कोरोनाभाइरस: '८७ लाखभन्दा बढी' विद्यार्थीमा प्रभाव पर्ने

विद्यालय

तस्बिर स्रोत, RSS

कोरोनाभाइरस फैलिन नदिनका लागि सरकारले एसईई परीक्षासहित चैत मसान्तसम्म विद्यालयहरू बन्द गर्ने निर्णय गरेसँगै मुलुकभरि करिब ८७ लाखभन्दा बढी विद्यार्थी प्रभावित हुने भएका छन्।

एसईई परीक्षा सुरु हुनुभन्दा एक दिनअघि बुधवार सरकारले उक्त परीक्षा हालका लागि स्थगित गरेको थियो।

यो वर्ष एसईई परीक्षामा ४ लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुन लागेका थिए।

बुधवार नै उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले कोरोनाभाइरसको सम्भावित जोखिमलाई ध्यान दिँदै विद्यालयहरू चैत मसान्तसम्म बन्द गर्ने निर्णय गरेको थियो।

प्रभाव

सरकारले हाल चैत मसान्तसम्म विद्यालय बन्द गर्ने निर्णय गरे पनि त्यसपछिको अवस्था कस्तो हुन्छ भन्ने आधारमा थप निर्णय गर्ने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बीबीसीलाई जानकारी दिए।

अधिकांश विद्यालयहरूको नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु हुने र चैतको पहिलो, दोस्रो हप्तामा परीक्षा सम्पन्न गरी विद्यालय बन्द हुने हुँदा विद्यालय तहमा हाल गरिएको बन्दले त्यति धेरै प्रभाव नपार्ने अधिकारीहरूको भनाइ छ।

विद्यार्थी

तस्बिर स्रोत, Reuters

विगतका अनुभव हेर्दा र विभिन्न कारणले परीक्षा स्थगित हुँदा वा बन्द हुँदा शैक्षिक सत्रमा दबाव पर्ने भए पनि अहिलेको अवस्थामा कोरोनाभाइरसको प्रभाव सबै क्षेत्रमा परेकाले यसको प्रभाव शिक्षा क्षेत्रमा मात्रै परेको छ भन्ने हिसाबले हेर्न नहुने शर्मा बताउँछन्।

"अरू नियमित प्रक्रिया पनि वैशाखबाट सुरु हुने र कक्षा ११ पनि साउन-भदौबाट सुरु हुने हुँदा अन्य विषयमा दबाव पर्ने भए पनि शैक्षिक सत्रमै दबाव पर्ने छैन," उनले थपे।

कति छन् विद्यार्थी?

शिक्षा मन्त्रालयका अनुसार पूर्वप्राथमिक तहमा मुलुकभरि करिब ११ लाख ३१ हजार विद्यार्थी छन्।

त्यस्तै कक्षा एकदेखि कक्षा पाँचसम्म करिब ३५ लाख ४३ हजार, निम्न माध्यमिक तहमा करिब १७ लाख ७५ हजार र कक्षा ९ र १० मा गरेर करिब १० लाख ३४ हजार विद्यार्थी रहेको शर्माले जानकारी दिए।

त्यस्तै कक्षा १० र ११ मा करिब ८ लाख विद्यार्थी अध्ययनरत छन्।

"कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले गरेको निर्देशनका आधारमा हामी अघि बढ्नेछौँ," उनले भने।

"त्यहाँबाट निर्देशन आएपछि हाल स्थगित गरिएका परीक्षा पनि सञ्चालन हुनेछन्।"

विश्वविद्यालयमा कति?

विश्वविद्यालय अनुदान आयोगका अनुसार नेपालमा विश्वविद्यालय तहमा कुल ४२३,९९६ विद्यार्थी अध्ययनरत छन्।

त्यसमा ३ लाख ३५ हजारभन्दा बढी विद्यार्थी त्रिभुवन विश्वविद्यालयमा रहेको आयोगका ईएमआएस स्पेशलिष्ट दिनेश बज्राचार्यले बीबीसीलाई जानकारी दिए।

कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर