शिक्षामा छल: केन्याले कसरी विश्वभरका विद्यार्थीलाई 'छल गर्न सहयोग' गरिरहेको छ?

पैसाका लागि शैक्षिक लेखन

लन्डन या न्यूयोर्कका कुनै विश्वविद्यालयका विद्यार्थीले इन्टरनेटमा पैसा तिरेर कसैलाई गृहकार्य वा थेसिस् गराउँछन् भने त्यो कार्य केन्याको कसैले गरिदिने सम्भावना धेरै हुन्छ।

बीबीसी ट्रेन्डीङले केन्याको राजधानी नैरोबीबाट विदेशीलाई यसरी छल गर्न सघाउने केही लेखकहरूका बारेमा तयार पारेको सामग्री:

केनेडी शिक्षक थिए तर विगत पाँच वर्षदेखि फरक कामले जीवनयापनका लागि पैसा कमाइरहेका छन्। उनी भन्छन्: "म प्राज्ञिक लेखन गर्छु।"

उनी अनलाइनमा फैलिरहेको र केन्यामा चम्किरहेको उद्योगमा काम गर्छन्। तर जुन कुरालाई उनी र अरू धेरै केन्याली नागरिकहरू 'प्राज्ञिक लेखन' भन्छन् त्यसलाई बाँकी विश्वले चोरी वा छली भन्छ।

यदि तपाईँ विद्यार्थी हुनुहुन्छ र गृहकार्य गर्न समय छैन वा मन लाग्दैन भने केनेडी र उनको टोलीले तपाईँको काम गरिदिन्छ - निश्चित शुल्क लिएर।

त्यसपछि तपाईँले त्यो काम शिक्षकलाई बुझाउनुपर्छ, आफैले लेखेर तयार पारेको जस्तो गर्नुपर्छ र आशा गर्नुपर्छ कि यो कुरा विश्वविद्यालयले थाहा पाउँदैन।

यसको मध्यस्थता 'प्राज्ञिक निबन्धहरूको कारखाना' भन्ने अर्थ लाग्ने "एसे मिल" भनिने वेबसाइटहरूले गर्छन् जहाँ त्यस्ता विद्यार्थीले गर्नुपर्ने कामको विवरण सहित विज्ञापन हाल्छन्।

त्यस्ता धेरै वेबसाइटहरू अमेरिका वा पूर्वी युरोपमा रहेका छन् र तिनले शुल्कको आधासम्म रकम कमिसन लिन्छन्। विद्यार्थीले कति तिर्ने भन्ने कुरा कार्य अनुसार फरक हुन्छ। काम सानो निबन्ध लेख्नेदेखि पूरै पीएचडीको थेसिस् लेख्नेसम्म हुनसक्छ।

केनेडी र उनले जागिर दिएको टोलीले एक महिनामा २०० वटासम्म प्राज्ञिक लेख लेख्न वा अनलाइन परीक्षा दिन सक्छन्। "विद्यार्थीको रूपमा लगइन गरेर परीक्षा दिन सकिन्छ," उनी भन्छन्।

विज्ञहरूले "कन्ट्र्याक चिटिङ" नाम दिएको यस्तो छली कार्यको केन्द्रको रूपमा केन्या रहेको बताइन्छ। यसको कारण सहज छ: केन्या अङ्ग्रेजी बोलिने देश हो र त्यहाँको शैक्षिक स्तर राम्रो छ।

तर युवाहरूका लागि आर्थिक आयआर्जनको मौका कम छ।

उनीहरूले पैसा कमाउन चाहने हो भने आफूले कहिल्यै नभेट्ने विदेशीका लागि ज्ञानको प्रयोग गरिदिन सक्छन्।

विद्यार्थी

तस्बिर स्रोत, PA Media

'एसे मिल' वेबसाइटमा लेखकका तस्बिरहरू नक्कली हुन्छन् तर त्यहाँ अश्वेत लेखकका तस्बिर देखिँदैनन्।

केनेडीका लागि यो काम फाइदाजनक छ। ३० वर्षीय उनले मासिक एक लाख ५० हजार स्थानीय मुद्रा (केन्याली शिलिङ्ग) कमाउँछन् जुन उनले शिक्षकका रूपमा कमाउनेभन्दा चार गुणा बढी हो।

तर विश्वभर शिक्षाको पवित्रतालाई बिगार्ने काम गर्दा उनलाई कस्तो महसुस हुन्छ?

