कोभिड नेपाल: १० प्रतिशतभन्दा कममा झर्‍यो कोभिड सङ्क्रमण दर

मास्क

तस्बिर स्रोत, Reuters

नेपालमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर सुरु भएयताकै सबैभन्दा कम दैनिक सङ्क्रमण दर आइतवार देखिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्न सार्वजनिक गरेको तथ्याङ्क अनुसार आइतबार परीक्षण गराएकामध्ये ८.२६ प्रतिशतमा सङ्क्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ११,०१८ जनाको परीक्षण गर्दा ९११ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सङ्क्रमितको सङ्ख्या शनिवारबाटै एक हजार तल झरेको थियो। शनिवार ९,८४० को परीक्षण गर्दा ९९४ जनामा सङ्क्रमण देखिएको थियो।

मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार लगातार चार दिनयता १० प्रतिशतको हाराहारीमा सङ्क्रमण दर देखिएको छ।

मेको दोस्रो साता उच्च बिन्दुमा पुगेर कम हुन थालेको सङ्क्रमण जुलाईको दोस्रो सातादेखि फेरि माथि उक्लिएको थियो।

निरन्तर घट्दो

अगस्टको दोस्रो सातादेखि भने निरन्तर सङ्क्रमण दर कम हुँदै गएको तथ्याङ्कले देखाउँछ।

सङ्क्रमण कम हुँदै जानुमा खोपको पहुँच, मानिसहरूमा विकास भएको एन्टिबडी र जनचेतना भएको अधिकारीहरूले बताएका छन्।

कोभिड भाइरस स्केच

तस्बिर स्रोत, PASIEKA/SCIENCE PHOTO LIBRARY

तस्बिरको क्याप्शन, अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ५१ लाख ६१ हजार नाघेको मन्त्रालयले जनाएको छ।

पछिल्लो विवरण अनुसार देशभर २६,७५७ सक्रिय सङ्क्रमित छन्।

१३ वटा जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने २० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।

आइतवार थप १३ जनाको मृत्यु भएपछि कोभिडका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या १०,९४९ पुगेको छ।

पाँच ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूको सङ्ख्या वाग्मती प्रदेशमा उच्च छ।

उक्त प्रदेशका काठमाण्डू, भक्तपुर, ललितपुर, मकवानपुर र काभ्रेपलान्चोक जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी छ।

गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की र बाग्लुङमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

प्रदेश नं १ का मोरङ, सुनसरी र झापाको अवस्था पनि त्यस्तै छ।

लुम्बिनी प्रदेशको रूपन्देहीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने कर्णाली प्रदेशको सुर्खेतमा पनि सङ्ख्या ५०० माथि छ।

कतिले लगाए खोप

अहिलेसम्म पूर्ण मात्रामा खोप लगाउनेहरूको सङ्ख्या ५१ लाख ६६ हजार नाघेको मन्त्रालयले जनाएको छ।

कोभिड खोपको पहिलो मात्रा मात्र लगाउने मानिसको सङ्ख्या ५७ लाख ७२ हजार नाघेको छ।

अक्सफर्ड-आस्ट्राजेनेकाले बनाएको खोप, चीनमा निर्मित भेरो सेल र जोनसन एन्ड जोनसनको ज्यान्सेन खोप नेपाल आएका छन्।

जोनसन एन्ड जोनसन खोप एक मात्रा मात्र लगाए पुग्छ भने आस्ट्राजेनेका तथा भेरो सेलको दुई मात्रा लगाउनुपर्छ।