कोभिडः कोरोना भाइरस उत्पत्तिबारे छानबिनमा अझ सघाउन चीनलाई डब्ल्यूएचओ प्रमुखको आग्रह, वुहान प्रयोगशालाबारे जानकारी माग

डा. टेड्रोस एड्हानोम गेहब्रेयसस

तस्बिर स्रोत, AFP via Getty Images

विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका प्रमुखले कोभिड-१९ को उत्पत्तिबारे दोस्रो चरणको अनुसन्धानमा अझ राम्ररी सहयोग गर्न चीनलाई आग्रह गरेका छन्।

डा. टेड्रोस एड्हानोम गेहब्रेयससले त्यसका लागि थप पहुँच र पारदर्शिता आवश्यक भएको बताएका छन्।

गत वर्ष चीनको वुहानबाट कोरोनाभाइरस महामारी फैलिएपछि त्यसबारे डब्ल्यूएचओले थालेको पहिलो चरणको अनुसन्धान गत फेब्रुअरीमा सकिएको थियो।

त्यति बेला डब्ल्यूएचओले कोरोनाभाइरस चीनको वुहानस्थित प्रयोगशालाबाट फैलिएको हुन सक्ने सम्भावना अत्यन्त न्यून भएको बरु उक्त विषाणु सम्भवतः चमेरामा उत्पत्ति भएको हुन सक्ने निष्कर्ष निकालेको थियो।

डब्ल्यूएचओको मुख्यालयमा बिहीवार बोल्दै डा. टेड्रोसले आफूहरूलाई महामारी सुरु हुनुभन्दा अगाडिको र सुरु भएको बेलाको बिरामीहरूको अप्रशोधित तथ्याङ्क चाहिएको बताए।

चीनले अघिल्लो अनुसन्धानका बेला डब्ल्यूएचओको टोलीलाई उक्त तथ्याङ्क उपलब्ध गराएको थिएन।

भिडिओ क्याप्शन सुरु हुँदैछ, कोरोनाभाइरसमा उत्परिवर्तन भयो भने के हुन्छ?

आशङ्का विद्यमान

आफू पनि स्वास्थ्यकर्मी भएको स्मरण गर्दै दुर्घटना हुन सक्ने सम्भावनाबारे अवगत भएको बताउँदै डा. टेड्रोसले वुहानस्थित प्रयोगशालाबारे स्पष्ट जानकारी दिन आग्रह गरे।

बीबीसी संवाददाता इमोजन फोक्सका अनुसार विज्ञहरूले पहिला त्यस्तो सम्भावना एकदम कम भएको बताए पनि डब्ल्यूएचओमा अझै पनि कोरोनाभाइरस प्रयोगशालाबाट चुहिएर फैलिएको हुन सक्ने आशङ्का विद्यमान भएको बलियो सङ्केत हो।

वुहानस्थित एउटा अस्पतालमा डब्ल्यूएचओको टोलीका सदस्यहरू

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वुहानस्थित एउटा अस्पतालमा डब्ल्यूएचओको टोलीका सदस्यहरू (फाइल तस्बिर)

चीनमा भाइरसबारे अनुसन्धान गरिने प्रतिष्ठित वुहान इन्स्टिट्यूट अफ भाइरलजीको प्रयोगशालाबाट कोरोनाभाइरस फैलिएको हुन सक्ने आशङ्का गत वर्ष सुरु भएको थियो।

त्यो आशङ्कालाई अमेरिकाका तात्कालिक राष्ट्रपति डोनल्ड ट्रम्पले अझ व्यापक बनाइदिएका थिए।

वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन, वुहान इन्स्टिट्यूट अफ भाइरलजीले चमेरामा कोरोनाभाइरसको अध्ययन गरिरहेको छ

सावधान हुन आग्रह

डा. टेड्रोसले कोभिड महामारी अन्त्य हुन लागेको भनाइको खण्डन गर्दै सावधान हुन आग्रह गरेका छन्।

डब्ल्यूएचओको आकस्मिक समितिले कोरोनाभाइरसका नयाँ र अझ घातक भेरिअन्टहरू विश्वभरि फैलिन सक्ने अनुमान गरेको छ।

"महामारी तत्काल सकिने अवस्थामा छैन," उक्त समितिले विज्ञप्तिमा भनेको छ।

"हामी अझै यो भाइरसको पछाडि दगुर्दैछौँ अनि यो भाइरस हाम्रो पछाडि दगुर्दैछ," उक्त समितिका अध्यक्ष डिडिएर हूस्सिनले भने।

एक साताको अवधिमा अफ्रिकामा कोरोनाभाइरस सङ्क्रमणसँग सम्बन्धित कारणले हुने मृत्युमा ४३ % वृद्धि भएको छ।

डब्ल्यूएचओले सघन उपचार कक्षमा शय्या र अक्सिजनको अभावलाई मृत्युको सङ्ख्यामा वृद्धिको कारण मानेको छ।

Presentational white space
कोरोनाभाइरस ब्यानर
कोरोनाभाइरस ब्यानर
भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनको कोभिड युक्ति