तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कांग्रेसले नमानेका मुद्दा उठाँदै प्रचण्डले निकाले ‘आन्दोलन’को प्रसङ्ग
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सत्ता गठबन्ध तोड्ने प्रयास भइरहेको बताउँदै गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसलाई रूचिकर नलाग्ने मुद्दाहरू पनि उठाएका छन्।
देशभित्र र बाहिरबाट त्यो प्रयास भइरहेको र बहाना अमेरिकी सहायता परियोजना एमसीसीलाई बनाउन लागेको उनको भनाइ छ।
तर उनै प्रचण्डले आफूले सत्ता सहकार्य गरिरहेको नेपाली कांग्रेसले असहमति जनाउँदै आएका राजनीतिक विषय उठाएर आन्दोलनमा भिड्ने अवस्था आउन सक्ने बताएका छन्।्
प्रचण्ड नेपालमा चर्को बहसको विषय बनेको एमसीसीप्रति नकारात्मक छैनन् तर यथास्थितिमा संसद्बाट पारित हुन नसक्ने बताउँदै आएका छन्।
काठमाण्डूमा आयोजित एउटा कार्यक्रममा उनले भने, "देशभित्र र बाहिरबाट यो गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ। एमसीसी प्रयोग गरेर फुटाउन सकिन्छ कि भनेर एकथरी लागिरहेका छन्।"
अमेरिकी पत्रबाट चित्त बुझाउलान्?
प्रचण्डका भनाइमा 'सकेसम्म गठबन्धन बचाएर देशलाई क्षति नहुने ढङ्गले त्यसको समाधान सकारात्मक ढङ्गले होस्' भन्ने उनी चाहन्छन्।
उनी भन्छन्, "तर अर्को वर्ग चुप लागेर बसेको छैन।"
आफूले षड्यन्त्रमा संलग्न देखेका देश बाहिर र भित्रका शक्ति वा व्यक्तिबारे भने उनले खुलाएनन्।
उनी निकट वर्षमान पुनले गम्भीर रूपमा गठबन्धन फुटाउने प्रयास भइरहेको तर त्यो सम्भावना तत्काल नरहेको बताए।
यस्तो स्थितिमा प्रचण्डले एमसीसीका सन्दर्भमा देखेको सकारात्मक समाधनको विकल्प के हुनसक्छ?
कतिपयले नेपाल सरकारको आग्रह अनुसार अमेरिकाले थप स्पष्ट पारेमा त्यो मिलनबिन्दु हुनसक्ने ठानेका छन्।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको भनाइमा अमेरिकाको जबाफपछि त्यसबारे अध्ययन हुन्छ।
तर उनको पार्टीलाई सम्झौतामा उल्लेखित विषयमा पत्रमार्फत् दिएको जबाफ मात्र पर्याप्त हुने छैन।
उनी भन्छन्, "सम्झौतामा एउटा लेख्ने तर पत्रमार्फत् त्यो होइन भनेर मात्र हुँदैन, संशोधन हुनुपर्छ।"
कांग्रेसले नमानेका कुरा उठाउँदै प्रचण्ड
प्रचण्डले कांग्रेसले अस्वीकार गरेका विषयहरूलाई पनि जोडदार रूपमा उठाउने बताएका छन्।
उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा उठाए।
त्यसको निम्ति पहिले एमाले र कांग्रेस लगायतका दलहरूसँग छलफल गर्ने र त्यसपछि जनतामाझ बहस लैजाने उनको योजना छ।
प्रचण्डले भन्छन्, "अब त्यति गर्दा पनि भएन भने आन्दोलनमा जाने, भिड्ने। शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी, हुरी चलाउनुपर्ने पनि हुनसक्छ।"
नेकपा एमाले र कांग्रेस जस्तो पार्टी नहुनका निम्ति भन्दै प्रचण्डले 'समाजवादीतिर जाने भन्ने तर संसद्वादको बाटो हिँडेर नपुगिने' ठहर सुनाए।
'नीति छैन'
तर नेता श्रेष्ठले चुनावको सन्दर्भमा प्रचण्डले त्यो कुरा उल्लेख गरेको प्रतिक्रिया दिए।
उनले भने, "अहिले आन्दोलन गर्ने पार्टीको कुनै नीति छैन।"
तर विगतमा सरकारको प्रतिरक्षा गर्ने गरेका प्रचण्डको बुधवारको भाषणमा विद्रोही वा असन्तुष्ट नेताको छवि झल्किएको कतिपयको ठम्याइ छ।
उनीहरू ठान्छन्, "प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग निकटता नबढाउन् भन्नेतर्फ सजग तुल्याउन प्रचण्डले चेतावनी झल्किने अभिव्यक्ति दिएका हुन सक्छन्।"