टोक्यो ओलम्पिक्स: प्रतिस्पर्धामा सहभागी यी सात महिला वैज्ञानिक पनि हुन्

तस्बिर स्रोत, Getty Images
एक दृष्टि खेलको अभ्यासतिर अनि अर्को दृष्टि प्रयोगशालातिर! केही महिला खेलाडीहरूको दिनचर्या हो यो।
तर टोक्यो ओलिम्पिक्समा उनीहरूको दिनचर्या व्यायामशाला, रङ्गशाला, खेल मैदानमै बित्यो।
विज्ञानलाई वृत्ति बनाइरहेका उनीहरूले पदक र कीर्तिमान बनाउनका निम्ति प्रतिस्पर्धा गर्दा बेग्लै चुनौतीको सामना गरे।
यहाँ हामीले आफ्नो प्राज्ञिक र खेलकुद दुवै उपलब्धिका लागि उक्त खेलमा सहभागी सात त्यस्ता महिलाको चर्चा गरेका छौँ।
१. आन्ना कीजेनहोफर (अस्ट्रिया)

तस्बिर स्रोत, Getty Images
तीस वर्षीया अस्ट्रियाली साइक्लिस्ट टोक्योमा महिलाहरूले गर्ने सडक दौडको मन पराइएका खेलाडीको सूचीमा कतै परेकी थिइनन्।
तर बिनाप्रशिक्षक गरेको तालिमकै भरमा तथा व्यावसायिक प्रणालीको सहयोगबिनै उनले खेलमा स्वर्ण पदक जितेर उक्त खेलमा सबैलाई चकित पारिदिइन्।
ती अस्ट्रियाली खेलाडीले आफ्नी निकटतम प्रतिद्वन्द्वी तथा विद्यमान विश्व च्याम्पियन डच खेलाडी एनामिक भ्यान भ्लुटनभन्दा निकै अगाडि दूरी पार गरेकी थिइन्।
भ्लुटनले एकछिन त आफू नै प्रथम भएको भन्ठानेर हर्षोल्लास गरेकी थिइन्।
सन् २०२१ की ओलम्पिक च्याम्पियन कीजेनहोफरले टेक्निकल यूनिभर्सिटी भीएना र केम्ब्रिज यूनिभर्सिटी यूकेमा गणित विषय अध्ययन गरेकी हुन्।
अहिले उनी स्विट्जरल्यान्डको लोजानस्थित एउटा विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धान गर्छिन्।
२. हादिया होस्नी (इजिप्ट)

तस्बिर स्रोत, Reuters
होस्नीका लागि टोक्यो ओलम्पिक्स अन्तिम प्रतिस्पर्धा हुन सक्छ।
महिला युगल ब्याड्मिन्टन प्रतिस्पर्धाबाट हटाइएपछि उनले अवकाश लिन सक्ने सङ्केत गरेकी छन्।
आईओसीको आधिकारिक वेबसाइटले जनाएअनुसार उनले भनेकी छन्, "यो मेरो अन्तिम ओलिम्पिक्स हुन सक्ने ठूलो सम्भावना छ। सबै प्रतियोगिताहरूमा भ्रमण गर्नु र विश्वव्यापी तालिकामा आफूलाई राम्रो अवस्थामा राख्नु मेरा लागि निकै तनावपूर्ण छ।"
तर होस्नीले आफ्नो प्राज्ञिक यात्रालाई जारी राख्नेछिन्।
उनी ब्रिटिश यूनिभर्सिटी अफ इजिप्टमा प्राध्यापक गर्छिन्।
यूनिभर्सिटी अफ बाथ यूकेबाट बायोमेडिसिनमा स्नातकोत्तर गरेकी उनले कायरो विश्वविद्यालयबाट औषधितत्त्वशास्त्रमा विद्यावारिधि गरेकी हुन्।
उनले सुजन कम गर्ने औषधि डेक्सामेथासनबारे अनुसन्धान गरेर अनुसन्धानपत्रहरू पनि प्रकाशित गरेकी छन्।
होस्नीका इजिप्टको संसद्की सदस्य पनि हुन्। अब उनका गतिविधिमा राजनीति पनि पर्न सक्छ।
३. ग्याबी थमस (अमेरिका)

तस्बिर स्रोत, EPA
अमेरिकाकी ग्याब्रिएल थमस (२४) स्प्रिङ्टिङ (दौड) एथ्लेटिक्समा निकै चर्चित छिन्।
दुई सय मिटर दौडमा उनी अहिलेसम्मकै तेस्रो तीव्र धाविका हुन्।
ग्याबी नामले चिनिएको उनले टोक्योमा कास्य पदक जितिन्।
तर खेल अभ्यास र प्रतिस्पर्धाबीच उनले हार्भड विश्वविद्यालयमा न्यूरोबायोलजी र ग्लोबल हेल्थ विषयमा अध्ययन पनि गरिन्।
उनी अहिले अस्टिनस्थित यूनिभर्सिटी अफ टेक्ससमा महामारी विज्ञान तथा स्वास्थ्य व्यवस्थापनमा स्नानकोत्तर गरिरहेकी छन्।
उनको मुख्य अनुसन्धान क्षेत्र भनेको अमेरिकामा स्वास्थ्य सेवाको पहुँचमा रङ्गभेद रहेको छ।
४. शार्लट हिम (फ्रान्स)

