कोभिड नेपाल: कस्तो छ हाल नेपालमा कोरोनाभाइरस सङ्क्रमणको स्थिति?

तस्बिर स्रोत, EPA
- Author, स्वेच्छा राउत
- Role, बीबीसी न्यूज नेपाली
नेपालमा कोरोनाभाइरस महामारीको दोस्रो लहर उच्च विन्दुबाट घटेर हाल स्थिर बनेकोले अवस्था केही सहज देखिए पनि अर्को लहर वा सङ्क्रमण बढ्ने जोखिम कम नभएको विज्ञहरूले बताएका छन्।
तथ्याङ्क अनुसार साउन पहिलो साता पीसीआर परीक्षण गराएका कुल ३८,८७० मध्ये २१ प्रतिशतमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको थियो। एक महिनापछि अर्थात् भदौ पहिलो सातामा पीसीआर परीक्षण गराएका कुल ६०,१ ६५ मध्ये १९ प्रतिशतमा सङ्क्रमण देखियो।
तुलनात्मक रूपमा परीक्षण गराउनेको सङ्ख्या डेढ गुणा बढेको र सङ्क्रमण पुष्टि दर भने केही घटेको देखिन्छ।
सङ्क्रामक रोग विज्ञ डा. जनक कोइराला निषेधाज्ञाका कारण सङ्क्रमण दर घटेकोजस्तो देखिएको र अहिले नयाँ लहरको सङ्केत देखा नपरेको बताउँछन्।
उनी भन्छन्, "कुल परीक्षण गर्नेमध्ये सङ्क्रमण हुनेको प्रतिशत घटेको छ। एकताका ३५ प्रतिशतभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको थियो भने हाल २० प्रतिशत हाराहारीमा मानिस सङ्क्रमित भएका छन्।"
"सङ्क्रमण दर स्वात्तै घटेर फेरि उच्च विन्दुमा पुगेको छैन त्यसैले नयाँ लहर सुरु भएको छैन।"
हाल नेपालमा डेल्टा भेरिअन्टसँगै जुधिरहेको अवस्थाले दोस्रो लहर नसकिएको सङ्केत गर्ने डा. कोइरालाको तर्क छ।
हाल सङ्क्रमण दर केही घटे पनि अस्पतालहरूमा गम्भीर बिरामी उपचाररत रहेका र तीमध्ये धेरै अक्सिजनको सहायतामा छन् भने केहीलाई आईसीयू र भेन्टिलेटरको आवश्यकता परेको तथ्याङ्कले देखाउँछ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको कोभिड-१९ वार्डमा हाल ११३ जना सङ्क्रमित उपचाररत छन्। तीमध्ये ४० जना आईसीयूमा रहेको अस्पतालले बताएको छ।
त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ वार्डमा २०० भन्दा बढी सङ्क्रमित उपचाररत छन्।
दोस्रो लहरमा देखिएका समस्याहरू

तस्बिर स्रोत, EPA
कोरोनाभाइरस महामारीको दोस्रो लहरमा सीमाबाट नेपाल भित्रने नागरिकको परीक्षण र उनीहरूलाई क्वारन्टीन वा आइसोलेसनमा राख्न कुनै व्यवस्थापन नहुनुलाई सङ्क्रमण दर ह्वात्तै बढ्नुको कारक मान्छन् डा. कोइराला।
उनी भन्छन्, "पहिलो लहरमा सङ्क्रमण दर कम भयो। सरकार र जनता दुवै 'अब त यो भाइरस सकियो भन्ने हिसाबले बस्यौँ।' तर भारतमा सङ्क्रमण बढेपछि नेपाल पनि प्रभावित भयो।"
