नेकपा एमालेः शेरबहादुर देउवा विश्वासको मत प्रकरणपछि एमाले फुट्ला कि एकीकृत अवस्थामै रहला?

नेपाल र ओली

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, एमालेमा माधव नेपाल र ओलीको समूहबीच लामो समयदेखि विवाद चलिरहेको छ

नेपाल कम्युनिस्ट पार्टी एमालेका माधवकुमार नेपालपक्षीय र केपी ओलीपक्षीय केही सांसदले पनि शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि 'अब एमाले फुट्छ कि एकीकृत नै रहन्छ?' भन्ने विषयमा चर्चा परिचर्चा सुरु भएको छ।

आइतवार प्रतिनिधिसभामा देउवाले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा एमालेका २२ जना सांसदले मत दिएका थिए भने नेपालपक्षीय ११ सांसद उक्त मतदानमा अनुपस्थित भए।

देउवालाई मत दिनेमा ओलीको पक्षधर मानिएका र ओली मन्त्रिपरिषद्‌मा सदस्य रहेका व्यक्ति पनि छन्।

विश्वासको मत प्रकरणपछि अब एमाले 'एक ढिक्का रहन्छ कि फुट्छ' भन्ने प्रश्नमा ओलीपक्षीय नेताहरूले "देउवालाई मत दिनेहरू एमालेमा नरहने तर पार्टी एकता कामय रहने" बताएका छन्।

यद्यपि माधव नेपाल पक्षका नेताहरू "देउवालाई मत दिनेहरू पनि पार्टीमै रहने र एकता पनि कायम हुने" दाबी गर्छन्।

'एमाले एकता प्रयासमा तत्काल ब्रेक लाग्यो'

ओलीपक्षीय एमाले नेता ईश्वर पोखरेले विश्वासको मत प्रकणपछि "पार्टी एकीकरणका लागि भइरहेका प्रयासमा तत्कालका लागि ब्रेक लागेको" बताएका छन्।

उनले भने, "…तर पनि यो एकता प्रक्रियासित अत्यन्त चिन्ताका साथ सहभागी रहेका साथीहरूसँग फेरि पनि छलफल जारी रहन्छ र पार्टीभित्रका आन्तरिक समस्या व्यवस्थित गर्ने मामिलामा हाम्रो प्रयत्न जारी रहन्छ।"

तर उनले देउवाको पक्षमा विश्वासको मत दिने व्यक्तिहरू "पार्टीमा नरहने" बताए।

"उहाँहरू अब पार्टीमा रहन सक्नुहुन्न। … पार्टीको निर्णयविपरीत गएर विपक्षी गठबन्धनका प्रतिनिधिलाई विश्वासको मत दिएर जुन गतिविधि गर्नु भएको छ, त्यो अराजनीतिक, अनैतिक काम हो। त्यो कामका कारणले उहाँहरू फेरि तत्काल पार्टी कमिटीमा रहने कुरा म देख्दिनँ।"

'हामी एकताकै कोसिसमा छौँ'

माधव नेपालपक्षीय नेता सुरेन्द्र पाण्डेले पार्टी एकताका लागि प्रयास जारी रहेको बताएका छन्।

उनले पार्टी एकता कामय राख्नका लागि नै एकताका लागि बनेको कार्यदलका सदस्य समेत रहेका व्यक्तिहरूले विश्वासको मतमा सहभागी नभएको बताए।

उनका भनाइमा देउवालाई विश्वासको मत दिएकै घटनाका कारण पार्टी फुट्ने सम्भावना छैन।

उनले भने, "हाम्रो एकताको प्रयास जारी छ। एकता जारी रहोस् भनेरै हामी कार्यदलका सदस्यहरू पनि रहेकाले कतै पनि भोट नहालेका हौँ।"

माधव नेपाल समूहकै सांसदहरूले देउवालाई मत दिएका कारण पार्टी फुट्छ कि भन्ने प्रश्नको उत्तरमा उनले भने, "… यसले हाम्रो पार्टी एकतालाई आजकै घटनाले तलमाथि पार्ला भन्ने मलाई लाग्दैन।"

देउवाले प्रस्तुत गरेको विश्वासको मतको पक्षमा एमालेका २२ जना सांसदले मत दिएका थिए भने नेपाल पक्षका ११ जना सांसदहरू उक्त मतदानमा अनुपस्थित भए

तस्बिर स्रोत, RSS

तस्बिरको क्याप्शन, देउवाको पक्षमा एमालेका २२ जना सांसदले मत दिए भने नेपालपक्षीय ११ सांसद उक्त मतदानमा अनुपस्थित भए

उनले पार्टी एकता प्रयास जारी रहने बताए।

'देउवालाई मत दिनेलाई अनुशासनको कारबाही हुन्छ'

ओली समूहका एक नेता एवम् एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले पार्टीको निर्णय नमान्ने सांसदहरूलाई कारबाही हुने बताए।

सोमवार बस्ने केन्द्रीय कमिटी बैठकमा पनि त्यसबारे छलफल हुने उनले जानकारी दिए।

"दलीय शासन व्यवस्थामा दलको निर्णय बेगर जहाँ जसले जेसुकै फैसला गरेको भए पनि दलको निर्णय नमान्नु भनेको दलको अनुशासन उल्लङ्घन हो। यस विषयमा ह्विप नमानेकाले वा उता भोट हालेकाले भन्ने हिसाबले कारबाही त नहोला अदालतको एकखालको व्याख्या भएकाले यद्यपि यो गम्भीर कुरा हो।"

"पार्टीको निर्देशन निर्णय र विधान उल्लङ्घनसँग जोडेर हेरिन्छ र त्यो अनुसार नै कारबाही अघि बढ्छ।"

उनले ह्विप उल्लङ्घन गरेको भनेर कारबाही नभए पनि देउवालाई विश्वासको मत दिने सांसदलाई अनुशासनको कारबाही हुने बताए।

"ह्विपमा नलागे पनि अनुशासनमा त कारबाही हुन सक्छ। पार्टीको निर्णय नबान्ने पार्टीमा रहँदैनन्।"

शेरबहादुर देउवालाई बधाई दिँदै केपी शर्मा ओली

तस्बिर स्रोत, RSS

देउवालाई मत दिने ओली पक्षका सांसद के भन्छन्?

अन्तिम समयसम्म ओलीको पक्षमा रहेका तर आइतवार देउवालाई विश्वासको मत दिएका एक सांसदले "आफूले सर्वोच्च अदालतको आदेशको सम्मान गर्न" देउवालाई मत दिएको बताएका छन्।

त्यस्तैमध्येका एकजना सांसद कृष्णकुमार श्रेष्ठ भन्छन्, "सर्वोच्च अदालतको फैसलाको सम्मान गरेको हो मैले। सर्वोच्च अदालतले विश्वासको मत दिने बेलासम्म कुनै ह्विप लाग्दैन भनेको छ।"

"अर्कोकुरा तनहुँ क्षेत्र नम्बर १ का जनताले पाँच वर्षका लागि मलाई चुनेर पठाएको हो, त्यसैले पटकपटक संसद् विघटन गर्ने र हिजो पनि मैले विश्वासको मत नहाल्दा संसद् बच्दैन भन्ने लागेर मैले मत हालेको हो।"

उनले विश्वासको मत हालेकै आधारमा पार्टीले आफूलाई कारबाही गर्न नसक्ने बताए।

उनले भने, "कि सर्वोच्चको फैसला मान्दिनँ भन्नुपर्‍यो, नेकपा एमाले ओली गुटले बुझ्नुभएन? सर्वोच्च अदालतको फैसला मान्छु भनेपछि फैसला मान्या हो नि मैले पनि। त्यसमा मलाई पार्टीले कारबाही गर्छ, कर्के नजरले हेर्छ, आँखा चिम्लेर हेर्छ, घुर्छ यस्तोसँग म डराउने मान्छे होइन।"