काबुल: विमानस्थलमा पुन: हमला हुनसक्ने चेतावनी

काबुल

तस्बिर स्रोत, PA Media

तस्बिरको क्याप्शन, काबुल विमानस्थल

अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुन हमला हुन सक्ने चेतावनी दिएका छन्।

बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतवार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई 'खतरा' रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ।

अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ।

ब्रिटेनले भने आफ्ना सैनिकहरू र अधिकारीहरूलाई स्वदेश फर्काइसकेको छ।

गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो।

Italian evacuation flight from Kabul to Rome (28 August)

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, इटलीले मात्रै ५ हजार अफगानहरू उद्धार गरेर आफ्नो देश ल्याएको जनाएको छ

हमलाको जिम्मेदारी इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट- केले लिएको थियो।

काबुल विमानस्थलमा भएको हमलाको जबाफमा अमेरिकाले शुक्रवार अबेर पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो र उक्त आक्रमणमा आईएसकेका दुई जना सदस्य मारिएको बताएको थियो।

मारिएकाहरू काबुल विमानस्थल बम विस्फोटका रणनीतिकार बताइएको छ।

बाइडनले शनिवार एक विज्ञप्ति जारी गर्दै भनेका छन्, "काबुल हमलाकारीमाथि त्यो हाम्रो अन्तिम प्रतिआक्रमण होइन उनीहरूलाई छोडिनेछैन।"

आईएस-के अफगानिस्तानको सबभन्दा हिंस्रक चरमपन्थी सङ्गठन रहेको र उसको तालिबानसँग स्पष्ट मतभेद रहेको बताइन्छ।

तालिबानले अमेरिकीहरूसँग शान्ति सम्झौता गरेर युद्ध मैदानबाट भागेको आरोप लगाएको छ।

अब तालिबानको हातमा अफगानिस्तानको सत्ता पुगेको छ। तालिबानले अमेरिकी हवाई आक्रमणको निन्दा गरेको छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार हमला गर्नु अघि अमेरिकाले आफूहरूसँग परामर्श गर्नुपर्ने तर नगरेको तालिबानका एक प्रवक्तालाई उद्धृत गर्दै भनेको छ।

अमेरिकी सैनिकहरू पनि काबुल विमानस्थलबाट बाहिरिइरहेका छन्। गत हप्ता त्यहाँ ५८०० अमेरिकी सैनिक थिए भने अहिले त्यहाँ ४००० भन्दा कम अमेरिकी सैनिक रहेको बताइएको छ।

ह्वाइट हाउसले आगामी केही दिन खतरनाक हुने बताएका छन्।

काबुलमा बन्द रहेको ब्याङ्क अगाडि उभिएका अफगानहरू

तस्बिर स्रोत, EPA

तस्बिरको क्याप्शन, काबुलमा बन्द रहेको ब्याङ्क अगाडि उभिएका अफगानहरू

तालिबानले अफगानहरूलाई जानबाट रोक्न विमानस्थलको चारैतिर चेकपोइन्टहरू थपेका छन्।

गत दुई हप्तामा एक लाख दस हजार अफगान र विदेशी नागरिकहरू काबुलबाट बाहिरिएका छन्।

शनिवारसम्ममा इटलीले ५००० अफगान नागरिकहरूलाई काबुलबाट आफ्नो देश लगेको जनाएको छ। यो युरोपेली देशमा लगिएको सबैभन्दा धेरै सङ्ख्या हो।

फ्रान्सले १७ अगस्ट यता ४००० अफगानलाई आफ्नो देश ल्याएको छ।

यूकेको सशस्त्र समूहका प्रमुख जनरल सर निक कार्टरले सबैलाई उद्धार गर्न नसक्दा दुख लागेको बताएका छन्।

अब हवाई मार्ग हुँदै देशबाट बाहिरिन सक्ने अवस्था कमजोर हुँदै गएपछि कैयौँ अफगानहरू पाकिस्तानसँगको पूर्वी सिमाना हुँदै बाहिरिने प्रयत्न गरिरहेको बताइएको छ।

US troops at Kabul airport

तस्बिर स्रोत, Reuters