टोक्यो ओलिम्पिक्स: भारतीय महिला हकीको एउटा टोली जसले हारेर पनि इतिहास रच्यो

शुक्रवार बिहान भएको महिला हकीको कांस्य पदकका लागि भएको खेलमा भारतीय टोली ब्रिटेनसँग हार्‍यो।

तर हार्नुअघि नै भारतीय महिला हकी टोलीले ओलिम्पिक्स इतिहासमा पहिलो पटक सेमिफाइनलसम्म पुगेर इतिहास बनाइसकेको थियो।

दीप्ति पटवर्धन बीबीसीका लागि लेखेकी छिन्: "यो ऐतिहासिक सेमिफाइनल यात्रा सहज भने थिएन।"

"छोरीले हकी खेलेर के गर्छिन्? छोटो स्कर्ट लगाएर मैदानमा दौडिन्छिन् र तपाईँको परिवारको बदनाम हुनेछ," रानी रामपालका आमाबुबालाई मानिसहरूले भनेका थिए।

वन्दना कटारिया हकी खेल्न निरुत्साहित भएकी थिइन् किनकि महिलाले हकी खेल्नु समाजका लागि सह्य थिएन।

नेहा गोयलका बुबा धेरै मदिरापान गर्थे र घरमा आतङ्क मच्चाउँथे। उनी बुबाको व्यवहारबाट शान्ति खोज्न हकी मैदानमा पसेको बताउँछिन्।

निशा वार्सीका बुबालाई सन् २०१५ मा पक्षाघात भयो। त्यसपछि परिवारको पेट उनकी आमाले काम गर्न थालिन्।

निक्की प्रधान झारखण्डस्थित आदिवासी क्षेत्रकी हुन्। धान खेतमा काम गर्ने उनले उधारोमा लिएको भाँच्चिएको लट्ठीले हकी खेल्न थालेकी थिइन्।

भारतीय महिला हकीका यी खेलाडीले आफ्ना बाधालाई बहाना बनाएनन्। कुरा काट्नेलाई बेवास्ता गरे र आलोचकलाई चुप लगाउँदै सफलता हात पारे।

कटारिया, गोयल, वार्सी र प्रधान हकी खेलेर भारतको लागि इतिहास बनाउने १६ जना महिला खेलाडीका प्रतिनिधिपात्र हुन्।

उनीहरूकै कारण ओलिम्पिक्समा पहिलो पटक भारतको महिला हकी टोलीले पदकका लागि प्रतिस्पर्धा गर्‍यो।

शुक्रवार बिहान उनीहरू सन् २०१६ को स्वर्ण पदक विजेता ब्रिटिश टोलीसँग कांस्य पदकका लागि भिडे। खेलमा ३-४ अङ्कले हार्नुअघि उनीहरूले मन जिते।

यो टोलीलाई टोक्यो जानुअघि धेरैले नकआउट चरणमा पुग्ने आकलन गरेका थिएनन्। तर उनीहरू सशक्त बनेर प्रस्तुत भए।

क्वार्टरफाइनलमा पूर्वविजेता अस्ट्रेलियासँग खेले र अनपेक्षित कौशल देखाएर १-० ले जिते।

सेमिफाइनलमा पुग्नु एक महत्त्वपूर्ण अवसर थियो, जुन भारतको गौरवशाली खेल इतिहाससँग जोडिएको छ।

विगतमा कुनै समयमा हकीमा भारतको प्रभुत्व थियो। त्यतिबेला भारतीयहरू प्राकृतिक मैदानमा खेल्थे।

खेल हेर्न पुरुषहरूलाई कुर्सीमा राखिन्थ्यो र महिलालाई बेवास्ता गरिन्थ्यो।

भारतले हकीमा आठ स्वर्णसहित ११ वटा ओलिम्पिक्स पदक जितेको छ। तर सन् १९८० मै पहिलो पटक ओलिम्पिक्स खेलेको भारतीय महिला टोलीको यो तेस्रो सहभागिता मात्रै हो।

भारतीय हकीमा अधिकांश महिलाहरू कमजोर आर्थिक पृष्ठभूमिबाट आए।

सीमित स्रोत र साधनबीच काम गर्ने बानी पारे। त्यति बेला त सरकारी जागिर र स्थिर आयस्रोतको आशा नै पर्याप्त थियो।

