शेरबहादुर देउवा विश्वास मत: मतदान हुनुअघि एमाले सांसद रावलको राजीनामा, अरू कसले के भने

पुनर्स्थापित संसद्को पहिलो बैठक

तस्बिर स्रोत, Speakers secreteriat

तस्बिरको क्याप्शन, पुनर्स्थापित संसद्को पहिलो बैठक

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिन लागिरहँदा नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले माधव नेपाल पक्षीय सांसदहरूको अहिलेसम्मको साथ यथावत रहने बताएकी छन्।

एमाले एकता प्रक्रियामा रहेका बेला हतार गर्दै मतदान प्रक्रिया अघि बढाउन खोजिएको भनाइ एमालेका नेताहरूबाट आइरहेका बेला सचेतक भुसालले भने उक्त प्रक्रिया 'संविधानको रक्षाको लडाइँ भएको' बताइन्।

संसद् बैठकअघि बसेको संसदीय दलको बैठकको निर्णय सुनाउने क्रममा उनले भनिन्, "संविधानको रक्षाका लागि सडकदेखि सर्वोच्च अदालतसम्म गएर सर्वोच्च अदालतले व्याख्या गरिसकेको छ। त्यो व्याख्यालाई मान्नुपर्ने दायित्व सबैको काँधमा छ।"

पत्रकारहरूसँग बोल्दै उनले 'कोभिड महामारीका बीचमा अहिलेको संसद्लाई गतिशील बनाउनुपर्ने आवश्यकताका कारण' पहिलो बैठकबाटै विश्वासको मत लिन लागेको बताइन्।

एमालेमा सकस, सांसद रावलद्वारा राजीनामा

नेकपा (एमाले)का नेता भीम रावलले 'जनविरोधी गतिविधिको मतियार हुनुभन्दा त्यसबाट अलग हुनु श्रेयस्कर रहेको' बताउँदै सांसद पदबाट राजीनामा दिएको जनाएका छन्।

संसद् भवनमा उनले पछिल्ला राजनीतिक गतिविधिहरूलाई दूषित खेल बताएका छन्।

उनी एमाले एकताका लागि बनाइएको एमालेको कार्यदलमा माधव नेपाल समूहको प्रतिनिधित्व गरेका थिए।

भीम रावल

तस्बिर स्रोत, RSS

उता आइतवार बिहान माधवकुमार नेपाललाई भेटेको बताउँदै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले त्यस क्रममा नेता नेपालले 'आफूले एक्लै भए पनि प्रस्तावको पक्षमा मतदान गर्ने' बताएको कुरा पत्रकारहरूलाई सुनाए।

जनमतबाट नभइ फरक विधिबाट आएको सरकार भएकाले देउवालाई एमालेले समर्थन नगर्ने ज्ञवालीले बताए।

देउवालाई मत नदिने यसअघिकै पार्टी निर्णयलाई नेता नेपालले अस्वीकार गरेपछिको पार्टी एकताबारे प्रवक्ता ज्ञवालीले भने, "आजको बैठकपछि उहाँ बेग्लै कोर्समा हिँड्न खोजेको देखियो।"

संसद्

तस्बिर स्रोत, RSS

यसअघि देउवाको पक्षमा उभिएका नेपाल पक्षका नेताहरू को कता उभिन्छन् भन्ने अझै स्पष्ट भइसकेको छैन।

तर नेपाल पक्षकै एक जना सांसद रामकुमारी झाँक्रीले फेसबुकमार्फत् आफूहरूले पक्षमा मत हाल्नुपर्ने बताएकी छन्।

"सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ। त्यसो गर्न सकिँदैन भने सांसदहरूलाई संसद्को पूरा कार्यकाल सञ्चालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौँ," उनले लेखेकी छन्।

"यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो। हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौँ।"

'१५० सांसद् कट्छ'

सत्तारूढ गठबन्धनको अर्को ठूलो साझेदार रहेको नेकपा (माओवादी केन्द्र)ले समेत संसदीय दलको बैठकमार्फत् देउवालाई मत दिने निर्णय गरेको छ।

भिडिओ क्याप्शन सुरु हुँदैछ, नयाँ सरकारसँग यस्ता अपेक्षा

बैठकपछि पत्रकारहरूसँग बोलेका उक्त दलका सांसद मातृका यादवले देउवाको पक्षमा मत दिनेको सङ्ख्या १५० कट्ने आफूहरूले ठानेको बताए।

हाल प्रतिनिधिसभामा रहेका २ सय ७१ सदस्यमध्ये विश्वासको मत पुष्टि गर्न देउवाले हाल कायम सङ्ख्यामध्ये बहुमत अर्थात् १ सय ३६ जना सांसदको समर्थन जुटाउनु पर्छ।

माधव नेपाल पक्षबाट स्पष्ट कुरा आएपछि बल्ल भागबन्डा सहितको सत्ता साझेदारीको कुरा हुने यादवले बताए।

सांसद यादवको भनाइ छ, "पहिले विश्वासको मत लिएपछि छलफल गर्छौँ। त्यसमा कुनै विवाद हुन्छ जस्तो हामीलाई लाग्दैन।"

देउवालाई समर्थन गर्नेमा जसपाको उपेन्द्र यादव खेमाका १२ सांसदहरू समेत थिए। तर हालै ओलीको पक्षमा उभिएका महन्थ ठाकुर खेमाका केही सांसदहरू समेत यादवको पक्षमा आएको विवरण सार्वजनिक भएका छन्।

राष्ट्रिय जनमोर्चाकी एक जना सांसद समेत देउवाको गठबन्धनमा छिन्।