मानिसलाई फेरि चन्द्रमा पुर्याउने नासाको रकेट यस्तो देखियो

तस्बिर स्रोत, NASA
अमेरिकी अन्तरिक्ष निकाय नासाले यो दशकमा चन्द्रमामा मानिस पुर्याउने लक्ष्य राखिएको शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक गरेको छ।
शुक्रवार फ्लोरिडाको केनेडी स्पेस सेन्टरमा इन्जिनियरहरूले २१२ फिट अग्लो रकेटको मूल भागलाई दुई साना बुस्टर रकेटको बीचमा जोडेर उभ्याएको थियो।
सो रकेटको तीन मुख्य भागहरू प्रक्षेपण गर्ने डिजाइनमा जोडिएको यो पहिलो पटक हो।
यो वर्षको अन्त्यसम्म एसएलएसलाई पहिलो पटक प्रक्षेपण गर्ने नासाको योजना छ।

तस्बिर स्रोत, NASA
सो प्रक्षेपणको बेला एसएलएसले ओरिअन नाम दिइएको मानव यात्रा गर्ने यानलाई पनि चन्द्रमातर्फ लग्ने छ। तर सो उडानमा यात्री भने नहुने जनाइएको छ। इन्जिनियरहरू सन् २०२३ मा यात्रीलाई उडाउनुअघि रकेट र यान दुवैको परीक्षण गर्न चाहन्छन्।
एसएलएसमा चार शक्तिशाली इन्जिनहरू छन् भने दुई वटा १७७ फिट अग्ला साना बुस्टर रकेट छन्। ती साना बुस्टर रकेटले जमिनबाट एसएलएसलाई प्रक्षेपण गर्न आवश्यक शक्ति प्रदान गर्नेछन्।
शुक्रवार र शनिवार केनेडी स्पेस सेन्टरमा क्रेनहरू प्रयोग गरेर तेर्सो रहेको रकेटहरूलाई अस्थायी लञ्चरमाथि सीधा राखिएको थियो।
अब रकेटको परीक्षण, निरीक्षण र सुधार गरिने नासाले जनाएको छ।

तस्बिर स्रोत, NASA
गत वर्षको नोभेम्बरमा यो रकेटका अंशहरू जोड्न थालिएको हो।
गत मार्चमा यसको मुख्य इन्जिनहरूलाई आठ मिनेट चलाएर सफलतापूर्वक परीक्षण गरिएको थियो।
सन् १९७२ पछि चन्द्रमामा मानिस पुगेका छैनन् तर अबको केही वर्षमा त्यहाँ अन्तरिक्ष यात्री पुर्याउने नासाको लक्ष्य छ। यसका लागि नासाले हालै चन्द्रमामा अवतरण गर्ने यान निर्माणका लागि स्पेसएक्ससँग सम्झौता गरेको छ।

तस्बिर स्रोत, NASA