पूर्व शिक्षकको रूपमा उनलाई यो कामले "नैतिकताको सम्झौता" गरिरहेको महसुस हुन्छ तर पैसाका लागि यस्तो काम गरेको उनको भनाइ छ। "नैतिकताको बारेमा सोच्न पनि पहिले बाँच्नु पर्छ," उनी भन्छन्।

केनेडीलाई आफूले गरिदिएको कार्यले कसैले डिग्री प्राप्त गर्ने र त्यसकै आधारमा आफूले कमाएभन्दा धेरै गुणा बढी कमाउने जागिर पाउन सक्ने थाहा छ। "तर हाम्रो प्रतिस्पर्धा उनीहरूसँग होइन, कहिलेकाहीँ यो प्रतिस्पर्धा गरिबीसँग हो," उनी भन्छन्।

केन्यामा यस्ता काम गर्ने मानिसहरू फरक-फरक छन्। कोही थप पैसा कमाउन खोज्ने मध्यम वर्गीय मानिस छन् भने कोही विद्यार्थी छन्।

डेभिड पढाइको खर्च जुटाउन शैक्षिक लेख बेच्छन्
तस्बिरको क्याप्शन, डेभिड पढाइको खर्च जुटाउन शैक्षिक लेख बेच्छन्

डेभिड विश्वविद्यालयमा अन्तिम वर्षमा अध्ययनरत १० विद्यार्थीमध्ये एक हुन् जसले पढाइको शुल्क तिर्न यस्तो कार्य गरिरहेको बताउँछन्।

"मेरो पिताले मलाई पढाउन सक्दैनन्," उनी भन्छन्। "त्यसैले मैले मेरो पढाइका लागि र सकिन्छ भने परिवारलाई सहयोग गर्न कमाउने बाटो खोज्नुपर्छ।"

गत दुई वर्षमा डेभिडले आफ्नो पढाइ सँगसँगै अमेरिकी र ब्रिटिश विश्वविद्यालयका विद्यार्थीका लागि ३६० वटा प्राज्ञिक लेख लेखे। उनी एक दिनमा १५ पेज लेख्न सक्छन् र प्रतिपेज २६० केन्याली शिलिङ्ग पाउँछन्।

"म सोमवारदेखि शुक्रवार राति र दिउँसो काम गर्न सक्छु तर शनिवार र आइतवार आफ्नो पढाइका लागि छुट्टाउँछु।"

त्यसबाट कमाएको पैसाले डेभिडले गाउँमा कृषियोग्य जग्गा भाडामा लिएर अन्नबाली लगाउन मजदुरको ज्याला जोहो गरेका छन्।

डेभिड भविष्यमा पनि यो कामलाई निरन्तरता दिने र युवाहरूलाई सिकाउने लक्ष्य राख्छन् तर सबै लेखकको त्यस्तो लक्ष्य छैन।

विज्ञापन

तस्बिर स्रोत, Facebook

जोनले स्नातक सकेपछि यस्तो कार्य गर्न थाले तर आफूले चाहेको पत्रकारको जागिर पाएपछि यो काम छोड्ने आशामा छन्।

"धेरैले नर्सिङ पढिरहेका विद्यार्थीको काम गरिदिएका छन्। तर म त्यस्तो विद्यार्थी नर्स भएर जागिर खाएको अस्पतालमा आफ्नो उपचार गराउन जान चाहन्न। यो खतरनाक हो त्यसैले यस्तो हुन दिनुहुन्न," जोन भन्छन्।

नैरोबीको मल्टिमिडिया विश्वविद्यालयकी समाजशास्त्री डा. ग्लाडिस न्याचिइएओको विचारमा यस्तो छलीको अभ्यास कम गर्न धनी देशले जिम्मेवारी लिनुपर्छ। त्यहाँका विद्यार्थीहरूले माग गरेनन् भने आपूर्ति पनि नहुने उनको विचार छ।

"यसलाई गैरकानुनी बनाउने जस्ता कुनै कार्य गर्न सकियो भने यो घट्छ," उनी भन्छिन्।

डा. ग्लाइडेस न्याचिइनो

तस्बिर स्रोत, Multimedia University

तस्बिरको क्याप्शन, डा. ग्लाइडेस न्याचिइनो

केही देशहरूले कारबाही सुरु गरेका छन्। गत वर्ष अस्ट्रेलियाले निबन्ध बिक्री कार्यलाई प्रतिबन्ध लगायो। इङ्गल्यान्डमा पनि त्यस्तै कानुनमाथि विचार भइरहेको छ। तर यसले कसरी यस्तो छली कामलाई कम गर्छ भन्ने स्पष्ट छैन।

डा. न्याचिइएओ जस्ता व्यक्तिहरू आफ्नै तरिकाले यसलाई निरुत्साहित गर्न खोजिरहेका छन्।

"म मेरा विद्यार्थीलाई यो ठिक नभएको बताउँछु। यो अनैतिक हो," उनी भन्छिन्। "तर मैले गर्न सक्ने त्यत्ति हो। केही व्यक्तिका लागि यो जीवनयापनको माध्यम बनेको छ। त्यसैले एक किसिमको दुबिधा छ।"

(यो सामग्रीका केही नामहरू परिवर्तन गरिएका छन्।)