कक्षा १२ को परीक्षा: के स्थगन पक्का भएको हो

नेपाल

तस्बिर स्रोत, NEB

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कक्षा १२ का परीक्षाहरू स्थगित गर्न सिफारिस गरिएको बताएपछि त्यसबारे चासोहरू व्यक्त हुन थालेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले यही साउन ३१ गतेदेखि परीक्षा हुने गरी तालिका सार्वजनिक गरिसकेको छ।

शुक्रवार साँझ राज्यमन्त्री श्रेष्ठले बढ्दो कोरोनाभाइरस सङ्क्रमणबीच परीक्षा स्थगनका लागि शिक्षा मन्त्रालय तथा कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको एउटा ट्वीटमार्फत् जानकारी गराएका हुन्।

"कोभिड-१९ सङ्क्रमण फैलँदै गएको विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षाप्रति हामी अत्यन्त संवेदनशील छौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु।"

यो X पोस्ट छोड्नुहोस्
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त

केही दिनयता नेपालमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

परीक्षा स्थगन पक्का भएको हो?

स्वास्थ्य राज्यमन्त्रीको ट्वीट आएपछि विभिन्न सञ्चारमाध्यमले परीक्षाहरू स्थगित हुने भनेर समाचार लेखेका छन्।

तर राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले त्यसबारे निर्णय भइनसकेको बीबीसी नेपालीलाई बताए।

"परीक्षा स्थगित गर्ने अथवा फरक ढाँचामा गर्ने भन्ने विषयमा कुनै निर्णय भइसकेको छैन। भोलि बोर्डको बैठक बसेर छलफल गर्ने कुरा छ," उनले भने।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पनि बीबीसी नेपालीलाई बताएअनुसार शनिवारको बैठकबाट परीक्षाका सम्बन्धमा निर्णय हुन सक्छ।

यसअघि कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रले निर्धारित परीक्षाबारे पुनर्विचार गर्न परीक्षा बोर्डलाई आग्रह गरेको थियो।

अध्यक्ष पौडेलका अनुसार परीक्षा अगावै सहभागी हुने सबैलाई खोपको व्यवस्थापन गर्न र परीक्षा केन्द्रहरूमा हेल्थ डेस्कको व्यवस्था गर्न आग्रह गरेकोमा स्वास्थ्य मन्त्रालयले त्यो हाललाई सम्भव नभएको जबाफ पठाएको थियो।