सन् २०१२ सम्म त महिला टोलीको खेल सुधार गर्न कुनै पहल भएकै थिएन।

त्यस समय प्रशिक्षकका रूपमा भारत पुगेका थिए अस्ट्रेलियाका पूर्वखेलाडी नील हावगुड। उनले खेलाडीहरूलाई आफू "हार्नुको दोष खेलाडीलाई दिन" नभई "जितका लागि सहयोग गर्न आएको" भन्ने कुरा बुझाउन गरेको सङ्घर्ष सम्झिए।

"हामीले उनीहरूको विश्वास जित्नु थियो किनकि विश्वास सबैभन्दा महत्त्वपूर्ण थियो," हावगुडले बीबीसीसँग भने, "दीप ग्रेस एक्का र सुनिता लाक्रालाई दुई वर्ष लाग्यो मेरो आँखामा हेर्न।"

सन् २०१४ सम्म विश्वास स्थापित भइसकेको थियो र महिला हकीमा सकारात्मक परिवर्तनहरू देखिन थालेको थियो।

हावगुडकै प्रशिक्षणमा भारतीय महिला हकी टोली ३६ वर्षमा पहिलो पटक ओलिम्पिक्सका लागि छनोट भयो।

पाँच वर्षयता महिला हकी टोली वैज्ञानिक र परिष्कृत दृष्टिकोणबाट लाभान्वित भएको छ।

हाल टोक्योमा भएका १६ जनामध्ये आठ जनाले सन् २०१६ को रियो ओलिम्पिक्समा सहभागिता जनाएका थिए जसले टोलीलाई बलियो आधार दिए।

रियोको यात्रा योजनानुरूप अघि बढेन तर खेलाडीहरूले अनुभव सँगाले र आत्मविश्वास केही उँचो गरे।

अनुभव र आत्मविश्वास आवश्यक पहिलो कदम प्रमाणित भयो। उचित स्रोतसाधन र उपकरणहरू उपलब्ध भए झन् राम्ररी खेल्न सक्ने प्रमाणित गरेका थिए।

सोजर्ड मारिजने र वायन लोम्बार्डले प्रशिक्षणको शैलीमा क्रान्तिकारी परिवर्तनसहित भारतीय महिला हकीलाई फरक गति दिएका छन्।

सन् १९८० मा महिला हकी टोली ओलिम्पिक्सका लागि मस्को पुग्दा उनीहरूसँग एक प्रशिक्षक र एक व्यवस्थापक थिए। यस पटक टोक्योमा उनीहरूसँग सात जना छन्।

कोभिड-१९ महामारीले खेलको तयारीमा प्रभाव पार्ने निश्चितजस्तै थियो तर भारतीय टोलीले बेङ्गलुरुस्थित प्राधिकरणको क्याम्पसमा थप एक वर्ष बस्यो।

त्यहाँ उनीहरूले आफ्ना योजना संशोधन गर्दै अघि बढे। अनि पूर्ण तयारीका साथ टोक्यो पुगे।

उनीहरूमा जागेको आत्मविश्वासले स्पष्ट पारेको थियो कि अन्तिम समूह खेलमा दक्षिण अफ्रिकाविरुद्ध जित्न तयार छन्। भारतले दक्षिण अफ्रिकालाई ४-३ ले हरायो।

त्यस खेलमा वन्दना कटारिया ह्याट्रिक गर्ने पहिलो महिला बनिन्।

कुनै समय खेल्दै गर्दा आफ्नो गाउँका बुज्रुकहरूले देख्लान् र हप्काउलान् भन्ने डरले उनी लुक्थिन्।

एकान्तमा गएर अभ्यास गर्थिन्। ओलिम्पिक्सको मैदानमा भने उनीमाथि "स्पटलाइट" थियो। प्रदर्शनकै कारण उनी सबैको आँखामा परिन् र चर्चा भयो।

कटारियाजस्ता खेलाडीहरूको व्यक्तिगत कौशल, सामूहिक प्रतिबद्धता र योगदानका कारण भारतीय टोलीले गौरवशाली हकी इतिहास सम्झाएको छ।

सहभागी सबै खेलाडीहरूको यात्रा र सङ्घर्षको आ-आफ्नो कथा छ। ती कथा फरक छन् तर फरक कथा बोक्ने यी पात्रहरूले साझा उद्देश्यमा तागत भेटे र मैदानमा उत्रिए।

उनीहरूमध्ये धेरैले खेलेरै आफू र परिवारको जीवनलाई भुइँबाट उठाएका थिए। अब उनीहरूले भारतीय हकीलाई पनि फरक उचाइमा पुर्‍याउँदैछन्।