूललाई सन् २००७ मा अन्तरिक्षमा पठाउने योजना भए पनि आर्थिक र प्राविधिक कारणले बारम्बार त्यस्तो तालिका प्रभावित भएको थियो।
एक साताअघि काजाकस्तानबाट प्रक्षेपण गरिएपछि पनि नाउकाको उडानका निश्चित क्रियामा केही समस्या देखिएको थियो। मस्कोस्थित नियन्त्रकहरूले वैकल्पिक उपायमार्फत् त्यसलाई केही सच्याएका थिए।
अन्ततः निश्चित मितिमै उक्त मोड्यूल आईएसएससम्म पुग्न सक्यो।
के गर्न प्रयोग हुन्छ रुसी मोड्यूल?
उक्त नयाँ मोड्यूलका कारण आईएसएसमा बस्नयोग्य स्थानको आयतन ७० क्यूबिक मिटरले बढ्नेछ।
अन्तरिक्षयात्रीहरूले उक्त स्थान वैज्ञानिक प्रयोग गर्न तथा सामान भण्डार गर्न उपयोग गर्नेछन्।
उनीहरूले त्यसलाई आराम गर्ने क्षेत्रका रूपमा पनि प्रयोग गर्नेछन्। उक्त मोड्यूलमा एउटा छुट्टै शौचालय पनि छ।

तस्बिर स्रोत, ESA
त्यसबाहेक उक्त मोड्यूलमा युरोपेली अन्तरिक्ष निकाया (एसा) ले उपलब्ध गराएको ईआरए भनिने लामो रोबटिक "हात" पनि छ।
एघार मिटर लामो उक्त उपकरणले आईएसएसको रुसी क्षेत्रमा सबैतिर काम गर्न सक्नेछ।
"कुहिनोको जोर्नी" को जस्तो आकृति पनि भएको खण्डको सहयोगमा उक्त साधन एक "हात" बाट अर्को "हात" भएतिर सर्ने सक्नेछ।
रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा आफ्नो भावी भूमिकाबारे प्रश्न उठाइरहेका बेला त्यहाँ उक्त नाउका खण्ड जडान भएको छ।
मस्कोस्थित अधिकारीहरूले अन्तरिक्षको कक्षमा जडित आफ्ना उपकरणहरू २० वर्षभन्दा पुराना भएको भनेर सावधान गराउँदै सन् २०२५ मा आफू आईएएसमा रहेको संलग्नताबाट बाहिरिन सक्ने बताएका थिए।
अनि रुसले अमेरिकी नेतृत्वमा निर्माणाधीन गेटवे नामकरण गरिएको चन्द्रमाको कक्षमा आधारित हुने अन्तरिक्ष मञ्चमा सहभागी हुन खासै चासो देखाएको छैन। त्यस्तो प्ल्याट्फर्म अर्थात् मञ्च यो दशकको अन्त्यतिर तयार पारिनेछ।
यो पनि हेर्नुहोस्