"अक्सिजन, आईसीयू र भेन्टिलेटरको अभाव नै मुख्य समस्या बन्यो।"
सङ्क्रामक रोग विज्ञ डा. शेरबहादुर पुन पहिलो लहरको अवस्थालाई ध्यानमा राखेर अस्पतालका भौतिक पूर्वाधारदेखि जनशक्ति तयार नपारिनुले अवस्था गम्भीर बनेको बताउँछन्।
"पहिलो लहरमा वृद्धावस्था र दीर्घ रोगीहरू बढी प्रभावित थिए। सोही अनुरूप भाइरसबाट जोगिने उपायदेखि उपचार र औषधिको तयारी भयो। तर दोस्रो लहर आएपछि मात्र यो भाइरसले उमेर समूह नहेरी आक्रमण गर्छ भन्ने थाहा भयो जसका लागि हामी तयार थिएनौँ," उनले भने।
'बिरामी घटेका छैनन्'
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक दिनेश काफ्लेका अनुसार दोस्रो लहर सुरु भएयता कोभिड-१९ को आईसीयू खाली भएको छैन। कतिपय अवस्थामा ठाउँ अभावकै कारण बिरामीलाई अन्यत्र पठाउनु परेको छ।
"महामारी भनेकै क्षमता र नियन्त्रण बाहिर पुर्याउने स्थिति हो। यो कसरी आउँछ आकलन गर्न सकिँदैन। दोस्रो लहरमा त्यस्तै भयो," काफ्लेले भने।
"पूर्वाधार र उपकरणहरूको अभाव छँदै छन्। तीबाहेक आर्थिक भार बढ्यो। जसलाई कोभिडदेखि ननकोभिड वार्डहरूमा पालैपालो खटाइयो ती कर्मचारीलाई जोखिम भत्ता दिन सकिएन। सरकारले घोषणा त गर्यो तर हामीलाई बजेट नआएपछि कसरी व्यवस्थापन गर्नु?"
महामारीको समयमा चिकित्सक, स्वास्थ्यकर्मीदेखि अन्य कर्मचारीको मनोबल बढाई राख्न नसक्नुलाई समस्या मान्छन् उनी।
पाटन अस्पतालले पनि उस्तै समस्या भोगिरहेको छ।
"दोस्रो लहरमा जेनतेन व्यवस्थापन गर्यौँ। तर अझै पनि सीमित जनशक्ति परिचालन चुनौतीको विषय हो।"

तस्बिर स्रोत, EPA
समस्या न्यूनीकरणका लागि के गरियो?
भाइरस परिवर्तित हुँदै जाँदा त्यसको व्यवहार र प्रभाव पनि परिवर्तन हुँदै जाने भएकाले सबै लहरमा एउटै शैली र उपायहरू प्रभावकारी नदेखिन सक्ने विज्ञहरूको तर्क छ। तर कोभिड-१९ विरुद्धको खोपको उपलब्धताले महामारीसम्बन्धी समस्या न्यूनीकरणका लागि मद्दत पुर्याएको मत उनीहरूको छ।
डा. कोइरालाका अनुसार करिब ४० लाख नेपालीमा कम्तीमा पनि एक मात्रा खोप लगाउनुले सङ्क्रमणको जोखिम र असर कम गरेको छ।
"सङ्क्रमण हुनबाटै जोगायो भन्ने दाबी त गर्न मिल्दैन तर सङ्क्रमणले गम्भीर बिरामी बनाउने वा मृत्युसम्मै पुर्याउने सम्भावनालाई भने कम गरिदियो," उनले भने।
यसबीचमा नेपाल सरकारले ग्लोबल फन्डको अनुदान र विश्व ब्याङ्कसँग कर्जा लिएर अस्पतालहरूमा शय्या, आईसीयू र भेन्टिलेटरको क्षमता वृद्धि गरेको बताइएको छ।
वीर अस्पतालले युनीफाइड कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ।