तस्बिर स्रोत, Reuters
बाह्र वर्षकी हुँदा फ्रान्सकी शार्लोट हिम प्यारिसस्थित आफ्नो घरनजिकै स्केटिङ गर्ने मानिसहरू देखेर मोहित भएकी थिइन्।
"त्यो एकदमै गजब देखिन्थ्यो र म त्यस्तै गर्न चाहन्थेँ," आईओसीको वेबसाइटमा राखिएको विवरणमा उनले भनेकी छन्।
हिम टोक्यो ओलिम्पिक्सको प्रारम्भिक खेलबाटै बाहिरिइन्। तर उनी त्यहाँ न्यूरोसाइन्सको विज्ञ बनेर पुगेकी थिइन्।
उनी नवजात शिशुहरूले हातगोडा चलाउने सीप सिक्ने क्रममा आमाको स्वरले पार्ने असरबारे अनुसन्धान गर्छिन्।
डा. हिम स्ट्रीट स्केटबोर्डिङको छनोट चरणबाटै बाहिरिएकी थिइन्।
५. लुइस शानहान (आयरल्यान्ड)

तस्बिर स्रोत, Getty Images
चौबीस वर्षीया आइरिश धाविका शानहानको सन् २०२४ मा प्यारिसमा हुने ओलिम्पिक्समा छानिने स्पष्ट लक्ष्य थियो।
तर उनले आशा गरेभन्दा चाँडै प्रतिफल पाइन् र टोक्यो ओलिम्पिक्समा ८०० मिटर दौडमा सहभागी हुने अवसर पाइन्।
तर उनले पहिलो छनोट चरण पार गर्न सकिनन्।
उनको सन् २०२४ मा खेल्ने योजना कायम छ।
तर अहिले उनी आफ्नो ध्यान विशेष रूपमा क्वान्टम फिजिक्समा दिइरहेकी छन्। उनले आफ्नै देशको कोर्क विश्वविद्यालयमा अध्ययन गरेकी थिइन्।
अहिले उनी केम्ब्रिज यूनिभर्सिटीबाट विद्यावारिधि गर्दैछिन्।
उनको मुख्य रुचिको क्षेत्र मेडिकल फिजिक्स हो। उनले क्यान्सर पत्ता लगाउन र उपचार गर्न सहयोग पुग्ने उपकरण विकास गरेकी छन्।
"मलाई दुइटा करीअर मन पर्छ किनकि जब प्रयोगशालामा कुराहरू राम्रो हुँदैनन् म आफैँलाई भन्न सक्छु- म धाविक हुँ र त्यो ठिक छ," टोक्यो ओलम्पिक्सपछि उनले केम्ब्रिज इन्डिपेन्डेन्ट पत्रिकालाई भनेकी छन्।
"अहिले यदि म एथ्लेटिक्समा खराब भएँ भने मैले सधैँ आफूलाई क्वान्टम फिजिसिस्टको रूपमा लिएकी छु।"
६. नाडिन आपेट्ज (जर्मनी)

तस्बिर स्रोत, Reuters
टोक्यो ओलम्पिक्सको रिङमा प्रवेश गर्नेबित्तिकै उनले इतिहास रचिन्। उनी महिला बक्सिङमा ओलिम्पिक्समा सहभागी हुने पहिलो जर्मन प्रतिनिधि बनिन्।
तर ३५ वर्षीया आपेट्जका लागि ओलम्पिक्सको अनुभव एकदमै छोटो भयो।
उनी भारतीय खेलाडी लभ्लिना बोगोहाइनसँग पराजित भइन्।
युरोपेली प्रतियोगिता र वर्ल्ड बक्सिङ च्याम्पियनशिपमा पदक जितेकी उनी अब अर्को करीअरमा केन्द्रित हुन चाहन्छिन्।
उनले ब्रेमेन विश्वविद्यालयबाट न्यूरोसाइन्समा स्नातकोत्तर गरेकी छन्।
उनको अर्को लक्ष्य भनेको कलोन विश्वविद्यालय हस्पिटलबाट विद्यावारिधि गर्नु हो।
उनले डीप ब्रेन स्टिम्युलेशनबारे अध्ययन गरिरहेकी छन्।
त्यसले भविष्यमा पार्किन्सस रोगलगायतको उपचारमा उक्त विधि प्रयोग हुनसक्ने ठानिएको छ।
उनले टोक्योबाट फर्केपछि आफू शतप्रतिशत पढाइमा केन्द्रित हुने बताएकी छन्।
७. एन्ड्रिया मरेज (इजरेल)

तस्बिर स्रोत, Getty Images
क्यालिफोर्नियामा जन्मिएकी २९ वर्षीया एन्ड्रिया मरेजले स्ट्यान्डफर्ड यूनिभर्सिटीमा जीवविज्ञान अध्ययन गरेकी हुन्।
पौडी खेल्ने भएकाले उनले इजरेलमा आयोजना हुने पानीमा हुने खेलकुदको मक्कबियाड्स नामक कार्यक्रममा सहभागी हुन पाइन्।
त्यहाँ राम्रो प्रदर्शन गरेपछि उनी स्थायी रूपमै इजरेल बसाइँ सरिन्। अहिले उनी इजरेलको टोलीबाट खेल्छिन्।
टोक्यो ओलम्पिक्समा उनी पौडीका चारवटा प्रतिस्पर्धामा सहभागी भइन्।
तीमध्ये पौडीको रिलेमा उनको समूहले राम्रो प्रदर्शन गरेको थियो।









