एफएएले फेर्‍यो परिभाषा, जेफ बेजोस र रिचर्ड ब्र्यान्सन 'अझै अन्तरिक्षयात्री हैनन्'

ब्लू अरिजिन प्रक्षेपणस्थलमा जेफ बेजोस

तस्बिर स्रोत, Getty Images

तस्बिरको क्याप्शन, बेजोस र ब्लू अरिजिन टोलीका अन्य सदस्यले अन्तरिक्षयात्रीको मान्यता नपाउन सक्छन्

आफ्नै खर्चमा अन्तरिक्षको यात्रा गरेर "अन्तरिक्षयात्री" बन्ने केही अर्बपतिहरूको धोकोमा अमेरिकी सरकारको एउटा कदमले तुषारापात हुने देखिएको छ।

अमेरिकाको सङ्घीय नागरिक उड्डयन प्रशासन (एफएए) को नयाँ नियममा "अन्तरिक्षयात्री" को परिभाषामा केही परिमार्जन गरिएको छ।

एफएएका अनुसार अन्तरिक्षयात्री बन्न चाहने व्यक्ति अन्तरिक्षयानको चालकदलको सदस्य हुनुपर्नेछ तथा निजले उडानको सुरक्षामा योगदान पुर्‍याउनुपर्नेछ।

त्यसको अर्थ अमेरिकी सरकारको दृष्टिमा जेफ बेजोस र सर रिचर्ड ब्र्यान्सन अन्तरिक्षयात्री नहुन सक्छन्।

एफएएको विङ्ग्स कार्यक्रम सन् २००४ मा सुरु भएको थियो। त्यसपछि पहिलो पटक अहिले नै त्यसमा परिवर्तन गरिएको हो।

गत मङ्गलवार व्यावसायिक अन्तरिक्षयात्रासम्बन्धी कार्यक्रम कमर्शल एस्ट्रनोट विङ्स घोषणा गरिएको थियो। त्यही दिन एमजन कम्पनीका मालिक ब्लू ओरिजिन रकेटमा चढेर अन्तरिक्षयात्रा गर्न गएका थिए।

अन्तरिक्षयात्री ठहरिन के गरेको हुनुपर्छ?

व्यावसायिक अन्तरिक्षयात्रीको सङ्ज्ञा पाउन पृथ्वीको सतहभन्दा ८० किलोमिटरमाथि पुगेको हुनुपर्छ। बेजोस र ब्र्यान्सन दुवैले त्यो आवश्यकता पूरा गरेका थिए।

तर एफएएका अनुसार उचाइबाहेक "अन्तरिक्षयात्री" बन्न उडानको बेला सुरक्षासम्बन्धी गतिविधि गरेको हुनु अनिवार्य छ।

भर्जिन गल्याक्टिक

तस्बिर स्रोत, VIRGIN GALACTIC

के-के गरेमा अन्तरिक्षयात्री भएको मानिन्छ त्यसको निर्क्योल एफएएका अधिकारीहरूले गर्नेछन्।

अहिले गरिएका परिवर्तनले अन्तरिक्षमा हुने व्यावसायिक उडानका बेला जनसुरक्षाका विषयलाई सम्बोधन गर्ने एफएएको अपेक्षा छ।

आगामी वर्ष ग्राहकहरूलाई अन्तरिक्षयात्रामा पठाउनुअघि सर रिचर्ड ब्र्यान्सन गत जुलाई ११ मा भर्जिन गल्याक्टिक स्पेसशिपटूमा चढेर अन्तरिक्षको सीमाको तल्लो भागसम्म पुगेका थिए।

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

बाह्य सामग्रीका लागि बीबीसी उत्तरदायी छैन।

ब्लू अरिजिनको अन्तरिक्षयानमा गएका बेजोस र चालकदलका अन्य तीन जनाका लागि अन्तरिक्षयात्री बनेको दाबी गर्न पर्याप्त आधार नपुग्न सक्छ।

प्रक्षेपणअघि ब्लू अरिजिनका कार्यकारी प्रमुख बब स्मिथले "स्वचालित यानमा चालकदलले गर्नुपर्ने खासै कुरा नहुने" बताएका थिए।

कसरी बन्न सकिन्छ अन्तरिक्षयात्री?

पैसा तिरेर अन्तरिक्षयात्रा गर्नका लागि पनि मनोनयन आवश्यक पर्छ। एफएएका एक प्रवक्ताले सीएएनलाई बताएअनुसार अहिले कसैको आवेदनबारे पनि विचार गरिएको छैन।

अमेरिकामा अन्तरिक्षयात्री बन्ने अरू दुई उपाय छन्। एउटा सेनामार्फत् अर्को नासाबाट।

यात्रापछि बेजोस र सर रिजर्ड ब्र्यान्सनलाई दिइएको फुली उनीहरूका कम्पनीले नै बनाइदिएका हुन्।

तर अन्तरिक्षयात्रीको मान्यता पाउनका लागि सर रिचर्ड ब्र्यान्सन, जेफ बेजोस तथा भविष्यमा अरू व्यक्तिका लागि आशाको किरण भने बाँकी छ।

नयाँ नियममा योग्यताका आधारमा मानार्थ उपाधि दिने प्रावधान भने राखिएको छ। एफएएका सहायक प्रकाशकले आफ्नो विवेकका आधारमा त्यस्तो निर्णय गर्न सक्नेछन्।

सन् १९६० को दशकमा मर्करी सेभन कार्यक्रममा सहभागी भएका अन्तरिक्षयात्री एलन शेफर्ड जूनीअर र भर्गिल ग्रिसमलाई पहिलो पटक अन्तरिक्षयात्रीको फुली दिइएको थियो।

भिडिओ क्याप्शन सुरु हुँदैछ, यूएफओ: 'उडनतस्तरीको विज्ञान हामी बुझ्दैनौँ'