सङ्क्रमण ह्वात्तै बढेको अवस्थामा भने सरकारी र निजी अस्पताले साझेदारी गर्नुपर्ने डा. कोइराला बताउँछन्।
उनी भन्छन्, "सरकारी अस्पतालको क्षमता सीमित छ। अहिले सङ्क्रमण स्थिर हुँदा पनि सरकारी अस्पतालहरू भरिएकै छन्। त्यसैले नयाँ लहरमा निजी अस्पतालको परिचालन गर्नुको विकल्प रहँदैन।"
स्थानीय तह र गैर-सरकारी संस्थाहरूले जनचेतना बढाउने काम गर्नुले दोस्रो लहरको उत्कर्षमा भन्दा स्थिति केही सहज बनाएको विज्ञहरूको मत छ।

तस्बिर स्रोत, Reuters
कुन उमेर समूह बढी प्रभावित भए
पहिलो लहरमा पाका उमेरका मानिसहरू कोरोनाभाइरसको सङ्क्रमणबाट प्रभावित थिए। दोस्रो लहरमा आइपुग्दासम्म वृद्धवृद्धाहरू सङ्क्रमित भइसक्नु र खोप लगाउनुले उक्त समूह कम सङ्क्रमित भएको विज्ञहरूको तर्क छ।
पहिलो २५/३० देखि ५० वर्ष उमेरकाहरू अस्पताल भर्ना हुने, आईसीयूमा पुग्ने वा मृत्युसम्म हुने समूहमा परे।
"यही उमेर समूहकालाई बढी असर गर्छ भन्ने हुँदैन रहेछ तर खोप नलगाएका र भिडभाडमा बढी हिमचिम हुने मानिस नै सङ्क्रमणको जोखिममा रहेको देखियो," डा. कोइरालाले भने।
'भाइरसले उमेर समूह निर्क्यौल नगरी आक्रमण गर्छ' भन्ने नै दोस्रो लहरको प्रमुख पाठ भएको डा. पुनको बुझाइ छ।
सङ्क्रमण दर घटेपछि निषेधाज्ञा खुकुलो भयो र जोखिमरहित भनिएका समूह कामकाज, सार्वजनिक कार्यक्रम र अन्य गतिविधिमा संलग्न भएका कारण भाइरससँग प्रत्यक्ष 'एक्सपोजर'मा परेको डा. पुन बताउँछन्।
तेस्रो लहरको सम्भावना कति र कहिले?
भाइरस एउटा शरीरमा पस्छ। त्यस शरीरमा भाइरसविरुद्ध प्रतिरक्षा प्रतिरोध क्षमताको विकास भएपछि अर्को मानिसमा सर्छ। भाइरसले आक्रमण गर्नका लागि नयाँ शरीर खोज्ने भएकाले मानिसहरूको भिडभाडमा सङ्क्रमणको जोखिम हुने विज्ञहरू बताउँछन्।
"तर हामी सङ्क्रमणले निम्त्याएको कठोर स्थितिबाट नतङ्ग्रिएकै अवस्थामा राजनीतिक सभा सम्मेलनदेखि, जात्रा र पर्व मनाइरहेका छौँ। यहीँ जमघटले सङ्क्रमणको तेस्रो लहर निम्त्याउन सक्छ," डा. पुनले भने।
त्यस्तै डेल्टाजस्तै बढी सङ्क्रामक नयाँ भेरिअन्ट बाह्य देश वा क्षेत्रबाट प्रवेश गरेमा र नेपालमै कुनै भेरिअन्ट विकास अर्थात् प्रादुर्भाव भएमा तेस्रो लहरको जोखिम उच्च रहने पुनको भनाइ छ।
अहिलेकोजस्तै सङ्क्रमण सङ्ख्या स्थिर रह्यो र डेल्टा भाइरसकै सङ्क्रमण निरन्तर रह्यो भने तेस्रो लहर मान्न नमिल्ने डा. कोइरालाले जिकिर गरे।

तस्बिर स्रोत, Reuters
भाइरस कति फैलियो?
विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्त रूपमा गरेको अध्ययनका अनुसार करिब ५० प्रतिशत नेपालीमा भाइरसको 'एक्सपोजर' भइसकेको छ। तीमध्ये केहीलाई भाइरसले लक्षणसहित असर गर्यो भने केहीलाई लक्षणरहित सङ्क्रमण भयो।
"तथ्याङ्क केलाउने हो भने डेल्टा भाइरसको सङ्क्रमण हुन धेरै जनसङ्ख्या बाँकी छैन। त्यसैले यसले जति असर पार्नु पर्ने हो त्यो दोस्रो लहर उत्कर्षमा हुँदै पारिसकेको छ।"
"तर नयाँ उत्परिवर्तित भाइरस आयो भने त्यसले गर्दा हाम्रो शरीरमा बनिसकेको प्रतिरोध क्षमतामा ह्रास ल्याउन सक्छ। त्यसो हुँदा नयाँ सङ्क्रमण फेरि उत्कर्षमा पुग्न सक्छ," डा. कोइरालाले भने।
हाल सङ्क्रमणको दोस्रो लहर नै स्थिर रहेकाले तेस्रो लहर कहिले सुरु हुन्छ यकिन भन्न नसकिने बताए।
तेस्रो लहरका लागि तयारी
अनुदान र कर्जाले आवश्यक उपकरण खरिद, पूर्वाधार विकास, जनशक्ति उत्पादनजस्ता विषयमा योजना बनिरहेको र व्यवस्थापनको पाटोमा पनि तयारी भइरहेको डा. कोइरालाले सुनाए।
त्यस्तै कन्ट्याक ट्रेसिङ र भाइरससम्बन्धी खोज, अनुसन्धानहरूबाट कसरी प्रभावकारी बनाउने भन्नेबारे पनि खाका तयार भएको उनले बताए।
"योजनालाई सरकारले कति चाँडो कार्यान्वयन गर्न सक्छ भन्ने विषयले तयारीको प्रभावकारिता निर्धारण गर्छ। सरकारदेखि समितिहरू परिवर्तन भई राख्नुले कार्यान्वयनको पाटो कमजोर बनाउन सक्छ।"
डा. पुन भने हाल अस्पताल सञ्चालित भौतिक संरचनाहरूमै केही थान आईसीयू, भेन्टिलेटर वा शय्या तयार राख्दैमा महामारीको सम्भावना र त्यसले गर्ने जनधनको क्षति नटर्ने बताउँछन्।
कोभिड-१९ विशेष अस्थायी उपचार केन्द्रहरू स्थापनाको तयारी आवश्यक रहेको उनको तर्क छ।
"५० वटा शय्या थपियो तर भोलि एकसाथ १०० बिरामी भर्ना गर्नुपर्ने स्थिति आयो भने के गर्ने? त्यसैले अस्थायी उपचार केन्द्रहरूका लागि उपकरणदेखि जनशक्ति तयार पार्नु उचित हो," पुन थप्छन्।
"ती उपकरण कोरोनाभाइरसकै लागि मात्र प्रयोग हुन्छन् भन्ने छैन। भोलि नयाँ किसिमको रोग वा भाइरस देखिए त्यसलाई पनि काम लाग्छ।"
नागरिकबाट के सहयोग हुनसक्छ?

तस्बिर स्रोत, Reuters
जब भाइरसको कुनै भेरिअन्टका कारण हुने सङ्क्रमण दर बढ्छ र उत्कर्षमा पुग्छ त्यो अवस्थालाई 'एपिडेमिक' भनिन्छ।
त्यस्तै उत्कर्षबाट सङ्क्रमण दर घट्दै जान्छ र न्यून अवस्थामा रहेर स्थिर हुन्छ भने त्यो 'एन्डेमिक' हो।
डेल्टा भेरिअन्टका कारण उत्कर्षमा पुगेको दोस्रो लहर हाल स्थिर भएको छ।
सरकार र स्वास्थ्य केन्द्रहरू तर्फबाट बाहेक आम मानिसबाट पनि तेस्रो लहरबाट जोगिने उपायहरू अपनाउन सकिने सुझाव सङ्क्रामक रोग विज्ञहरूको छ।
चिकित्सकहरू निषेधाज्ञाको पालन गर्नु, सामाजिक दूरी कायम राख्नु र सुरक्षाका अन्य उपायहरू जस्तै नियमित हात धुनु, मास्क लगाउनु, सरसफाइमा ध्यान दिनु, व्यायाम र सन्तुलित भोजनमा ध्यान दिनुलाई सङ्क्रमण रोक्न सबैभन्दा प्रभावकारी उपाय भएको बताउँछन्।
त्यस्तै पीसीआर, एन्टिबडी वा एन्टिजन परीक्षणमा पनि जोड दिनु पर्ने उनीहरू बताउँछन्।
विश्व स्वास्थ्य सङ्गठन र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अध्ययनका अनुसार सङ्क्रमण भएका २० देखि २५ जनामध्ये एक जनाले मात्र परीक्षण गराएका छन्।
"यो भाइरससँग बाँच्न, बच्न र बचाउन सिक्नु पर्छ। यसलाई बेवास्ता गर्ने स्थिति छैन। त्यसका लागि सङ्क्रमण हुन नदिनु अति आवश्यक छ। सङ्क्रमण भइहाले समयमा परीक्षण, उपचार र अरूलाई सर्न नदिने प्रयास गर्नुको विकल्प हुँदैन," डा. कोइराला भन्छन्।













